फोहोरबाट प्रभावित सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न ५० लाख

काठमाडौ : काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न काठमाडौँ महानगरले ५० लाख रुपियाँ छुट्याइएको छ । सिसडोलमा लामो समयसम्म फोहोर थुपारिँदा प्रत्यक्ष रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ ।

विगत वर्षमा राहत कोषमार्फत सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि ५० लाख रुपियाँको वार्षिक बजेटमा नै समावेश गरेको छ । यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौँमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ ।

यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तर सम्मको शिक्षा पूरा गरिदिने काठमाडौँ महानगरपालिकाको नीति रहेको छ । यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फोहोर सङ्कलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फोहोर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी रहने छन् । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरुमा दुई जना छन् ।

हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकालाई फोहोर व्यवस्थापन गर्न थप समस्या हुने गरेका भए पनि अहिले नियमित फोहोर व्यवस्थापन भएको दाबी छ । केही स्थानमा फोहोर उठेको छैन भन्ने जनगुनासो आएपनि सबै स्थानमा फोहोर उठेको कामपाको भनाइ छ । “अन्य समयमा भन्दा बर्सादको समयको फोहोर बढी उत्पादन हुने र समयसमयमा बाटो बिग्रने हुँदा कहिलेकाहीँ समस्या आए पनि अहिले समस्या छैन”, वातारण विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।

यदि कहीँ फोहोर नउठेको भए कामपाको हटलाइन नं १११८ मा फोन गर्न पनि विभागले आग्रह गरेको छ । समस्या फोहोर लानका लागि मात्रै होइन व्यवस्थापनको पनि उत्तिकै छ । हाल फोहोर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल फोहोर विसर्जन हुँदै आएको छ । यो खबर गोरखापत्र अनलाइनले प्रकाशित गरेको छ ।

सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फोहोर कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणको कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । लामो समयदेखि काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षातको समयमा फोहोर विसर्जन कार्य समयास्याको विषय बन्दै आएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ ।

हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लाने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहोर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । उपत्यकाको अठार स्थानीय तहबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार