विद्यालयमै बन्छ स्यानिटरी प्याड, छिमेकी विद्यालयलाई समेत वितरण गर्ने तयारी


सोलुखुम्बु : सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालयले कपडाको स्यानिटरी प्याड उत्पादन गर्न सुरु गरेको छ । स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थ प्याड उत्पादन गरी विद्यालयले करिब ३ सय छात्राहरुलाई वितरण गरिसकेको छ । सहयोगी संस्था हिमालयन केयर फाउन्डेसनको ब्यवस्थापनमा विद्यालयले गत बर्षको हिउँदे विदामा एक जना शिक्षिका र दुई जना छात्रालाई तालिमका लागि काठमाडौ पठाएको थियो । प्याड उत्पादन सम्बन्धी सीप सिकेर फर्केपछि विद्यालय आफैले सुति र फलाटिनको कपडाबाट प्याड तयार पारिएको विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङले जानकारी दिनुभयो । प्याड बनाउन फलाटिन कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । जसले रगत सोस्ने गर्छ ।

बजारमा पाईने तयारी प्याड भन्दा कपडाको प्याड बढी वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा कम खर्चिलो हुने उहाँले बताउनुभयो । कपडाको प्याड धोएर सुकाएपछि पुनः प्रयोग गर्न मिल्ने भएकाले कम खर्चिलो तथा वातावरणमैत्री हुने प्रधानाध्यापक तामाङले बताउनुभयो । बजारमा पाईने प्याड नकुहिने भएकाले जथाभावी फाल्दा वातावरण प्रदुषण हुने गरेको छ ।

बजारमा पाईने प्याडको तुलनामा आर्थिक रुपमा किफायती मानिएको यो प्याड स्वास्थ्यको दृष्टिकोणले समेत त्यत्तिकै प्रभावकारी हुने स्वास्थ्कर्मी विनु मोक्तानले बताउनुभयो । उहाँका अनुसार घरेलु प्याडलाई साबुन पानीले राम्रोसँग धोएर प्रयोग गरेको खण्डमा एउटै प्याड २ बर्षसम्म प्रयोग गर्न मिल्छ । विद्यार्थीसँग भनेको समयमा प्याड किन्ने पैसा समेत नहुने भएकाले पुन प्रयोग गर्न मिल्ने प्याड सहज हुने उहाँको भनाइ छ । पैसा भएपनि बजारमा पाईने प्याड प्रयोग गरिसकेपछि कहाँ फाल्ने भन्ने चिन्ता हुने विद्यालयकी छात्रा समिक्षा कुलुङले बताउनुभयो । यो प्याडलाई धोएर पटक पटक प्रयोग गर्न सकिने भएकाले अब सजिलो हुने भएको छ । उहाँले भन्नुभयो ।

विद्यालयमा उत्पादित प्याड छिमेकी विद्यालयहरुलाई समेत वितरण गर्ने योजना बनाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । नगरपालिकाले फोहोर ब्यवस्थापनका निम्ति घरेलु स्यानिटरी प्याड प्रयोगलाई जोड दिदै नगरका केही विद्यालयहरुमा वितरण गरिरहेको छ । तर प्याड भन्दा पनि सीप महत्वपुर्ण भएकाले विद्यालयले छात्रा आफैलाई प्याड तयार गर्ने तालिम दिने योजनालाई पहिलो प्राथमिकतामा राखेको समितिका अध्यक्ष शेर्पाले बताउनुभयो ।

तालिम प्रदानका लागि करिब १ लाख लगानी भएको विद्यालयले जनाएको छ । जसबाट सिलाउने मेसिन र कच्चा कपडा समेत खरिद गरिएको छ । गार्मा मा.वि. मा अध्ययनरतबाली विज्ञान र अपांगता भएका विद्यार्थीहरुले समेत स्यानिटरी प्याड बनाउने तालिम लिइरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार