
काठमाडौ : खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ नामक पुस्तिका प्रकाशित गरिएको छ । राष्ट्रिय सरसफाइ समन्वय समितिको सचिवालयले खुला दिसामुक्त अभियानको आयामहरुलाई समेटेर खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ प्रकाशित गरिएको हो । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको एक बर्ष पूरा भएको अवसर पारी यही असोज १३ गते राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष रमाकान्त दुवाडीले पुस्तकको विमोचन गर्नुभयो ।
खुला दिसामुक्त नेपाल ‘यात्रा बृत्तान्त’ नामक पुस्तिकामा सरसफाइ अभियानको गौरवपूर्ण यात्रा कसरी अघि बढेको थियो ? अभियानका क्रममा देखा परेका व्यवधानहरू छिचोल्नका लागि के कस्ता प्रयास गरिएका थिए ? सरकारले के कस्ता नीति र रणनीतिहरूको अवलम्बन गरेर अभियानलाई अघि बढाएको थियो ? सरकारका विभिन्न निकाय, संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार, नागरिक समाज, संघ संस्था र आम नागरिकहरूले यो अभियानमा कसरी र्इँटा थप्ने काम गरेका थिए र सञ्चार माध्यमको भूमिका कस्तो थियो भन्ने बिषय समेटिएका छन् ।
यस्तै सरसफाइ अभियानका क्रममा हासिल भएका अनुभवहरू, गरिएका सहकार्यहरू, अवलम्बन गरिएका विधिहरू र समुदायहरू खुला दिसामुक्त भएपछि त्यसबाट के कस्ता प्रत्यक्ष र परोक्ष प्रभावहरू देखा परेका छन भन्ने कुरालाई समेत मिहिन ढंगबाट उठाइएको छ ।
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको महत्वपूर्ण अवसरमा प्रकाशित यो पुस्तिका विगतको अभिलेख, वर्तमानको दर्पण र भविष्यको पथ प्रदर्शक बन्ने विश्वास प्रकाशकले लिएको छ । ‘यस पुस्तिकालाई सरसफाइमा देशले हासिल गरेको महान् उपलब्धिलाई दर्शाउने एक जीवन्त अभिलेख बनाउने प्रयास गरिएको छ ।’ प्राक्कथनमा भनिएको छ ।
खुला दिसामुक्त नेपालको यात्रा वृत्तान्त दुई खण्डमा विभाजनमा गरिएको छ । पहिलो खण्डमा खुला दिसामुक्त अवस्थाको परिचयदेखि लिएर नेपालमा सरसफाइको विकासक्रम कसरी अगाडि बढेको थियो ? के कस्ता नीतिगत तथा संस्थागत प्रावधानहरू तर्जुमा गरिएका थिए ? सरसफाइ प्रवर्धनका के कस्ता प्रक्रिया र औजारहरूको अवलम्बन गरिएको थियो र राज्य, नागरिक समाज र विकास साझेदारहरू बीचको सहकार्य कसरी अघि बढेको थियो भन्ने बिषयलाई समेटिएको छ ।
देश खुला दिसामुक्त घोषणा भएको ऐतिहासिक दिनको अभिलेखीकरण, घोषणा तयारीका क्रममा सञ्चालित क्रियाकलापहरू, प्रवर्धनात्मक क्रियाकलापहरू, घोषणा सभाका अन्य क्रियाकलापहरू तथा घोषणासभाका मुख्य अतिथि एवं प्रधानमन्त्री तथा अन्य विशिष्ट महानुभावहरूबाट व्यक्त विचारलाई दोस्रो खण्डमा समेटिएको छ । पुस्तिकाको अनुसूचीमा सरसफाइ अभियान र घोषणासभाका महत्वपूर्ण तस्वीर तथा खुला दिसामुक्त जिल्लाहरूको घोषणा मिति लगायतका विवरण उल्लेख गरिएको छ ।
पुस्तिकामा खानेपानीमन्त्री, खानेपानी सचिव, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष, खुला दिसामुक्त एवं पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल घोषणा समारोह तयारी कार्य समूहका तत्कालीन संयोजक, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख लगायतको धन्यबाद तथा आभार मन्तव्य छापिएको छ ।
पुस्तिका लेखन तथा विषयबस्तु र भाषा सम्पादन भरत अधिकारीले गर्नुभएको हो । यस्तै विषयवस्तुको तयारी र विश्लेषण कमल अधिकारीले गर्नुभएको छ भने सम्पादनमा रमेश सुवेदीले विशेष योगदान दिनुभएको छ । पुस्तिका तयारीका लागि भने चन्द्र कुमार पाँ श्रेष्ठ, देवेन्द्र कुमार झा, भोजेन्द्र अर्याल, मदन कुमार मल्ल, नमराज खत्री र विपिन पौडेलले लगायतले सहयोग पु¥याउनु भएको छ । यो पुस्तिका आम पाठकका साथै नेपालको सरसफाइ अभियान सम्बन्धी अनुसन्धाता, शोधकर्ता एवं विद्यार्थीहरूका लागि पनि उपयोगी सन्दर्भ सामग्री हुने विश्वास लिईएको छ ।


1619 पटक हेरिएको 

