विनोद धौलागिरि/रतुवामाई (मोरङ) : धान भित्राउने चटारोलाई छल्दै मोरङको रतुवामाई नगरपालिका, वडा नं. ६ जोरपैनीमा सोमबार भिन्न माहोल देखियो । समुदाय र विद्यालय परिवारले सरसफाइ तथा स्वच्छताका ब्यानर, प्लेकार्ड र अन्य सन्देशमूलक सामग्री सहित समुदायको भ्रमण गरे । घरधुरीको बाहिरी सरसफाइ हेर्दै समुदाय घुमे । सबै घरधुरीलाई कार्यक्रम स्थलमा उपस्थित हुन निम्तो दिए ।

कार्यक्रमस्थलमा ठूलो त्रिपाल टाँगिएको थियो । कलाकार सन्देशमूलक गीतमा नृत्यका लागि तम्तयार थिए । वरिपरी साबुनपानीले हातधुनका लाागि स्टेशन बनाइएका थिए । रोचक कुरा त, कार्यक्रम स्थल वरपर सबै घरधुरीले आफ्नो घरबाहिर साबुनपानीले हातधुने ठाउँ बनाएका थिए, साबुन र पानी तयार थियो । आगन्तुकहरुलाई घरधुरीले नै साबुनपानीले हात धोएर मात्र कार्यक्रम स्थलमा जान सुझाइ रहेका थिए ।

यो सबै जाँचोपाँजो मिलाएको थियो : रतुवामाईको जोरपैनी प्रस्तावित सरसफाइ नमूना बस्तीले, अनि साथ दिएका थिए पूर्ण सरसफाइ अभियाान सहजकर्ताहरुले । “यहाँ आउँदा पनि साबुनपानीले हातधुन नै लगाउने होलान् भन्ने धेरैलाई लागेको थियो, तर हामीले फरक सन्देश दिन खोजेका थियौं”, हातधुने अभियान र समुदायको सरसफाइमा सक्रियतापूर्वक लागिरहेका घडिन्द्र चौहानले भन्नुभयो, “हामीले साबुनपानीले हातधुने कार्यलाई जीवन संस्कारको रुपमा स्थापित गर्नुपर्ने थियो, त्यसैले फरक ढंगले यस कार्यक्रम आयोजना गरिएको हो ।”
सरसफाइ र संस्कार सँगसँगै
आगन्तुकहरुलाई स्वागत सत्कार गर्ने नेपाली परम्परा नै हो । जोरपैनीको हातधुने अभियानमा समेत आगन्तुकहरुलाई स्वागत गरियो, त्यो पनि पूर्ण सरसफाइको प्रतिवद्धतासहित । सौंठा भिजन अंग्रेजी विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेपछि सहभागीहरुलाई पुष्प गुच्छाले स्वागत गरे र प्रतिवद्धता लिए : हामीले आफ्नो घर र समुदायलाई पूर्ण सरसफाइउन्मुख बनाउछौं ।

पूर्ण सरसफाइ अभियानमा टोल सरसफाइ व्यवस्थापन समिति र समुदायलाई नै मार्गदर्शन गरिरहेका सौंठा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राममहतले अथ्र्याउनुभयो, “साबुनपानीले हातधुने र हातलाई स्वस्थ राख्ने राष्ट्रिय महाअभियानमा हामीले एक इँटा थप्ने प्रयास मात्र गरेका थियौं । समुदायको सहभागिताले यो भव्य बनिदियो ।”
सरसफाइनमूना समुदाय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण तिम्सिना समेत हातधुने अभियानको सफलता र रौनकबाट उत्साहित हुनुभयो । “आफ्नो घरमा दुई खाल्डे चर्पी बनाउन बाँकी घरधुरीले समेत यस कार्यक्रममा सहभागी भैसकेपछि सफा र स्वच्छ घरका सबै सूचकहरु एक हप्ताभित्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो”, तिम्सिनाले भन्नुभयो, “पूर्ण सरसफाइलाई सवालको रुपमा स्थापित गर्नका लागि समेत यसले ठूलो बल दिएको छ ।”
५८ घरधुरी रहेको जोरपैनीमा पूर्ण सरसफाइ अभियान थालनी हुँदा एक घरमा शौचालय थिएन भने ७ घरका शौचालय प्रयोगमा थिएनन् । “अहिले सबै घरमा शौचालय बनेर प्रयोगमा आइसकेका छन्”, पूर्ण सरसफाइ सहजकर्ता विमला खतिवडाले भन्नुभयो, “सबै घरधुरीले बच्चाको दिसालाई चर्पीमा नै बिसर्जन गनर्नुहुन्छ ।”

टोललाई सफा र स्वच्छ क्षेत्रको रुपमा विकास गरेपछि पूर्ण सरसफाइ अभियानको सिकाइ केन्द्रको रुपमा अगाडि बढाउने योजना वडा र टोलको रहेको छ ।
“सरसफाइलाई जीवन संस्कारको रुपमा अंगालेको सुन्दर बस्तीको रुपमा विकास गर्ने योजना टोलको रहेको छ, यसमा वडाले समेत हामीलाई हौसला दिइरहनुभएको छ”, टोल समितिका सदस्य इन्दिरा पौडेल घिमिरे भन्नुहुन्छ, “टोलमा सञ्चालन गरिने सरसफाइ श्रोत केन्द्रलाई नगरपालिकाकै समृद्ध सरसफाइ श्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ ।”
वडाको सवल नेतृत्व, समुदायको साथ

सरसफाइ अभियानमा वडाले नेतृत्व लिएको छ, समुदायलाई हौसला दिइरहेको छ । “यस टोलमा एक खाल्डे चर्पी भएका १३ घरधुरीलाई दुई खाल्डे बनाउनका लागि आवश्यक पर्ने रिङहरु ३० प्रतिशत छुटमा वडाले उपलब्ध गराएको छ”, रतुवामाई–६ का वडा अध्यक्ष तुलाराम लुइटेलको भनाइ छ, “वडालाई सरसफाइमा नमूना बनाउनका लागि गर्नुपर्ने सबै काम गर्न वडा प्रतिवद्ध छ ।”
समुदायले समेत अहोरात्र खटेर पूर्ण सरसफाइ अभियानलाई अघि बढाइरहेको छ । “यहाँका प्रत्येक घरधुरीको सरसफाइको अनुगमन गरी अनुगमन तालिकामा अंक भरिरहेका छौं”, टोल समिति सदस्य मेनुका महतले भन्नुभयो, “सुधार गर्नुपर्ने सूचकहरुको बारेमा घरधुरीलाई जानकारी गराएर कहिलेसम्म सुधार ल्याउने हो, सोको प्रतिवद्धता समेत अनुगमनकै क्रममा लिन्छौं ।”
न धान थन्क्याउने चटारोले छोएको छ, न त चाडवाडले नै । “हामीले असोज मसान्तभित्र सबै घरमा संरचना निर्माणका काम पूरा गराउने र वडाबाट अन्तिम अनुगमन गर्ने योजना छ”, सदस्य सागर भण्डारी भन्नुहुन्छ, “संयुक्त अनुगमनका क्रममा सफा र स्वच्छ क्षेत्र सहित सरसफाइ नमूना गाउँ घोषणा गर्न सक्ने देखिएमा पूर्ण सरसफाइको दोस्रो चरणको योजना बनाएर वडाका अन्य टोलसहित सिंगै वडालाई सरसफाइ नमूना बनाउने कार्यमा यस टोलले नेतृत्व लिन्छ ।”
पूरा हुँदै सफा र स्वच्छ घरका सूचक
५८ घरधुरी रहेको जोरपैनी मात्र होइन, वडा र रतुवामाई नगरपालिका भरी नै पूर्ण सरसफाइ अभियान सञ्चालन छ । प्रदेश सरकारले आफ्नो वार्षिक नीति कार्यक्रममा नै ‘प्रदेश नं. १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिने’ विषय समेटेको छ । त्यसैले पनि, यहाँका सबै स्थानीय तहहरुलाई पूर्ण सरसफाइ अभियान सञ्चालन, खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयारी र वार्षिक नीति कार्यक्रममा पूर्ण सरसफाइका लागि निर्दिष्ट बजेटको व्यवस्था गर्नु अनिवार्य बनेको छ ।

जोरपैनी टोलका ५८ घरधुरीमा सफा र स्वच्छ क्षेत्रका ९५ प्रतिशत सूचकहरु पूरा भैसकेको र बाँकी ५ प्रतिशत सूचक समेत यही १ साताभित्र पूरा गर्ने तरखरमा टोल रहेको छ । “१९ घरमा हातधुने निश्चित स्थान थिएन भने १६ घरधुरीले पानी शुद्धीकरण नगरी पिउने गर्नुहुन्थ्यो”, सहजकर्ता विमला खतिवडाको भनाइ छ, “४१ घरधुरीका महिलाहरुले महिनावारीको समयमा प्रयोग गरेको स्यानिटरी प्याडलाई निश्चित स्थानमा सुरक्षित तरिकाले विसर्जन गर्ने अभ्यास थिएन ।”अहिले यी सबै सूचक पूरा भैसकेको समेत उहाँले बताउनुभयो ।
व्यक्तिगत सरसफाइ, पानीको शुद्धीकरण, खानाको स्वच्छता, ठोस फोहरको वर्गीकरण र व्यवस्थापन, खोर गोठको व्यवस्थापन लगायतका सूचक पूरा भैसकेका छन् । एक खाल्डे चर्पीलाई दुई खाल्डे सुरक्षित चर्पीमा बदल्ने काम धमाधम भैरहेको छ । “यो पनि एक हप्ताभित्रै पूरा गरेरै छाड्छौं”, टोल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण तिम्सिनाको प्रतिवद्धता छ ।
संस्कारयुक्त सुन्दर बस्तीको सपना

टोलको अल्पकालीन पूर्ण सरसफाइ योजना त तयार छ, तर दीर्घकालीन योजना तयार गर्नका लागि सबैको साथ खोजिरहेको छ । “सफा र स्वच्छ क्षेत्र बनाएपछि हामीले टोलको दीर्घकालीन योजना तयार गरेर कार्यान्वयनमा ल्याउने सोंच रहेको छ”, टोलका अगुवा समेत रहेका सौंठा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम महतको भनाइ छ, “पछि यही टोललाई नै टोल विकास संस्थाको रुपमा अघि बढाउछौं, र सरसफाइ प्रबर्द्वनको माध्यमबाट सामाजिक समुन्नति नै हाम्रो दीर्घकालीन लक्ष्य हो ।”
“धुलो धुवाँ, प्रदूषण र फोहरमुक्त, सभ्य नागरिकको बसोबास भएको, सुसंस्कृत नमूना बस्ती बनाउन हामी सबै प्रतिवद्ध छौं”, महतको भनाइ छ, “आउँदो पिढीले टोल र वडाको नाममा गर्व गर्ने दिन आवस् ।”
टोलवासीका धेरै ठूला सपना भने छैनन्, तर स्पष्ट मार्गचित्र भने सबैको मानसपटलमा कोरिइसकेको छ । “पूर्ण सरसफाइका बारेमा छलफल गर्ने छलफल चौतारी होस्, सिक्ने र सिकाउने श्रोत केन्द्र सञ्चालनमा रहोस्”, समुदायको भनाइ छ, “अनुशासित र सामाजिक सौहाद्र्धता सहितको सरसफाइ पाठशाला बनोस् हाम्रो टोल ।”
कोही नछुटून्
साबुनपानीले हातधुने अभियानलाई राष्ट्रिय गौरव, प्रतिष्ठा र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अभियानको रुपमा लिएको छ, जोरपैनीले समेत । “साबुनपानीले हात धुवाउनु मात्र महत्वपूर्ण कुरा होइन, घरधुरीमा हातधुने निश्चित स्थान र सामग्रीको व्यवस्थाका साथै नियमित रुपमा हातधुने अभ्यास समेत हुनुपर्छ”, टोल सरसफाइ व्यवस्थापन समितिका सदस्य समेत रहेका स्थानीय युवा सागर भण्डारीको भनाइ छ, “यसका लागि हामीले अन्य टोल र अन्य वडालाई समेत सहयोग गर्न तयार छौं ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले विश्व हातधुने दिवस एवम् हातधुने राष्ट्रिय अभियानमा सबै घरधुरीलाई समेटेर हातधुने अभियान सञ्चालन गर्न सबै स्थानीय तहलाई परिपत्र समेत गरिसकेको छ । रतुवामाई नगरपालिकाले समेत सबै वडामा साबुनपानीले हातधुने अभियानको औपचारिक थालनी गरिसकेको छ र कार्तिक १२ गते सम्ममा नगरपालिकाका सम्पूर्ण घरधुरीमा साबुनपानीले हातधुने अभियान पुर्याउनुका साथै साबुनपानीले हातधुने निश्चित स्थानको व्यवस्था गर्न अभियान सञ्चालन गरिरहेको छ । “हामीले प्रत्यक्ष रुपमा पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने र नगर्ने सबै वडामा हामीले हातधुने अभियान सहजीकरण गरिरहेका छौं”, पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था नारी विकास संघका टोली प्रमुख हिमांशु यादवको भनाइ छ, “जिल्लाको अभियानमा कोही पनि नछुटून् भन्नेमा हामी पनि सचेत छौं ।”


3574 पटक हेरिएको 

