चर्पी होइन खर्चिलो, अपाङगता भएका व्यक्तिलाई सजिलो

 316 पटक हेरिएको


♦ अर्जुन दाहाल

“शौच गर्न हामीजस्तो जहाँसुकै जान नसक्नेका लागि त चर्पी नभइ नहुने कुरा रहेछ, चर्पी बनेपछि मलाई धेरै राहत भएको छ, चर्पीले दिएको सुविधाको तुलनामा त यो खर्च धेरै पनि होइन” उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

४५ वर्षका राजकुमार सदाको बासस्थान नजिकै कमला नदी छ, जुन नदीले धनुषा र सिरहा जिल्लाको सीमाको पनि काम गरेको छ । नदीका कारण सदाको गाउँ रसिलो र हराभरा छ । तर नदीबाट गाउँलेहरूले फाइदा मात्रै लिएका छैनन्, सास्ती पनि खेपेका छन् । दश वर्ष अघि बर्खायाममा नदी गाउँ पसेर बितण्डा मच्चाएपछि राजकुमार अरू
कैयन गाउँलेसँगै आफ्नो पुख्र्याैली थलो छाडन बाध्य हुनुभयो ।

पुर्ख्यौली थलो नदीले निलेपछि सदाले अहिलेको बासको जोहो गर्नु भएको थियो । तत्कालीन इनर्वा गाविसको मल्हनिया गाउँमा पुगनपुग तीन धुरमा बनेको झुपडी र त्यसले चर्चेको जग्गामात्रै उहाँको नामको सम्पत्ति हो । एउटा खुट्टो पोलियोले गर्दा पूरै सुकेकाले उहाँलाई दैनिक कामकाजमा पनि समस्या पर्ने गर्छ । उहाँ यस्तो अवस्थामा पनि खेती मजदुरीको काम गर्नुहुन्छ । एक छोरी र दुई छोरा सहित पाँच जनाको परिवार पाल्नुपर्ने मुख्य जिम्मेवारी उहाँकै काँधमा छ ।

सदाको गाउँमा ३५ घरधुरीको बसोबास छ । विकासका पूर्वाधारहरूको ज्यादै कमी रहेको यस गाउँमा एक वर्ष अघि समाज उत्थान युवा केन्द्रले ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम अन्तर्गत खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्‍यो । अभियान शुरु भएपछि उहाँको घरमा पनि चर्पी बनाउनका लागि गाउँलेहरू र संस्थाका सरसफाइ प्रज्ज्वलक
आएर चर्पीको महत्व बताए । एउटा चर्पीका अनेकौं फाइदा देखेपछि उहाँले चर्पी निर्माण गर्नुभयो । चर्पी बनाउँदा रिङ ढकनका लागि २ हजार ५ सय, खाल्डो खन्नका लागि ज्यामीको ५ सय, ८ सय रूपैंयाको बाँस, छानामा प्रयोग हुने एल्भेष्टर किन्नका लागि ५ सय र प्यान सिमेन्ट अन्य सामग्री समेत गरी जम्मा १० हजार रूपैयाँ खर्च भएको राजकुमारले बताउनु भयो । “शौच गर्न हामीजस्तो जहाँसुकै जान नसक्नेका लागि त चर्पी नभइ नहुने कुरा रहेछ, चर्पी बनेपछि मलाई धेरै राहत भएको छ, चर्पीले दिएको सुविधाको तुलनामा त यो खर्च धेरै पनि होइन” उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

राजकुमारलाई सहयोगको आशा देखाउनेहरूको भर लाग्दैन । धेरै मानिसहरू आएर नाम टिपेर लगे । ह्विलचेयर दिने भनेर गएका कोही फर्किएर आएका छैनन् । सहयोग पाउनु त परैको कुरा, हालसम्म उहाँको अपाङ्ग परिचय पत्र पनि बन्न सकेको छैन । राजकुमारका छिमेकी डोम सदा पनि पोलियोका कारण अपाङ्गता ब्यहोर्न बाध्य हुनुहुन्छ ।
उहाँको घरमा पनि भर्खरै मात्र चर्पी निर्माण भयो । “शुरुमा मान्नुभएन तर सरसफाइको महत्व बुझेपछि आफै चर्पी बनाउनुभयो” सरसफाइ प्रज्ज्वलक शिव लखन यादवले भन्नुभयो “चर्पीका लागि खर्च गरेको रकम कमाउन उहाँलाई पाँच महिनाभन्दा धेरै समय लाग्यो ।” सरसफाइ अभियान शुरु भएपछि गाउँपालिकाका सम्पूर्ण घरमा चर्पी बनेर प्रयोग हुन थालेको जानकारी पनि उहाँले दिनुभयो ।

खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्तबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार