समाज सेवाका अथक योद्धा अर्थात समाजसेवी हरि भण्डारी

 2388 पटक हेरिएको

चितवन : सानै उमेरदेखि उहाँको रक्तकेशिकामा समाजसेवा प्रतिको चाहना बहन्थ्यो । आफू पढ्ने स्कुलमा डेस्क बेन्च अभाव भएर बस्न नपाउँदा होस् वा एक जना शिक्षकले सिंगो विद्यालयको पढाई धानेको देख्दा, ठूलो भएपछि शैक्षिक क्षेत्रको सुधार गर्ने इच्छा जाग्थ्यो उहाँमा । गाउँमा औषधी उपचार गर्न नपाएर मृत्युसँग लडिरहेका मानिसहरुलाई देखेर भविश्यमा स्वास्थ्य क्षेत्रमा केही गर्ने सोंच पलाउँथ्यो ।

उहाँले यही सोंचलाई मूर्त रुप दिन थालेको करिब तीन दशक भईसकेको छ । उहाँ हुनुहुन्छ चितवन मेघौलीका हरि भण्डारी । सन् १९९१ मा क्लिनिक नेपाल नामक संस्था स्थापना गरेपछि समाजसेवा गर्ने उहाँको योजनाले साकार रुप लिन थालेको हो । उहाँले क्लिनिक नेपाल मार्फत सुरक्षित खानेपानी उपलब्ध गराई हजारौंलाई खानेपानीजन्य रोग लाग्नबाट बचाउनु भएको छ । खुला ठाउँमा दिसा गर्ने बानी हटाएर सरसफाइयुक्त बानीव्यहोरा अपनाउन लगाउनु भएको छ । हजारौलाई स्वास्थ्योपचार प्रदान गरी अकालमा हुने मृत्युबाट बचाउनुभएको छ ।


बिदेशीको बासले बदलिएको बाटो

हरि भण्डारी विद्यालय उमेरमै चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने विदेशीहरुसँग भेटघाट तथा कुराकानी र अन्तरक्रिया गर्नुहुन्थ्यो । तर त्यो दिन, विदेशीको टेन्ट हावाले नउडाई दिएको भए आज समाजसेवी हरि भण्डारी यो उचाईमा हुनुहुन्थ्यो वा थिएन, यसै भन्न गाह्रो छ ।

हरि भण्डारी त्यो दिन मेघौलीमा पर्यटकलाई राख्न मिल्ने खरको होटल बनाउँदै हुनुहुन्थ्यो रे । त्यही रात राप्तीको खोला किनारमा केही विदेशीहरु टेन्ट गाडेर बसेका रहेछन् । राती हावाहुरी आएर टेन्ट उडाएपछि ती विदेशी बिचल्लीमा परेछन् र भण्डारीले बनाउँदै गरेको खरको छानो भएको घरमा आएर रात कटाएछन् ।

भण्डारी त्यत्तिबेलाको दिन सम्झिदै भन्नुहुन्छ ‘भोलिपल्ट कहाँबाट कसरी आएको भनेर सोधीखोजी गर्दा तिनीहरु कुष्ठरोगीहरुसँग काम गर्ने जर्मन नागरिकहरु रहेछन् । उनीहरु सँग मैले भविश्यमा मेडिकल हस्पिटल खोल्ने योजना रहेको बताएँ, उनीहरुले पनि आफ्ना कुरा राखे । उनीहरु त्यसै दिन काठमाडौमा फर्किए । यो सन् १९९० को कुरा हो ।’


एक रातको बासबाट जोडिएको सम्बन्धले मेघौलीमा अस्पताल खोल्ने योजनासम्म पुगेको थियो । त्यही सपना बोकेर भण्डारी काठमाडौमा मेडिसिन पढ्न भनेर आउनुभयो । उहाँले काठमाडौमा जर्मन नागरिकहरुसँगै कुष्ठरोगीहरुको पनि सेवा गर्नुभयो ।

मेघौलीमा मेडिकल क्लिनिक खोल्ने योजना बनाएको ५ बर्ष भईसक्दा पनि अस्पताल बन्न सकेको थिएन । कुरा सन् १९९६ को हो । त्यही बेला भण्डारीलाई विदेशमा मेडिकल पढ्न जाने मौका मिल्यो । बीचमा जर्मनमा जाने आउने क्रम भने चलिरहेको थियो । उहाँको मनमा कुरा खेल्न थाल्यो ‘पढ्न थालें भने कम्तीमा सात आठ बर्ष यत्तिकै सकिहाल्ने रहेछ, अब बरु क्लिनिक नै स्थापना गर्छु । क्लिनिक खोलें भने डाक्टरलाई राखेर सञ्चालन गर्न सकिहाल्छु नि ।’

यही सोचलाई बोकेर विदेशमा पढ्न जानुको सट्टा उहाँ गाउँ फर्किनुभयो । गाउँमा गएर आफ्ना विचारहरु तत्कालीन गाविस अध्यक्ष देखि सबैलाई सुनाउनुभयो । उहाँको विचारलाई सबैले समर्थन गरेर गाउँको सार्वजनिक जग्गा समेत दिए । भवन बनाउन चाहिने सामग्रीहरु काठ, ढुंगा, गिट्टी पनि प्रदान गरे ।

आफ्नो योजनालाई पूर्णता दिन उहाँलाई निक्कै रकम आवश्यक पर्ने भयो । उहाँले आफ्ना चिनेजानेका विदेशीहरु समक्ष हात फैलाउनुभयो । काठमाडौमा कुष्ठरोगीहरुसँग काम गर्ने शीलशीलामा चिनेका र मेघौलीमा चिनेका विदेशीहरुलाई पनि चिठ्ठी लेख्नुभयो । उहाँले त्यसबेला क्लिनिक स्थापनाका लागि भनेर १०० वटा भन्दा बढी चिठी लेखेको सुनाउनुभयो ।

रातको पाहुना, देवता बराबर

समाजसेवी भण्डारी त्यसबेला कक्षा १० मा अध्ययनरत हुनुहुन्थ्यो । गाउँमा अमेरिकन गु्रप आएको थियो । २२ जनाको गु्रप । बस्ने, खाने ठाउँको व्यवस्था थिएन । टेन्ट र खानेकुरा बोक्ने टोली समयमा आई नपुगेपछि त्यस रात उहाँले नै बस्ने खाने प्रबन्ध मिलाउनुभएको थियो अमेरिकन टोलीलाई ।

आफ्नो क्लिनिक स्थापना गर्ने योजना बनाईरहँदा उहाँले ती अमेरिकन ग्रुपलाई पनि सम्झिनुभयो । उहाँले अरुसँगै ती टोलीलाई पनि चिठी लेख्नुभयो । उहाँले त्यसबेला ४ वटा कोठाको भवनको डिजाइन गर्नुभएको रहेछ । भण्डारी भन्नुहुन्छ ‘ मैले एकदमै सिम्पल डेढ लाखको मात्र प्रोजेक्ट बनाएको थिएँ । त्यो अमेरिकन बूढाबुढीले चिठी पाउन साथ १ हजार डलर पठाईदियो । गाउँमा मेडिकल क्लिनिक बनाउने भनेपछि काठमाडौमा पनि निक्कै चर्चा भयो ।’

मेडिकल क्लिनिक खोल्ने अभियानमा उहाँले ११ लाख रुपैयाँ संकलन गर्नुभयो । पछि मेडिकल क्लिनिकको भवनको दायरा पनि ३ गुणा ठूलो भयो । ‘मलाई स्काउटवालाले पनि सहयोग ग¥यो ।’ उहाँका अनुसार एक जना स्काउटवालालाई पनि उहाँले आफ्नै घरमा बास दिनुभएको रहेछ ।


रकम जम्मा भएपछि अब भवन बनाउन कुनै गाह्रै भएन उहाँलाई । सन् १९९७ को मार्चमा शिलान्यास गरेको भवन उहाँले सोही बर्षको अक्टोबरमा सम्पन्न गरी नोभेम्बर देखि हप्ताको एक दिन सेवा दिन सुरु गर्नुभयो । भण्डारी भन्नुहुन्छ ‘शुरुमा लोकल हेल्थ असिस्टेन्टलाई शनिबार लगाएँ र गाउँकै एक जनालाई तीन महिने नर्सिङ तालिम गर्न पठाएँ । पछि उनलाई नर्स पढ्न पठाएँ । अर्को भाइलाई ल्याब टेक्निसियन बनाउन पठाएँ । हप्तामा एक चोटिबाट सुरु भएको सेवा हप्ताको दुई चोटि, तीन चोटि गर्दै समय बढाउँदै लगें ।’

पानीजन्य रोग र वाटर एडसँगको भेट

जब क्लिनिक सुरु भयो, त्यसपछि एक बर्ष (सन् १९९८) को बिरामीको लगत विश्लेषण गरियो । यसरी हेर्दा झाडापखाला, हैजा लगायत पानीबाट लाग्ने रोगहरु लिएर मात्र क्लिनिकमा आउने गरेको भेटियो । जत्ति स्वास्थ्य सल्लाह दिएर पठाए पनि त्यस्तो खाले बिरामी आएको आयै भयो । उमालेको पानी खानुहोस्, हात धोएर खानुहोस् भन्दा भन्दा कहिल्यै पनि सफल भएन ।

‘अब के गर्ने ?’ उहाँको मनमा प्रश्न उब्जियो । त्यत्तिबेला कता कताबाट उहाँले वाटर एड भन्ने संस्थाको नाम सुन्नु भएको रहेछ ।

वाटर एडले खानेपानी, चर्पी बनाउन सघाउँछ भन्ने सुनेका भण्डारी त्यसपछि सीधै वाटर एडका राष्ट्रिय निर्देशकलाई भेट्न गएको सम्झिनुहुन्छ । ‘पहिले पहिले त कसैले वास्तै गर्नुभएन । सायद भर्खरको भएर पनि वास्ता नगरेको हुनुपर्छ । म धेरै पटक वाटर एडको कार्यालय पुग्दै फर्किए । वाटर एडलाई कन्भिन्स गर्न मात्र डेढ दुई बर्ष लाग्यो । यो सन् २००० ताकाको कुरा हो ।’


एक दिन उहाँलाई वाटर एडले खुसीको कुरा सुनायो । गाउँलेले तिर्नुपर्ने ३० प्रतिशत क्लिनिक नेपालको तर्फबाट र अरु ७० प्रतिशत चाहिं वाटर एडको तर्फबाट व्यहोर्नुपर्ने तर वाटर एडले सीधै काम नगर्ने र नेवासँग काम गर्नुपर्ने भन्यो । नेवासँग सम्झौता भएपछि क्लिनिक नेपालले सन् २००१ देखि मेघौलीमा सरसफाइको काम सुरु गर्‍ यो ।

गैंडाले मात्र एकै ठाउँमा दिसा गर्छ भन्थे मान्छेहरु

सन् २०११ मा सरसफाइ गुरुयोजना बनेपछि मात्र चर्पी बनाउने काममा व्यापकता आएको भएपनि मेघौलीमा भने सन् २००१ देखि नै चर्पी बनाउन सुरु भएको थियो । नेवा र क्लिनिक नेपालकै सक्रियतामा सन् २००९ मै मेघौली गाउँ विकास समिति खुला दिसामुक्त घोषणा भईसकेको थियो । समाजसेवी हरि भण्डारीका अनुसार सरसफाइ अभियानको सुरुमा गाउँमा खानेपानी सम्बन्धी रोगहरु बढ्नुको कारण बारे अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा लगभग १० प्रतिशत घरमा मात्र चर्पी भएको भेटिएको थियो । त्यसबेला मेघौलीको जीतपुरमा गरिएको सर्वेलाई आधार मानेर ९० प्रतिशत घरमा चर्पी नभएको र १० प्रतिशत घरमा मात्र चर्पी भएको तथ्याङ्क निकालेर सरसफाइ अभियान सुरु गरिएको थियो ।

‘वाटर एडको आर्थिक सहयोग पाएपछि नेवा र क्लिनिक नेपालले प्रत्येक घरमा चर्पी र ५ देखि १० घरधुरीको बीचमा सामुदायिक धारा बनाउने काम सुरु गर्‍ यौं ।’ भण्डारी त्यसबेला चर्पी बनाउँदा आईपरेका चुनौती सम्झिदै भन्नुहुन्छ ‘थारु कुमाल बस्तीमा चर्पी बनाउनुपर्ने यत्ति चुनौती थियो कि, यत्तिका बर्षसम्म बारीमा गएर दिसा गरियो, अहिले किन चर्पी चाहियो ? राप्ती र नारायणीको किनारमा दिसा गर्‍ यौं । एउटै खाल्डोमा कसरी दिसा गर्ने ? बनाउने भए दुईटा बनाईदिनु भन्ने सम्मका कुराहरु आए । कतिले त म गैंडा होइन, गैंडाले मात्र एकै ठाउँमा दिसा गर्छ भन्थ्यो ।’

हरेक चुनौतीको सामना गर्दै क्लिनिक नेपालले प्रत्येक बर्ष १ सय, २ सय घर लिएर चर्पी बनाउने अभियान चलायो । ‘हाम्रो कामको सफलता देखेर देश विदेशबाट पनि मानिसहरु भ्रमणमा आउन थाले । बंगलादेश, अष्टे«लियादेखि मानिसहरु आउँथे, हामी धेरै उत्साहित हुन्थ्यौं ।’ भण्डारीले भन्नुभयो ।

अन्ततः लगभग २ हजार ८ सय घरमा शौचालय, २५१ वटा सामुदायिक धारा, १० वटा भन्दा बढी इनारहरु निर्माण तथा मर्मत र मेघौलीको सबै विद्यालयमा छात्रछात्राका लागि छुट्टाछुट्टै चर्पी बनेपछि सन् २००९ मा ‘मेघौली’ खुला दिसामुक्त घोषणा भयो ।

 

आर्सेनिक हटाउने देखि मेघौली साना सहरी खानेपानी योजनासम्म


आफ्नै संस्थाले बनाएको सामुदायिक धारामा आर्सेनिकयुक्त पानी आएपछि उहाँलाई पर्नु पीर पर्‍ यो । त्यसपछि मेघौलीको तेलौली भन्ने गाउँमा देखिएको आर्सेनिक हटाउने उपायको खोजीमा उहाँ लाग्नुभयो । किनकि उहाँ स्थानीय बासिन्दालाई जानी जानी बिष खुवाउन चाहनुहुन्थेन ।

१०० मिटर भन्दा बढी गहिराईबाट डिपबोरिङ गरी ओभरहेड ट्याङ्कबाट पानी वितरण गर्न सके आर्सेनिक आउँदैन भन्ने सुन्नुभएको थियो भण्डारीले । उहाँ सँग यो कार्यका लागि पैसा नभएपनि सर्भे तथा स्टिमेट गर्न लगाउनुभएको थियो । सोही क्रममा उहाँको भेट सरसफाइ अभियन्ता मदन मल्ल सँग भयो । उहाँ त्यत्तिबेला चितवनमा सरसफाइ अभियान सञ्चालन गर्नुहुन्थ्यो । ‘किन यत्ति एउटा गाउँलाई मात्र लिएर सर्वे गर्नुहुन्छ ? यो आर्सेनिक पानी ढिलो चाँडो सबै गाउँमा पुगिहाल्छ । त्यसैले अहिले नै अलि ठूलो दिमागले सोच्नुहोस् न ।’ मल्ल सँग भएको भेटमा भएको कुराकानीबारे भण्डारीले सुनाउनुभयो ।

त्यसपछि उहाँको सोंच बदलियो । सुरुमा तेलौली भन्ने गाउँका लागि मात्र आर्सेनिकमुक्त पानी खुवाउने उहाँको योजनाले विस्तारित रुप लियो । त्यसपछि उहाँलाई सरसफाइ अभियन्ता मल्लले नै साना सहरी खानेपानीमा परिचय गराउनुभयो । त्यसपछि साना सहरीले मेघौलीको पूरा क्षेत्रको सर्वे ग¥यो । लगभग ३७ करोडको प्रोजेक्ट बनेपछि यसको कार्यान्वयनका लागि उहाँ घरघर धाउन थाल्नुभयो ।

गाउँमा सुन्दै नसुनेको ठूलो प्रोजेक्टको काम गर्न सम्भव नभएपछि त्यसलाई घटाएर अलि सानो बनाईएको र त्यही बीचमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति समेत बनाईएको भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँबाट ३८ लाख रुपैयाँ संकलन गरिएको थियो भने ४० लाख रुपैयाँ विदेशमा उठाएको थियो । उपभोक्ताको तर्फबाट उठाउनुपर्ने रकम जम्मा गरेपछि सन् २०१२ मा मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनामा कार्यान्वयनमा आएको हो ।

खानेपानी आयोजनामा सौर्य उर्जा जडान

विदेश भ्रमणमा खानेपानी आयोजनामा आवश्यक पर्ने विजुली सौर्य उर्जाबाटै आपूर्ति गरेको देखेका भण्डारी उक्त अवधारणा आफ्नै गाउँठाउँमा लागु गर्न चाहनुहुन्थ्यो । त्यसैले उहाँले सुरुमै खानेपानी आयोजनामा सोलार पनि जोड्ने गरी डिजाइन स्टिमेटका लागि प्रस्ताव गर्नुभएको थियो । उहाँलाई १०० किलोवाटको सौर्य उर्जा जडान गर्न पाए खानेपानी पम्पिङ गरेर खुवाउन सकिन्छ भन्ने थियो ।


तर त्यसबेला (सन् २०१४) सौर्य उर्जा जडान गर्न निक्कै महँगो पर्ने भएपछि त्यसलाई थाँती राखिएको थियो । ढिलै भएपनि उहाँले विदेशमा समेत रकम जुटाएर खानेपानी आयोजनामा १ सय किलोवाटको सोलार बत्ती जडान गरी उत्पादित विजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नुभएको छ । सोलारबाट उत्पादित बिजुली बेचे बापत मासिक ७३ हजार रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो । ‘हामीले एक महिनाको विजुली विक्रीबाट रकम लिईसकेका छौं, यो मेघौली खानेपानी आयोजनाको दिगोपनाको लागि स्थायी स्रोत हो ।’ भण्डारीले भन्नुभयो । मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाबाट अहिले करिब १९ सय घरपरिवार लाभान्वित भएका छन् ।

कोभिडमा घरघरै कटनको झोला


क्लिनिक नेपालले यत्तिबेला मेघौलीका ४ हजार भन्दा बढी घरधुरीमा घरघरै कटनको झोला वितरण गरेको छ । कटनको झोलामा १० वटा मास्क र झोलाको एकातिर कोरोना भाइरसबाट बच्ने तरिका लेखिएको समाजसेवी भण्डारीले बताउनुभयो । ‘झोलाको एकातिर क्लिनिक नेपाल र स्काउटको लोगो तथा अर्कोति सरसफाइ सम्बन्धी जनचेतना, हात धोऔं, मास्क लगाऔं, सामाजिक दुरी कायम गरौं जस्ता सन्देश छापेर घरघरै पुर्‍ याएका छौं’ उहाँले भन्नुभयो ।

क्लिनिक नेपालले लकडाउन हुँदा सुरुमा काठमाडौमा खाना नपाएकाहरुलाई रासनको व्यवस्था गरेको थियो । ‘पहिलो लकडाउनमा काठमाडौमा रासन उपलब्ध गरायौं, अहिले चाहिं हामीले मेघौलीलाई धेरै फोकस गरेका छौं ।’ भण्डारी भन्नुहुन्छ ‘परिवार संख्याको आधारमा आफै गएर रासन पनि बाँढिरहेका छौं भने सचेतना अभियान पनि चलाईरहेका छौं ।’ उहाँको संस्थाले घरघरमै माइकिङ गर्दै कोरोना भाइरसबाट बच्न साबुन पानीले नियमित हात धुन, सामाजिक दुरी कायम गर्न र अनिवार्य मास्क लगाउन स्काउटहरु समेत परिचालन गरेर माईकिङ गर्न लगाएको थियो ।

क्लिनिक नेपालले यिनै सन्देशलाई पोष्टर बनाई विद्यालय, सार्वजनिक स्थान तथा गाउँगाउँमा समेत टाँस गरिरहेको छ ।


विश्वको ८ देशमा क्लिनिक नेपाल

सुरुमा आफैले कमाएको रकम सामाजिक सेवामा लगाउनु भएका भण्डारीलेको अहिले लगानीको स्रोत वैदेशिक सहयोग नै हो । उहाँका शुभचिन्तक तथा सहयोगीहरुले विदेशमा रहेका आफ्ना कार्यालयहरुमा चन्दा संकलन गरी पठाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सन् १९९७ देखि अहिलेसम्म विभिन्न देशको ८ ठाउँमा क्लिनिक नेपाल भनेरै संस्था दर्ता गरिएको छ ।

यसका साथै आफ्नो लागि प्राप्त पुरस्कार बापतको रकम समेत उहाँले सामाजिक सेवामै लगानी गर्नुभएको छ । केही बर्ष पहिले रोटरी क्लवले प्रदान गरेको १ लाख डलर राशीको पुरस्कारबाट उहाँले स्कुललाई बस किनिदिनुभएको छ भने ९६ फिट लामो स्कुलको तला थप गर्नुभएको छ । उहाँको संस्था क्लिनिक नेपालले कोरोना संक्रमणको ६ महिनाको अवधिमा करिब ५० लाख रुपैयाँ खर्च गर्नुभएको छ भने यो खर्च ७० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

सिङ्गो जीवन नै समाजसेवामा समर्पित

सन् १९९१ मा स्थापना भएको क्लिनिक नेपालले करिब ३० बर्षको यात्रा पूरा गर्न लागेको छ । समाजसेवी भण्डारीले समाज सेवा गर्न थाल्नुभएको पनि ठिक त्यत्ति नै समय भएको छ । तीन दशक लामो समय समाजसेवामा खर्चिनुभएका भण्डारी अहिले ५० बर्षको हुनुभएको छ । आफ्ना कल्कलाउँदो उमेर सामाजिक सेवामा अर्पण गर्नुभएका भण्डारीका लागि समाज सेवा नसा बनिसकेको छ ।

‘मेरो मानप्रतिष्ठा, इज्जत, सन्तुष्टि र सारा सम्पक्ति भनेकै समाजसेवा हो । यसबाट कहिल्यै अलग हुन सक्दिन ।’ भण्डारी भन्नुहुन्छ ‘मैले बनाएको धारा खोलेर धारैबाटै पानी खाँदा अमृत पिए सरह हुन्छ । मैले किनिदिएको बसमा बच्चाहरु चढेर स्कुल गएको देख्दा हर्षको आँसु बहन्छ । मैले बनाएको क्लिनिकमा गएर बस्छु, बिरामीहरु आउँछन् । त्यो देखेपछि त म जे पनि गर्न सक्छु भने आँट पैदा हुन्छ । यिनै हुन् समाजसेवाबाट मैले सन्तुष्टि लिने आधारहरु ।’

समाजसेवामा उहाँले गर्नुभएको योगदानको कदर गर्दै सरकारले संविधान दिवसको उपलक्ष्यमा गतसाल भण्डारीलाई जनसेवा श्री पदकबाट सम्मान गरिएको थियो ।

फोटोहरु : क्लिनिक नेपालको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार