जाडोमा कोरोना संक्रमणको जोखिम बढ्दो, हातको सफाइमा ध्यान दिन विज्ञको आग्रह

🔗
20
Shares

काठमाडौ : कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनु पर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ ।

भाइरस जाडोमा बढी सक्रिय हुने र शरीरमा भाइरससँग लड्ने रोगप्रतिरोधात्मक क्षमता पनि कम भएकाले भाइरसलाई जित्ने अवस्था हुँदैन । जाडोमा वृद्धवृद्धाको श्वासप्रश्वासमा समस्या बढ्दै जान्छ । यो समयमा भाइरस लोडसमेत बढी हुने भएकाले वृद्धवृद्धा र दीर्घरोगी यसको सिकार बन्न सक्छन् । जाडो नहोस् भनेर एउटै कोठामा बस्ने, झ्यालढोका लागाउने गरिन्छ, जुन स्वास्थ्यका हिसाबले घातक हुने चिकित्सकहरू बताउँछन् ।

कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताउनुभयो । महामारीको सुरुवातमा भएका केही अध्ययन अनुसार चिसो मौसममा कोभिड भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ । संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ ।

कान्ति बाल अस्पतालका निर्देशक एवं बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल अन्तर्राष्ट्रिय अध्ययन अनुसार कोरोनाका लागि जाडो मौसम प्रतिकूल छ भन्नुहुन्छ । उहाँले बालबालिकामा पनि टन्सिल, ब्रोनकाइटिस, स्वासप्रस्वास जस्ता समस्या देखिने भएकाले अति सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

जाडोमा शरीरमा सुक्खापन हुने र शरीरको श्वासप्रश्वास प्रणालीमा हुने कोषिकाहरू कम सक्रिय हुँदा शरीरमा लामो समयसम्म कोरोनाभाइरस रहने बताउनुभयो । अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार