सरसफाइ तथा स्वच्छता कोष लगानी वृद्धि गर्न महत्वपूर्ण : विश्व नेता

जेनेभा : संयुक्त राष्ट्र संघका उपमहासचिव अमीना जे मोहम्मदले सबैजनालाई सरसफाइ सुविधामा सहज पहुँचका निमित्त सरसफाइ तथा स्वच्छता कोषले लगानी वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताएकी छिन् । यो कोषले नयाँ लगानी संयन्त्रको रूपमा सरसफाइको क्षेत्रमा अर्बौं अमेरिकी डलर भित्र्याउने कुरा कोषको उद्घाटन कार्यक्रममा बताइन् ।


अमीना जे मोहम्मद, संयुक्त राष्ट्र संघको उपमहासचिवले सुरक्षित सरसफाइ र स्वच्छता सर्वप्रथम त यो मानव प्रतिष्ठासँग सम्बन्धित छ र अर्को यो एक स्वास्थ्य समस्या पनि हो भनिन् । कोरोना महामारीले सरसफाइ र स्वच्छताले विभिन्न रोगहरूको संक्रमण रोक्न सक्छ भन्ने आधारभूत कुरा प्रवाहित गरेको छ तर यसले सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यको क्षेत्रमा गहिरो असमानताहरू रहेको कुरा उजागर गरेको छ ।  आधारभूत हात धुने सुविधा र शौचालयको सहज पहुँच दिगो स्वास्थ्य समुदायको सूचक रहेको कुरा उपमहासचिवले व्यक्त गरिन् ।

यो अनलाइन उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय सञ्चारकर्मी जेनव बडाबीले सञ्चालन गरेकी थिइन् र यो कार्यक्रम यो कोषको वेबसाइट र यसको युट्युबमा उपलब्ध छ ।

कोषले सबैका लागि सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका लागि ५ वर्षका लागि २ अर्ब अमेरिकी डलरको अपेक्षा गरेको छ ।

‘हामीलाई थाहा छ कि पैसाको सही सदुपयोग भयो भने, यसले सकारात्मक र दिगो परिवर्तन ल्याउन मद्दत गर्दछ ।’ यो कोषको कार्यकारी निर्देशक डोमिनिक ओ निलले बताए । ‘यो स्वास्थ्य सुधारका लागि संघर्ष मात्र नभएर यो आदर र आधारभूत मानव अधिकारका लागि लडाइँ पनि हो र कलंकको अन्त पनि हो ।’

नाइजेरियाका उपराष्ट्रपति यमी ओसिनपाजोले सो कार्यक्रममा यो सरसफाइ र स्वच्छता कोष धेरै कुरामा जीवन रक्षकको रूपमा आएको कुरा बताए । ‘सबैभन्दा मन परेको यसको विशेषता भनेको यसका उपलब्धिहरू मापनयोग्य छन् ।’

 

युनिसेफका कार्यकारी अध्यक्ष हेनरिता फोरले सरसफाइ र स्वच्छतालाई बच्चाहरूका लागि महान् बराबरीको रूपमा व्याख्या गरेकी छिन् ।
‘बन्दाबन्दीमा तपाईंले कसरी सामना गर्नुहुन्छ यदि परिवारमा शौचालय नै छैन भने ? यो विशेषतः महिलाहरू र युवतीहरूलाई गाह्रो हुन्छ । यदि सबैको घरमा, विद्यालयमा, समुदायमा र स्वास्थ्य सेवा केन्द्रहरूमा सरसफाइ र स्वच्छताको सहज पहुँच भएमा यसले विश्वमा ठूलो फरक पार्नेछ,’ उनले भनिन् ।

‘राम्रो सरसफाइ सार्वजनिक सरोकारको विषय हुनुपर्छ । सरकारहरूले सरसफाइ आफ्नो समस्या हो भन्ने कुरा आत्मसात गर्नुपर्छ र उनीहरूसंग यी समस्याहरुको कुनै न कुनै उपायहरु हुन्छन्,’ फोरले भनिन् ।

हाल विश्वका आधाभन्दा बढी जनताहरूको सुरक्षित र व्यवस्थित सरसफाइमा पहुँच छैन । ६२ करोड बालबालिकाहरू उपस्थित हुने विद्यालयमा शौचालय छैनन् । ३ मध्ये १ विद्यालयमा आधारभूत सरसफाइ तथा स्वच्छता सेवाहरू र ५ मध्ये १ स्वास्थ्य सेवा केन्द्रहरूमा कुनै पनि सरसफाइ सुविधा उपलब्ध छैनन् ।

यो कोष यूएनओप्सको मातहतमा रहन्छ । यूएनओप्सकी कार्यकारी निर्देशक ग्रीट फोरेमोले उपयुक्त सरसफाइ हरेक व्यक्ति, समुदाय र घरको विकासको मूल भागमा रहेको कुरा जानकारी दिइन् । ‘यूएनओप्स र यसका पूर्वाधारले शिक्षाचाहिँ उपयुक्त सरसफाइ सुविधामा केन्द्रित रहोस् भन्ने निश्चित गर्दछ ।

यद्यपि, अहिले प्रगतिको गति हेर्ने हो भने दिगो विकास लक्ष्यहरू ६.२ सबैलाई सरसफाइ तथा स्वच्छता २२औं शताब्दीसम्म पनि पूरा हुँदैन । यसको मुख्य कारण नै विगतका दशकहरूमा यस क्षेत्रमा न्यून लगानी हुनु हो । यसले देशको र समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक उपलब्धिहरूमा नकारात्मक असर पर्दछ । सरसफाइ र स्वच्छताका क्षेत्रमा ठूला आकारका लगानीहरूको जरुरत छ ।

‘अहिलेको विश्वमा जहाँ कोरोनाको महामारीमा सामाजिक र आर्थिक समस्या बेहोरिरहेको अवस्थामा यो कोष एउटा आशावादी संकेत हो । तुरुन्त अझ बढी गर्नुपर्ने अवस्था छ । यो कोषले सरसफाइ, स्वच्छता तथा महिनावारी व्यवस्थापनमा आवश्यक लगानी ल्याउनेछ ।’ गिलबर्ट होङ्गबो, यूएन वाटरका प्रमुख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका निर्देशकले भने ।

यो कोषले नेपाल लगायत अरू देशहरूमा जहाँ सरसफाइ तथा स्वच्छताको क्षेत्रमा ठूलो समस्या छ त्यहाँ सरसफाइ, स्वच्छता, महिनावारी स्वास्थ्य र नयाँ आविष्कारमा सहयोग प्रदान गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार