सर्लाही : तीन बर्षको अवधिमा सर्लाहीको हरिवन नगरपालिका –५ का ३१ जना क्यान्सर रोगीले ज्यान गुमाएका छन् । ३४ जना भन्दा बढी क्यान्सर रोगीको अहिले पनि उपचार भईरहेको छ । हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले केमिकल मिसिएको पानी लखन्देही खोलामा बगाउँदा क्यान्सरले धमाधम ज्यान लिईरहेको ५ नं. वडाका वडाध्यक्ष नागेन्द्र साहले बताउनुभयो ।
चिनी कारखानाको केमिकलयुक्त पानीले चापाकलको पानी दूषित भएकै कारण गाउँभरि क्यान्सर रोगी भएको हरिवन नगरपालिका–५ वडाध्यक्ष साहले बताउनुभयो । ‘अहिले प्रत्येक घरमा एक÷दुई जना क्यान्सरका रोगी छन् । उनीहरूमध्ये धेरै जनाको घाँटी र फोक्सोको क्यान्सरको संक्रमण देखिएको छ । चापाकलको पानीमा अत्यधिक आर्सेनिक र कोलिफर्म भएकाले गाउँमा क्यान्सर फैलिएको वडाध्यक्ष साहले बताउनुभयो । ‘कात्तिकदेखि यता मात्र क्यान्सर लागेर पाँच जनाको मृत्यु भइसक्यो, अहिले धेरै जनाले उपचार गराइरहेका छन् ।
साविकको घुर्कौली गाविसको गोले टोल, सिद्धार्थ टोल र धनपति टोलमा क्यान्सर संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । चापाकलको पानी दूषित भएर गाउँका धेरै जनामा क्यान्सर देखिएपछि अहिले त्यहाँका स्थानीयले फिल्टर गरेको र जारको पानी किनेर खान बाध्य भएको स्थानीय धनबहादुर घिसिङले बताउनुभयो । ‘क्यान्सर लागेर गाउँ नै सकिने भयो, के गर्नु जाऊँ भने कहाँ जाऊँ, भए भरको सबै जग्गा–जमिन यहीं छ । खानेपानीकै कारण क्यान्सर लागेको भन्छन्, सधैं पानी किनेर खान पनि सकिँदैन ।’ उहाँले भन्नुभयो ।
‘घुर्कौलीमा दूषित पानीकै कारण क्यान्सर लागेको भन्ने शंका छ, त्यही भएर स्थानीयलाई नगरपालिकाले केही समय अघि बाहिरबाट पानी ल्याएर खुवाउने गरेको थियो । ‘अहिले डिप बोरिङ गरेर खानेपानीको व्यवस्था नगरपालिकाले गरेको छ । अबको एक वर्षभित्र गाउँमा खानेपानीको धारा पु¥याउने तयारी हँुदै छ ।’ नगर प्रमुख गणेशप्रसाद प्रसाईंले बताउनुभयो ।
वडा नम्बर ५ को वडा कार्यालयले अहिलेसम्म ५० जना क्यान्सर पीडितलाई उपचारका लागि सिफारिस गरेको छ । त्यसमध्ये केही उपचारकै क्रममा छन् भने केहीको मृत्यु भइसकेको छ । गाउँका धेरै जनालाई क्यान्सर लागेपछि अहिले गाउँलेले चापाकलको पानी खान छोडेका छन् । क्यान्सरको उच्च जोखिमबाट तीन टोलका झन्डै ७ सय घर परिवार प्रभावित भएको स्थानीयको भनाइ छ । क्यान्सरको डरले गाउँमा रहेका सबैजसो चापाकल दुई वर्षदेखि बन्द भएका छन् ।
स्थानीय शनिमाया गोलेका अनुसार हरिवनको चिनी मिलले फोहोरपानी लखन्देहीखोलामा बगाउन थालेपछि कलको पानीमा कालो–पहेंलो आउन थालेको हो । ‘अहिले त चापाकलको पानीले लुगा धुँदा, भाँडा माज्दा समेत कालो र पहेंलो हुने गरेको छ ।’ उहाँले भन्नुभयो । स्थानीय क्यान्सर लागेर मृत्यु हुनेमा १३ वर्षका बालबालिकादेखि ७५ वर्षका वृद्धवृद्धासमेत रहेका छन् । कात्तिकदेखि यतामात्र क्यान्सरबाट रूपलाल घिसिङ, बाबुलाल स्याङ्तान, नन्दलाल मोक्तान, रामविराज राय र नहिला खातुन गरी ६ जनाको मृत्यु भइसकेको छ ।