
काठमाडौ : पानी बग्ने जमीन वा बाटोलाई ढल भनिन्छ । राम्रो ढलको व्यवस्थापनबाट बाढी र भूक्षयको खतरा घटाउँदछ र बढी पानी जमीनमा सोस्ने मौका प्रदान गर्दछ । कमजोर ढल व्यवस्थापनले भूक्षय र पानी जम्ने गराउँदछ ।
ढलको अवस्थामा सुधार ल्याउने राम्रो उपायहरूमा वर्षातको सतही पानीलाई बग्ने भन्दा पनि विस्तारै हिंड्ने गराउनु हो ताकि यो विस्तारै भुईतिर, चारैतिर र भूमिगत पानीतिर सोसिएर जाओस् ।
यसो गर्न निम्न कार्यहरु गर्नुहोस्
♦ भिरालो पहाड, नदी र खोला किनारका रुख विरुवाहरूलाई नकाट्नुहोस् ।
♦ वर्षातको सतही पानीलाई रुख विरुवातिर, सिचाइँ कुलोतिर र बगैंचामा लगाएर वा खाल्डोमा जमाएको पानीमा माछापालन गर्नुहोस् ।
♦ जैविक प्रतिरोधात्मक छेकबारहरू बनाउनुहोस्, अन्य भूक्षय नियन्त्रणका संरचनाहरू जस्तैः स–साना पर्खाल बनाएर सतही पानीलाई डोर्याउनुहोस् ।
♦ दिगो खेती प्रणालीबाट माटोको क्षमता सुधार गरी पानीलाई जमीनमुनी पठाउनुहोस् ।
♦ इनार वा धाराको उपयोगबाट निस्कने फोहर पानीलाई ढल, खाडल वा सोस्ने खाल्टोमा पठाउनुहोस् ।
♦ वर्षातको पानी छतबाट पाइपको सहायताले भाँडोमा राखी खानेपानीको लागि प्रयोग गर्नुहोस् वा पोखरी, खेत वा बगैंचामा लगाउनुहोस् ।
♦ सडकको पेटीहरूमा रुख विरुवा लगाउनुहोस् वा पानी निकास हुने गल्छी बनाएर सफा र अवरोधहरू सदैव हटाउनुहोस् ।
शहर बजारका जलाधार क्षेत्रहरू
जलाधार क्षेत्रभित्र शहर वा बजार बसेमा यसले पानीको प्राकृतिक बहावलाई परिवर्तन गरिदिन्छ । शहरी विकासले गर्दा धेरै कडा जमीनहरूमा जस्तैः सडक, प्लाष्टर गरेको भुई र छानाहरू जहाँ पानी भेलको रूपमा बढी बग्दछ र जमीनमा सोसेर जाने सम्भावना कम हुन्छ । यसले गर्दा पानी जम्मा भई एक ठाउँमा स्थिर हुन्छ, जसबाट लामखुट्टेको प्रजनन् गर्ने ठाउँको सृजना हुन्छ । यसले बाढी पनि ल्याउन सक्छ । धेरै मानिसहरू बस्ने ठाउँ र उद्योगधन्दाहरू विकास हुने ठाउँमा, पानी निकै प्रदूषित भएर जान्छ ।
शहर बजारमा सिमसार क्षेत्र एवं नदीका किनाराहरूलाई स्वस्थ्य राख्ने कठिन कार्य हो तर यस्तो गर्र्नु निकै महत्वपूर्ण कार्य हो । जसले गर्दा प्रदूषित पानी संकलन हुनबाट रोक्न, गाईबस्तु र रुखविरुवाहरूलाई प्रदूषित हुनबाट बचाउन र स्वास्थ्यलाई हानी हुनबाट रोक्न सकियोस् ।
आ–आफ्नो ठाउँको जलाधार क्षेत्रलाई बचाउनको लागि शहर बजारका मानिसहरूले निम्न कार्यहरू गर्न सक्दछन् ।
♠ पानीको श्रोतलाई प्रदूषित हुनबाट रोक्न मानव मलमूत्र एवं विषाक्त रसायनहरूलाई सुक्षित विसर्जन गर्नुहोस् ।
♠ शहर बजारका नदी नालाका किनारहरू, खोलाहरू, सिमसार क्षेत्र र पार्कहरूको पुनर्उत्थान गर्नुहोस् । केही समुदायले सडक पेटीमा बगैंचा लगाएर पानीलाई जमीनमुनी पठाउन सक्दछन् ।
♠ खतरनाक र बाढीग्रस्त क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित बसोबास दिलाउन शहरी प्रशासन वा सरकारसँग माग गर्नुहोस् ।
♠ व्यापारीक एवं औद्योगिक समुदायहरूलाई आफूले उत्सर्जन गर्ने फोहर व्यवस्थापनप्रति जिम्मेवारी बनाउनका लागि दबाव दिनुहोस् ।
♠ शहरी सरकार एवं नागरिक संस्थाहरूमार्फत् क्षेत्रीय योजना निर्माण कार्यमा र दिगो विकासका पहलहरूमा सहभागी बन्नुहोस् ।


1228 पटक हेरिएको 

