बाग्लुङ : बाग्लुङको गलकोट नगरपालिकाले सेनेटरी प्याड तथा झोला बनाउने तालिम दिईएको छ । कोरोना भाइरस रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्याड पाउनै मुश्किल भएपछि नगरपालिकाले सीमान्तकृत समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै तालिम प्रदान गरेको हो ।
आफ्ना लागि आवश्यक प्याड आफैँ उत्पादन गर्ने तथा विक्री समेत गरी आय आर्जन वृद्धि गर्ने उद्देश्यले तालिम दिइएको नगरपालिकाले जनाएको छ । चार दिने तालिममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाको सहभागिता थियो । नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत पँखेटा नेपालको सहयोगमा सो तालिम सम्पन्न गरेको हो ।
“सङ्कटमा केही दिन भोक खप्न सकिएला, आँसु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन,” नगरपालिकाकी उपप्रमुख रेणु काउचा मगरले भन्नुभयो “सङ्कटको बेला स्वास्थ्यको झन ठूलो महत्व हुन्छ भन्ने ठानेर हामीले सुरक्षाका बीच तालिम आयोजना गरेका हौँ ।” उहाँका अनुसार तालिममा पररम्परागत रुपले सिलाइ पेशामा आवद्ध महिलालाई विशेष प्राथमिकता दिइएको थियो ।
तालिमको लागि मात्र तालिम नहोस् र त्यसबाट महिलाले व्यावसायिक लाभ पनि लिन सकून् भन्ने हिसाबले तालिमका प्रशिक्षार्थी छनौट गरिएको उहाँको भनाइ थियो । पुस्ताबाटै सिलाइ कटाइ सिकेका महिला तालिममा सहभागी हुँदा उत्पादन गुणस्तरीय भएको र बजारको सम्भावना पनि रहेको उहाँले जानकारी दिनुभयो । “झोला र प्याडगुणस्तरीय पनि होस् र उपभोग पनि होस् भन्ने सोचले काम गरिएको हो,” उहाँले भन्नुभयो,“हामी दिदीबहिनीका उत्पादनहरु बजारीकरणमा पनि सघाउने पक्षमा छौं ।”तालिमका सहभागिले निकै खुशी व्यक्त गरे ।


983 पटक हेरिएको 

