महानिर्देशकको दृष्टिकोणमा कोभिड – १९ ले वास क्षेत्रमा पारेको असर

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न करिब चार महिनासम्म देश लकडाउन हुँदा देशको अर्थतन्त्र डामाडोल भएको छ । रेमिट्यान्स, भन्सार तथा अन्य आन्तरिक कर आशातित रुपमा संकलन नहुँदा राज्यको ढुकुटी नै असन्तुलन हुना थालेको छ । चौतर्फी आर्थिक मन्दी सिर्जना भएको छ भने देशको आर्थिक बृद्धिदर ऋणात्मक हुने अवस्था छ । विदेशी विनिमय सञ्चिती घट्दो क्रममा छ । रोजगारदाता कम्पनीहरुले रोजगार संख्या कटौती गरिरहेका छन् । यस्तै अवस्था अझै केही महिना रहने हो भने कोरोनाले निम्त्याउने अल्पकालीन भन्दा दिर्घकालीन असर ज्यादा खतरनाक बन्न सक्छ ।

विश्वभर फैलिएको कोरोना महामारीले अरु धेरै क्षेत्र नराम्ररी प्रभावित भएपनि खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा भने यसको असर मिश्रित देखिएको छ । कोरोनाले वास क्षेत्रमा सकारात्मक सन्देश समेत प्रवाह गरेको छ । वास क्षेत्रमा कोरोना भाइरस (कोभिड -१९) ले पारेको असर, कोरोना संक्रमणबाट जोगिन वास क्षेत्रले अपनाउनुपर्ने सावधानी तथा पूर्ण सरसफाइ कार्यक्रमको मोडालिटी कस्तो हुनुपर्ला ? खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास :

कोरोनाको सकारात्मक र नकारात्मक प्रभाव :

स्थानीय सरकारले पूर्ण सरसफाइ कार्यक्रमको अगुवाई गर्ने, प्रदेश तहले समन्वय तथा सहकार्य गर्ने र संघीय सरकारले खासगरी पूर्ण सरसफाइ सञ्चालन लागि चाहिने गुरुयोजना निर्माण गर्ने, त्यसका लागि आवश्यक निर्देशिका तथा मापदण्डहरु तयार गर्ने, स्थानीय तह र प्रदेश तहको क्षमता बृद्धिमा टेवा पुर्‍याउने, जनचेतना अभिबृद्धि गर्ने लगायतको काम गर्नुपर्दछ ।

खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा कोरोना भाइरस (कोभिड – १९) ले सकारात्मक र नकारात्मक दुवै असर पारेको छ । सकारात्मक असरको कुरा गर्नुपर्दा कोरोना संक्रमणबाट बच्न साबुन पानीले मिचीमिची २० सेकेण्डसम्म हात धुनुपर्छ भन्ने जुन सन्देश गयो, त्यसले खानेपानी र सरसफाइको महत्व झनै बढायो । यसका साथै उपभोक्ता समितिहरु, खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान लगायत जत्ति पनि खानेपानी सेवा प्रदायक संस्थाहरु हुनुहुन्छ, उहाँहरुमा पनि सेवा प्रवाहमा प्रभावकारिता ल्याउनुपर्छ भन्ने महसुस गराउनका साथै विश्वसनियता आर्जन गर्ने अवसर पनि बनेको छ ।

अब नकारात्मक असरको कुरा गर्नुपर्दा जत्ति निर्माणाधीन खानेपानी आयोजनाहरु थिए ती अवरुद्ध भए । जसका कारण सम्पन्न हुने चरणमा भएका कतिपय खानेपानी आयोजनाहरु सम्पन्न गर्न ढिलाई हुने भएको छ । पूर्ण सरसफाइका कार्यक्रमहरु जुन गतिमा सञ्चालन हुनुपर्ने थियो ती सञ्चालन हुन पाएनन् । यसले गर्दा वास प्लान निर्माण गर्ने र सफ्टवेयर मार्फत खानेपानी तथा सरसफाइ सेवाको अवस्था अद्यावधिक गर्ने काम पनि रोकिएको छ । यो एउटा तत्काल देखिएको असर हो भने समष्टिगत रुपमा खानेपानी सेवाहरु निर्माणका लागि वैदेशिक लगानी भईरहेको छ दिर्घकालीन रुपमा लगानी घट्ने सम्भावना देखिएको छ । यद्यपि नेपाल सरकारले चालु आर्थिक बर्षको बजेट घट्न दिएको छैन । यो एकदम सकारात्मक पक्ष हो । तर यसको असर दिर्घकालमा लगानीमा देखिन सक्छ ।

धारामा पानी भर्दा र बिल तिर्दा पनि दुरी कायम गरौं 

यदि टोल भरिका मानिसले पानी भर्ने धारा एउटा मात्रै छ भने त्यहाँ पनि भौतिक दुरी कायम गर्नैपर्छ । सार्वजनिक धारा सबैको पहुँचमा हुने भएकाले पानी भर्नुभन्दा अगाडि साबुन पानीले मिचीमिची हात धोएर धाराको टुटी पनि सफा गर्नुपर्छ । यसो गर्दा कोही संक्रमित व्यक्तिले धाराको टुटी छोएर कोरोना भाइरस टाँस्सिएर बसेको रहेछ भने पनि अर्को व्यक्तिमा सर्न पाउँदैन । यस्तै खानेपानीको बिलहरु भुक्तानी गर्न काउण्टरमा जानुपर्ने अवस्था छ । त्यहाँ पनि कोरोना संक्रमण हुने सम्भावना भएकाले बिल भुक्तानी पनि अटोमेसनमा जानुपर्दछ । त्यसले अन्तरक्रिया घटाउँछ र कार्यालयमा गईरहनुपर्ने बाध्यतालाई हटाउँछ ।

यस्तै निर्माण चरणमा रहेका जुन आयोजनाहरु छन् । ती आयोजनाहरुमा काम गर्दा पनि भौतिक दुरी कायम गरेर छिटो भन्दा छिटो निर्माणको काम अगाडि बढाएर सम्पन्न गर्नुपर्छ । साथसाथै खानेपानी सेवा पुग्न नसकेको ठाउँहरु कहाँ कहाँ छन् ? योजनाबद्ध तरिकाले खानेपानी सेवा नपुगेका घरहरुमा तीनै तहको सरकार र सरोकारवालाहरुसँग सहकार्य नयाँ योजना निर्माणको काम अगाडि बढ्नुपर्छ ।

खुला दिसामुक्त अवस्थाको दिगोपनाका लागि मौजुदा चर्पीहरुको प्रयोगमा जोड दिने, नयाँ घरहरु बन्दैछन् भने त्यस्ता घरहरुमा स्थानीय तहले अनुगमन गरेर चर्पी अनिवार्य बनाउन लगाउने, साबुन पानीले हात धुने सम्बन्धी जनचेतना जगाउने काम गर्नुपर्छ । खानेपानी, सरसफाइको महत्व कोभिड – १९ ले जुन उजागर गरेको छ, त्यसलाई व्यवहारिक रुपमा सबै तह र तप्काले अबलम्बन गर्नुपर्दछ । खानेपानी सेवा प्रदायकहरुले खानेपानीको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन गर्नुपर्ने कामहरु गर्नुपर्छ । खानेपानी, सरसफाइ क्षेत्रमा काम गर्ने स्टाफहरुलाई झनै कोरोना संक्रमणबाट जोगाउनुपर्छ । उहाँहरु नै संक्रमित भए सेवा प्रवाह प्रभावित हुने भएकाले उहाँहरुलाई आवश्यक पिपीईहरु, मास्क, पञ्जा, स्यानिटाइजर जस्ता सामग्रीहरुको सहज तरिकाले उपलब्ध गराउनुपर्दछ ।

पूर्ण सरसफाइको अगुवाई स्थानीय सरकारले गर्ने 

राष्ट्र खुला दिसामुक्त घोषणा गर्ने बेला नै पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल पनि घोषणा गरिएको थियो । हामीसँग खुला दिसामुक्त अभियानका क्रममा काम गर्दाको आफ्नै सिकाई छ । पूर्ण सरसफाइ कार्यक्रममा पनि त्यही पद्धतिलाई अगाडि बढाउनुपर्छ । खुला दिसामुक्त अभियान सुरु हुने बेला केन्द्रिकृत सरकार थियो । अहिले तीन तहको सरकार छ । त्यसैले तीन वटा सरकारको बीचमा समन्वय र सहकार्य गर्न अति जरुरी छ । स्थानीय सरकारले पूर्ण सरसफाइ कार्यक्रमको अगुवाई गर्ने, प्रदेश तहले समन्वय तथा सहकार्य गर्ने र संघीय सरकारले खासगरी पूर्ण सरसफाइ सञ्चालन लागि चाहिने गुरुयोजना निर्माण गर्ने, त्यसका लागि आवश्यक निर्देशिका तथा मापदण्डहरु तयार गर्ने, स्थानीय तह र प्रदेश तहको क्षमता बृद्धिमा टेवा पुर्‍याउने, जनचेतना अभिबृद्धि गर्ने लगायतको काम गर्नुपर्दछ ।

पूर्ण सरसफाइकै अर्को महत्वपूर्ण पाटो फोहोरपानीको व्यवस्थापन हो । फोहोरपानी व्यवस्थापन गर्नका लागि ठूलो लगानीको आवश्यकता पर्छ । त्यस्ता फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारले आयोजनाहरु निर्माण गर्ने, प्रदेश सरकारले पनि त्यसभन्दा साना प्रकृतिका आयोजनाहरु निर्माण गरिदिने र अगुवाई चाहिं स्थानीय सरकारले लियो भने पूर्ण सरसफाइले गति लिन सक्छ ।

हामीले सातै प्रदेशमा पूर्ण सरसफाइ सञ्चालन गर्न कार्यशाला गोष्ठी आयोजना गर्ने योजना बनाएका थियौं । तर लकडाउनका कारण गर्न सकेनौं, अब अलि सहज भएपछि सातै प्रदेशमा कार्यशाला गोष्ठी अगाडि बढाएर सबै सरोकारवालाहरुलाई आवद्ध गराएर, जिम्मेवारी बाँडफाँड, स्रोत साधनको पहिचान र बाँडफाँड गरी हामी अगाडि बढ्नेछौं ।

अहिले चाहिं कोरोना संक्रमणबाट जोगिदैं खानेपानी, सरसफाइ र स्वच्छताका कामहरु सिर्जनात्मक एवं सुरक्षित तरिकाले सञ्चालन गर्न म सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछु ।

रेडियो कार्यक्रम पानी, सरसफाइ र स्वच्छताका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास सँग गरिएको कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार