बञ्चरेडाँडा ल्याण्डफिल साइटको काम असोज भित्रै सम्पन्न हुन्छ : राज्यमन्त्री मानन्धर

काठमाडौ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मानन्धरले असोज महिनाभित्रै ल्याण्डफिल्ड साईटको पहिलो चरणको निर्माण सकिने दावी गर्नुभएको छ । आइतबार नुवाकोट- धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माण भईरहेको स्यानिटरी ल्याण्डफिल साइटको अवलोकन गर्दै मन्त्री मानन्धरले कार्तिक पहिलो सातादेखि फोहोर विसर्जनको काम सुरु हुने बताउनुभयो ।

कोभिड – १९ संक्रमणका कारण ल्याण्डफिल साइट निर्माणमा केही ढिलाइ भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साइट निर्माण सम्पन्न गरी फोहोर व्यवस्थापन गर्न थालिने दाबी गर्नुभयो । उहाँले सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने गरी आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको बताउनुभयो । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना सहित सरकारले स्यानिटरी ल्याण्डफिल्ड साईट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले दाबी गर्नुभयो ।

सरकारले आवश्यक सबै पुर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री मानन्धरले काममा ढिलाई भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । केही ठेकेदारको लापरबाहीका कारण सरकारका केही काममा प्रभावकारिता देखिन नसकेको बताउँदै ढिलाई गरी गरिने काममा सम्झौता नहुने प्रस्ट पार्नुभयो। मन्त्री मानन्धरले गुणस्तर कायम हुने गरी तोकिएको मिति भित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाइफलाइन भएको बताउनुभयो ।

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साइट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिवद्वता व्यक्त गर्नुभयो । जनताको सरकारले जनताको गुनासो सुन्ने र कार्यान्वयन समेत गर्छ । मन्त्री मानन्धरले भन्नुभयो सरकार जनताको अधिकार रक्षाका लागि सधैं तयार छ ।

निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशत सम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने दाबी गर्नुभयो । पोखरेलले निर्माणका क्रममा कोरोना भाइरस र वर्षा बाधक भएकाले अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार