महिलामैत्री शौचालय बनाउन यसो गर्नुहोस्

काठमाडौ : महिलाहरूको आवश्यकतालाई ध्यानमा राखेर चर्पीको योजना बनाउने कार्यमा महिलालाई समावेश नगरिंदा ठूलो स्वास्थ्य समस्या आउन सक्ने खतरा रहन्छ किनभने त्यसमा तिनीहरूका आवश्यकताहरू पूर्ति हुने सम्भावना कम हुन्छ । यदि सबैको स्वास्थ्य सुधार्ने हो भने सामुदायिक सरसफाइमा परिवर्तन ल्याउँदा पुरुषहरूले महिलाहरूका आवश्यकतालाई पनि ध्यानमा राख्नु पर्छ । सामुदायिक सरसफाइ योजनामा थोरै काम गराएर सजिलै महिलाहरूलाई सहभागी गराउन सकिन्छ ।

♥ महिलाहरू सहभागी हुन सक्ने समयमा छलफल कार्यक्रम राख्ने

♥ महिलाहरूलाई निम्त्याइएको र तिनीहरूले सजिलै आफ्ना कुरा राख्न सक्ने कुरामा निश्चित हुने

♥ यदि महिलाहरू मात्रै भएको ठाउँमा बोल्न सजिलो मान्छन् भने महिलाहरूको लागि छुट्टै छलफल कार्यक्रम राख्ने

♥ निर्णाय गर्ने भूमिका बाँडफाँड गर्नुहोस

♥ प्रायःगरी महिलाहरूले बच्चाहरूलाई सिकाउने तथा रेखदेख गर्छन् । जब महिलाहरूका आवश्यकताहरू पूर्ति हुँदैनन् साथमा बालबच्चाहरूका आवश्यकताहरू पनि पूर्ति हुँदैनन् । घरायसी तथा सामुदायिक सरसफाइ योजनामा महिलाहरू समावेश गरिएन भने पूरै समुदाय प्रभावित हुन पुग्दछ ।

चर्पी प्रयोग गर्न सजिलो बनाउने तरिका 

बालबालिका तथा असमर्थ वयस्कहरूलाई चर्पी प्रयोग गर्न सजिलो बनाउने थुप्रै विधिहरू छन् । मानिसहरूलाई तिनीहरूको सामर्थताअनुसार भिन्नभिन्न सुविधाको आवश्यकता पर्दछ । त्यसैले असमर्थ व्यक्तिहरूलाई पनि योजना बनाउने कार्यमा सहभागी गराउनु उत्तम हुन्छ । सबैका आवश्यकताहरू पूर्ति हुने समाधान पत्ता लगाउन सिर्जनशील हुनुहोस् ।

♦ यदि कुनै व्यक्तिलाई थचक्क बस्न कठिनाई हुन्छ भने साधारण हातले अडेस लिने ठाउँ वा बस्ने ठाउँलाई अलि माथि उठाइदिनुहोस् । वा यदि चर्पी जमीनमा भए मेच वा स्टुलमा प्वाल पार्ने र चर्पीमाथि राख्ने ।

♦ यदि कुनै व्यक्तिलाई उसको शरीर सम्हाल्न कठिनाई छ भने उसको पछाडि, छेउहरूमा र खुट्टामा अडेस दिन र सिट बेल्ट वा बार लगाइदिने ।

♦ दृष्टिविहीन मानिसहरूको लागि घरदेखि चर्पीसम्म डोरी बाँधेर वा पर्खाल बनाएर मार्गनिर्देश दिने ।

♦ यदि कुनै व्यक्तिलाई लुगा मिलाउन कठिनाई हुन्छ भने लुगा खुकुलो वा तान्न मिल्ने लगाउने । लुगा राख्न सफा र सुख्खा ठाउँ बनाउने ।

♦ यदि कसैलाई बस्न कठिनाई हुन्छ भने चलाउन मिल्ने समाउने ठाउँ र खुड्किला बनाउने ।

 

बालबालिकाहरूका लागि शौचालय

सरसफाइको कमिका कारण बालबालिकाहरू रोगी हुने खतरा बढी हुन्छ । झाडापखाला तथा जुकाले वयस्कहरूलाई पनि सताउँछ भने बच्चाहरू यस्ता रोगहरूका कारण मर्न पनि सक्छन् । यदि बच्चाहरूलाई सफा रहन सकिने सुरक्षित र सजिलै प्रयोग गर्न सकिने चर्पीको व्यवस्था भयो भने तिनीहरू कमै मात्र बिरामी हुन्छन् । खाल्डे चर्पी साना बच्चाहरूका लागि खतरनाक र डरलाग्दा हुन्छन् किनभने त्यहाँ अध्याँरो र ठूलो प्वाल हुन्छ । धेरै बालबालिकाहरू प्रायःगरी केटीहरूले सुरक्षित चर्पीको अभावमा विद्यालय छाड्ने गर्दछन् । चर्पी निर्माणमा बच्चाहरूको सहयोग लिएर र सरसफाइको कमजोरीबाट हुन सक्ने बिरामीका बारेमा शिक्षा दिएर स्वस्थ बानी व्यवहारको विकास गराउन सकिन्छ ।

साना बालबालिकाहरूलाई सफा रहन मद्दत गर्ने

सबै दिसामा हानिकारक कीटाणुहरू हुन्छन् र यसको कारणले बच्चाहरूका साथै बयस्कहरूलाई पनि गम्भिर रोग लाग्न सक्छ । गाउँहरूमा अभिभावकहरूले चर्पी प्रयोग गर्न निकै साना बच्चाहरूका लागि घर नजिकै प्वाल बनाएर यसको प्रयोग गराएपछि एक मुठ्ठि माटोले छोप्ने गर्दछन् । यी कुराहरू पनि महत्वपूर्ण छन् :

♠ साना बच्चाहरूलाई दिसा गराइसकेपछि पखालिदिने ।

♠ बच्चालाई पखालि दिइसकेपछि आफ्नो हात पनि धुने ।

♠ दिसा पुरिदिने वा सुरक्षित चर्पीमा राख्ने ।

♠ मैलो कपडा खानेपानीको स्रोतभन्दा टाढा धुने ।

केटाकेटीहरूलाई राम्ररी पुछ्न र पखाल्न सिकाउने र साथै चर्पी प्रयोग पछि राम्ररी हात पखाल्न सिकाउने । केटीहरूलाई मुख्यगरी अगाडिबाट पछाडि पुछ्न सिकाउने अगाडि पुछ्दा कीटाणुहरू यौनाङ्ग तथा योनीमा फैलन सक्छ जसका कारण मूत्राशयमा सक्रमण हुनुका साथै अन्य स्वास्थ समस्याहरू हुन सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार