
राजविराज : घरमा शौचालय भएको भए सायद बाहिर खुल्ला ठाउँमा शौच गर्न जाने थिएनन् उनी, जसका कारण बलत्कारको शिकार हुनु पर्ने थिएन होला ? तर शौचालय नभएकै कारण सप्तरीको बलान बिहुल गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । आइतबार राती शौच गर्न घर बाहिर निस्केको बेला ती किशोरी बलात्कृत भएकी हुन् । पीडितको बयान अनुसार उनी रातको ९ बजे शौच गर्न निस्केको बेला एक युवकले समातेका थिए । त्यसपछि ती युवकले उनको मुखमा गम्छाले बाँधेपछि दुई जना साथीलाई फोन गरेर बोलाएका थिए । मोटरसाइकलमा आएका तीनै जना युवाले खेतमा पुर्याएपछि पालैपालो बलात्कार गरेका थिए । सुस्त मनस्थितिका ती युवतीलाई बिहान ३ बजेतिर मोटरसाइकलमा हालेर घर नजिकै लगेर छाडेका थिए ।
बलात्कारपछि युवाहरुले पीडित किशोरीलाई बिहान ३ बजे मोटरसाइकलमा घर नजिकै ल्याएर छाडेको उपचारका लागि सँगै राजविराज आएकी पीडितकी आमाले बताउनुभयो । घरमा शौचालय नहुँदा छोरीले यस्तो अवस्था भोग्नु परेको पीडितको आमाको भनाइ थियो ।
प्रतिवाद गर्दा किशोरीको हातमा चोटपटक लागेको चिकित्सकहरुले बताएका छन्। आफूलाई जवरजस्ती करणी गरेको भन्दै प्रारम्भिक बयान दिएकी किशोरीले आरोपित मध्ये २ जनालाई पहिचान गरेकी छिन्। उनलाई उपचारका लागि राजविराज लगिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।
उजुरी आए लगत्तै किशोरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताउनुभयो ।जबरजस्ती करणीमा संलग्न युवाहरु फरार रहेकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन भए यताको अवधिमा मात्र सप्तरीमा २१ जना बलात्कृत भएको उजुरी परेको सप्तरी प्रहरीले जनाएको छ ।


4124 पटक हेरिएको 

