हरिवन (सर्लाही) : महिनावारीको बिषयमा कुरा गर्दा पछ्यौरीले मुख छोप्ने सर्लाही हरिवन नगरपालिका– ८ की दिपिका विक अचेल महिनावारीको बिषयमा खुलेर छलफल चलाउनुहुन्छ । ११ कक्षामा अध्ययनरत दिपिका महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहमा सदस्य हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले मात्र बुझेर पुगेन, दिदी बहिनीलाई बुझाउनका लागि छलफल चलाउने गरेकी छु ।”
थालनीका दिनमा लाज लाग्ने गरे पनि, अहिले महिनावारीको विषयमा तालिम, छलफल र अभिमुखीकरणमा सहभागी हुँदै जाँदा संकोच लाग्न छोडेको उहाँको बुझाइ छ । “सहभागिता र मौनताको संस्कार तोड्ने कार्यले नै सबैलाई महिनावारीको बारेमा सही कुरा बुझ्न सघाउने रहेछ”, उहाँको भनाइ छ ।

यू.एन. ह्याबिट्याटका सर्लाही जिल्ला संयोजक दिपेन्द्र ठाकुर सहभागितामूलक अभियानहरुले तराई मधेशका समुदायमा मौनताको संस्कृति तोड्दै गएको बताउनुहुन्छ । “महिनावारीको बारेमा महिलाले आफ्ना श्रीमान्सँग सामान्य कुरा गरे पनि अरुसँग कुराकानी नै हुँदैनथ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले महिनावारीको समयमा ध्यान दिनुपने कुराहरु, महिनावारीको समयमा सरसफाइ, सुरक्षित प्याडको प्रयोग, प्याडको उचित विसर्जन, परिवारका सदस्यहरुको भूमिका लगायतका विषयमा खुलेर कुराकानी हुन्छ ।” रोचक पक्ष त केही समय अघिसम्म छलफल नै नहुने महिनावारीको बारेमा अहिले समुदायमा तीन पुस्ता सँगसँगै बसेर समेत छलफल हुने गरेको छ । हजुरआमा र नातिनीहरु सहभागी भएको छलफल कार्यक्रम छोरी पुस्ताले सहजीकरण गरिरहेका छन् ।
तराई मधेशमात्र होइन, मध्य र उच्च पहाडी जिल्लाहरुमा समेत अवस्था बदलिएको छ । “केही वर्ष अघिसम्म पनि हिडाइ, लवाइ, बसाइले र सामुहिक जमघटहरुमा हुने उपस्थितिबाट समेत कुन महिलालाई महिनावारी भएको छ भनेर सहजै अनुमान गर्न सकिन्थ्यो”, प्रकाश सचेतन समूह अर्घाखाँचीका कार्यकारी निर्देशक प्रेमनारायण गैरे भन्नुहुन्छ, “महिनावारीकै कारण सामाजिक सहभागितामा कमीको अवस्था करिब अन्त्य भएको छ ।”
महिनावारीका विषयमा कार्यक्रम नै कार्यक्रम
महिनावारीको सवाल विषयको गहनताका हिसावले आफैमा एक अलग्गै विषय त हो नै, सँगसँगै बालअधिकार, महिला अधिकार, मानवअधिकार, स्वास्थ्य अधिकार, सरसफाइ तथा स्वच्छताको अधिकार, सहभागिताको अधिकार, संस्कार तथा संस्कृतिको अधिकार, शिक्षाको अधिकार, बाल अधिकार अन्तर्गत पनि बाँच्न पाउने अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार लगायत दर्जनौं विषयसँग जोडिएको छ । दिगो विकास लक्ष्यले जोडतोडका साथ उठाएको ‘विकासको प्रतिफलमा कोही नछुटून्’ र ‘समानता एवम् समावेशीकरण’ ले महिनावारीको सवाललाई सबैको प्राथमिकताको विषय बनाइदिएको छ ।

पूर्ण सरसफाइ तथा स्वच्छतामा क्रियाशील हुनेहरुका लागि त महिनावारी स्वच्छता एक प्रमुख सूचकको रुपमा रहेको बताउनुहुन्छ बाग्मती सेवा समाज नेपाल सर्लाहीका कार्यकारी निर्देशक निरज भण्डारी । “हामीले पनि विद्यालयमा किशोर र किशोरीहरु तथा समुदायमा अभिभावक र छोरीहरुलाई सँगसँगै राखेर महिनावारी सरसफाइ, स्वास्थ्य र स्वच्छताका विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेका छौं”, भण्डारी भन्नुहुन्छ, “यसरी संयुक्त सहभागितामा कार्यक्रम सञ्चालन गर्दा साथीसंगी र परिवारका सदस्यहरुबीच छलफलको वातावरण सृजना हुनेरहेछ ।”
पछिल्लो समय महिनावारी स्वच्छता तथा स्वास्थ्य सबैको चासोको विषय बन्न थालेको छ । नेपाल सरकारले विद्यालयमा अध्ययनरत किशोरीहरुको महिनावारी स्वच्छता व्यवस्थापनमा सघाउने उद्धेश्यले सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ जारी गरेको छ । यसैगरी, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिले तोकेका विद्यालय सरसफाइका १० सूचकमध्ये २ वटा मुख्य सूचक महिनावारी स्वच्छताका रहेका छन् । स्थानीय तहहरुले महिनावारी स्वच्छता कार्यविधि र मार्गदर्शन तयार गरी कार्यान्वयनमा ल्याइरहेका छन् । देशभर २ सय ५० भन्दा बढी स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि, स्वास्थ्य तथा सरसफाइ ऐन, महिनावारी स्वच्छता मार्गदर्शन लगायतका नीतिगत व्यवस्थाभित्र महिनावारी स्वच्छतालाई समेटेका छन् ।
समुदाय र विद्यालय तहमा कार्यक्रमहरुको बाढी नै लागे पनि, परिवारभित्र पुस्तौली ज्ञान हस्तान्तरण र परिवारका सदस्यहरु बीच छलफल भने कम मात्र हुने गरेको बताउनुहुन्छ नारी विकास संघ मोरङका पूर्ण सरसफाइ अभियान टिम लिडर हिमांशु यादव । “हाम्रो ठाउँमा हेर्ने हो भने आमा र छोरी बीच अझै पनि खुलस्त रुपमा महिनावारीको बारेमा छलफल हुँदैन”, यादवको भनाइ छ, “महिनावारी स्वच्छता व्यवस्थापन परिवारका सबैको सामुहिक सरोकारको विषयको रुपमा व्यवहारिक रुपमा स्थापित हुन अझै बाँकी छ ।”
विद्यालय तहमा आशालाग्दो थालनी, तर कार्यविधिले समेटेन संस्थागत विद्यालयलाई
महिनावारी स्वास्थ्य, सरसफाइ तथा स्वच्छता सम्बन्धी भ्रम र अन्धविश्वासहरुलाई चिर्दै स्वस्थकर व्यवहार र मर्यादित सामाजिक वातावरण सजना गर्नका लागि विद्यालयलाई प्रवेश विन्दुको रुपमा लिइन्छ । यसैलाई आत्मसाथ गर्दै स्थानीय सरकारहरुले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि कार्यान्वयनमा ल्याइरहेका छन । प्रदेश सरकारहरुले समेत यस वर्षदेखि ‘विद्यालय नर्स’ कार्यक्रमलाई प्राथमिकताका साथ समेटेका छन् । सेनिटरी प्याड कार्यविधि अनुरुप स्थानीय तहहरुले विद्यालयहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइरहेका छन् भने केही विद्यालयले पाठ्यक्रमका अलावा स्थानीय पाठ्यक्रम र व्यवहारिक शिक्षाको रुपमा महिनावारी सरसफाइ तथा स्वच्छतालाई समेत समावेश गरिरहेका छन् ।

“कक्षा ५ देखि ८ को पाठ्यक्रममा चाहिं विशेष गरी बालिकाहरुलाई महिनावारीका लागि पूर्व तयारी गराउने, महिनावारीको समयमा आउन सक्ने समस्या र समाधानको उपाय जस्ता बिषयलाई समेटेका छौं”, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत सुमन सिलवालको भनाइ छ, “पाँचमा सामान्य सरसफाइका कुराहरु, त्यसपछि क्रमिक रुपमा महिनावारी सम्बन्धी अन्य व्यवस्थापकीय कुराहरु, महिनावारी सम्बन्धी भ्रमहरु, अफ्ठ्याराहरु, किशोरकिशोरी, युवायुवती, परिवारको भूमिका जस्ता बिषयलाई समेट्दै क्रमिक रुपमा कक्षा ८ मा चाहिं प्याड व्यवस्थापन गर्ने कुरा, प्याड निर्माण गर्ने कुराहरुलाई पनि समावेश गरिएको छ ।”
यसबाहेक किशोरी केन्द्रित र विद्यालय केन्द्रित कार्यक्रमहरुले समेत महिनावारी स्वच्छतालाई समेटेका छन् । विद्यालयमा किशोरीहरुका लागि ‘आराम कक्ष’ बनाउने कामको थालनी भएको छ, भने पुराना शौचालयहरुलाई मर्मत सम्भार तथा स्तरउन्नति गरी महिनावारीमैत्री बनाउने कामको समेत थालनी भएको छ । महिनावारी उमेर समूहका छात्रा रहेका सबै विद्यालयले एक चक्रका लागि किशोरीलाई १६ वटासम्म सेनिटरी प्याड विद्यालयबाट नै उपलब्ध गराइरहेका छन् । यसबाहेक स्थानीय तहको वार्षिक कार्यक्रममा सामाजिक विकास, शिक्षा, महिला सशक्तीकरण लगायतका शीर्षकमा सेनिटरी प्याड निर्माण तालिम, अभिमुखीकरण, विभिन्न अन्तरक्रिया क्रियाकलाप समेटिएका छन् । विद्यालय नर्स कार्यक्रमले किशोरीहरुलाई महिनावारी, प्रजनन् स्वास्थ्य लगायतका विषयमा पर्याप्त जानकारी पाउने अवसर दिएको छ ।
सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिले सार्वजनिक विद्यालयलाई सम्बोधन गरेको भए पनि संस्थागत विद्यालयहरुलाई भने समेट्न सकेको छैन । सार्वजनिक विद्यालयलाई निःशूल्क सेनिटरी प्याड उपलब्ध गराउने र संस्थागतलाई नगराउने भएपनि, न्यूनतम मापदण्ड, सुविधा र विद्यालयको दायित्व अन्तर्गत कार्यविधिले समेट्नैपर्ने नारी विकास संघका टिमलिडर हिमांशु यादवको राय छ । “सबै संस्थागत÷निजी विद्यालय सुविधा सम्पन्न र त्यहाँ अध्ययन गर्ने छात्राहरु आर्थिक रुपमा सक्षम छन् भन्ने छैन”, उहाँको भनाइ छ, “टहरोजस्ता विद्यालयमा अध्ययनरत ‘छाक टार्न गाह्रो हुने’ वर्गका किशोरीहरु विद्यालय तहका कार्यक्रममा राम्ररी समेटिन सकेका छैनन् ।”
समुदाय र विद्यालयमा सँगसँगै अभियान
विद्यालय र समुदाय दुबै तहबाट सँगसँगै अभियान सञ्चालन गरेर महिनावारी स्वच्छताको गन्तव्य भेट्नुपर्ने राय यस क्षेत्रका विज्ञहरुको छ । “महिनावारीका बारेमा व्याप्त अन्धविश्वास हटाउनका लागि विद्यालय तहमा प्रभावकारी शैक्षिक कार्यक्रमका साथै महिलामैत्री संरचना बनाउनुपर्छ”, राष्ट्रिय महिनावारी सञ्जालका अध्यक्ष गुणराज श्रेष्ठ भन्नुहुन्छ, “समुदाय तहमा सेनिटरी प्याडको आपूर्ति पक्षलाई सहज बनाउँदै महिनावारीलाई महिला अधिकारको विषयको रुपमा उठान गरेर सामाजिक अभियान सञ्चालन गर्नुपर्छ ।”
विद्यालयलाई सिकाइको केन्द्र, स्वास्थ्य संस्थालाई सेवा लिने महिलामैत्री स्थल र समुदायलाई असल अभ्यासको नमूना स्थलको रुपमा विकास गर्नका लागि सहजीकरण भैरहेको बताउनुहुन्छ यू.एन. ह्याबिट्याटका सरसफाइ तथा स्वच्छता विश्लेषक मदनकुमार मल्ल । “समस्या समाधानका लागि बहुसरोकारको विषयलाई बहुक्षेत्रबाट सम्बोधन गरिनुपर्छ”, मल्लको भनाइ छ, “जसको सवाल, उसैको नेतृत्वको अवधारणा अनुरुप समुदाय र विद्यालय दुबै तहमा महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहको गठन, वार्षिक योजना तयारी र कार्यान्वयनमा सहजीकरण गरिरहेका छौं ।”

महिनावारी स्वच्छता प्रवद्र्धनका लागि विद्यालयमा संरचना वा सुविधा निर्माण, अभ्यास र प्रवद्र्धन तीन वटै काममा सहयोग गरिरहेको बताउनुहुन्छ बारा जिल्ला संयोजक उमा सिंखडा । “विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिले तोकेको मापदण्ड अनुसार सरसफाइ सुविधा निर्माणका लागि पैरवी र सहजीकरण गरिरहेका छौं”, सिंखडा भन्नुहुन्छ, “सम्बन्धित स्थानीय तहलाई महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक नीति निर्माणमा समेत सहयोग गरिरहेका छौं ।”
गयललाई शून्यमा झार्न र चर्पी प्रयोगलाई शत प्रतिशत बनाउन चुनौती
समुदाय र विद्यालय तहमा महिनावारी स्वच्छता व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन भैरहँदा महिनावारीको समयमा विद्यालय अनुपस्थित हुने दरमा भने अपेक्षाकृत कमी आउन सकेको छैन । मोरङदेखि पर्सासम्मका १ लाख ३४ हजार ३ सय ८२ घरधुरीमा गरिएको सर्वेक्षण अनुसार महिनावारीको समयमा कुनै न कुनै कारण पछिल्लो एक वर्षमा गयल भएका किशोरीहरुको संख्या ४७ हजार २ सय १४ छ । १६ हजार ७ सय ९२ परिवारका किशोरीहरु आंशिक गयल भएको बताएका छन् भने २३ हहजार ६ सय ७९ परिवारका किशोरी अर्थात् १९.७८ प्रतिशतमात्र महिनावारीका कारण एक दिन पनि विद्यालयमा गयल भएका छैनन् ।

महिनावारीको समयमा हुने छुवाछुतमा उल्लेख्य कमी आएको छ, सार्वजनिक स्थल र कार्यक्रमहरुमा हुने सहभागितामा वृद्धि भएको छ । समुदायमा हुने विवाह, ब्रतवन्ध लगायतका कार्यमा पूजाआजामा नै संलग्न नभए पनि महिनावारीको समयमा सहभागिता भने जनाउने गरेका छन् । तर, १ लाख ३४ हजार ३ सय ८२ घरधुरीमा सोधिएका प्रश्नमा चर्पी हुने घरका पनि १२.५८ प्रतिशत महिलाले महिनावारीको समयमा चर्पीको प्रयोग नगर्ने गरेको बताएका छन् । “कतिपय घरमा प्याड जम्मा गर्ने वा विसर्जन गर्ने ठाउँ हुँदैन, कतिपय घरमा अझै पनि चर्पीभित्र भाँडोमा भरिएको पानी छोइन्छ भन्ने धारणा बाँकी नै छ”, उत्तरदाता महिलाहरुको भनाइ छ, “महिनावारीको समयमा समेत सतप्रतिशत चर्पी प्रयोगका लागि स्थानीय तहहरुले नीति नै बनाएर कार्यान्वयन गर्नुपर्छ ।”
ग्रामीण तहमा आफ्नो रोजाइको सेनिटरी प्याड उपलब्ध नभएको र चाहिएको समयमा किन्न जान नसकेका कारण पनि महिनावारीको समयमा घरमै रहेको कपडा च्यातेर प्रयोग गर्नेहरुको संख्या ठूलो रहेको सर्वेक्षणले देखाएको छ । १ लाख १९ हजार ६ सय ४८ महिनावारी हुने उमेर समूहका महिलाबाट प्राप्त जानकारीलाई आधार मान्ने हो भने ३९.३८ प्रतिशतले कपडाकोमात्र प्रयोग गर्छन् भने २३.८९ प्रतिशतले सेनिटरी प्याडको मात्र प्रयोग गर्छन् । बाँकी ३६.७३ प्रतिशतले बजारमा पाइने तयारी प्याड र कपडा वा कपडाबाट बनाइएको घरेलु प्याड नै प्रयोग गर्छन् ।
विद्यालयमा किशोरीहरुले प्रयोग गरेको सेनिटरी प्याड जम्मा गर्ने भाँडो र व्यवस्थापन गर्ने खाडल हुनुपर्ने प्रावधान कार्यविधिले गरेको छ । यसैगरी, विद्यालयमा बन्ने संरचनाहरु महिनावारीमैत्री हुनुपर्ने मापदण्ड विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिले तोकेको छ । तर पनि, विद्यालयमा पुराना शौचालयहरुलाई मर्मतसम्भार र स्तरोन्नति गरेर महिनावारीमैत्री बनाउने कामको थालनी भए पनि त्यसले तीव्रता पाउन नसकेको नारी विकास संघका टिम लिर हिमांशु यादवको राय छ । “हामीले सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारहरुसँग समन्वय गरेर यसका लागि आवश्यक नीति बनाउन समेत सहजीकरण गरिरहेका छौं”, उहाँको भनाइ छ, “केही स्थानीय तहमा निकै राम्ररी काम भैरहेको छ, तर योजनावद्ध रुपमा स्तरोन्नति हुन भनेको सकेको छैन ।” नयाँ बन्ने संरचनाहरु समेत कतिपय पुरानै डिजाइनमा रहेको र किशोरीमैत्री हुन नसकेको उहाँको धारणा छ ।
महिनावारीका ४ सवाल
महिनावारी स्वास्थ्य र सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्थाले बोक्ने सवालहरु पनि फरक फरक छन् । कोही महिनावारीलाई अधिकारमुखी आँखाले हेर्छन् भने कतिको मत महिनावारीको समयमा स्वच्छता व्यवस्थापनमा मात्र छ । कोही भने महिनावारी मर्यादित हुनुपर्छ र प्याड वितरण गर्दैमा मर्यादित महिनावारी हुन नसक्ने तर्क गर्छन् । अहिलेको अवस्थामा महिनावारीका खास सवालहरु के के हुन् ? राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ :
सवाल १ : महिला अधिकारको विषय
महिलाहरुलाई महिनावारी भएकै कारण छुवाछुतको व्यवहार गर्ने, बाहिर राख्ने, प्रतिवन्ध लगाउने, पहुँचबाट बाहिर राख्ने गरिएको छ । यो सामान्य प्राकृतिक प्रक्रिया मात्र थियो तर धेरै कुराबाट महिला प्रतिबन्धित छ । महिलाहरुको स्वतन्त्रता खोसिएको छ, छुवाछुत गरिएको छ, बाहिर निकालिएको छ । हेला गरिएको छ । यो कुराले गर्दा महिलाहरु ससम्मान बाँच्न पाउने अधिकारबाट बञ्चित भएका छन् । त्यसैले यो महिला अधिकारसँग सम्बन्धित छ ।
सवाल २ : स्यानिटरी प्याडको सर्वसुलभ उपलब्धता
अहिले पनि प्याड र सुरक्षित कपडामा सबै महिलाहरुको पहुँच छैन । सहरी इलाकाका महिलाहरुको पहुँच भए पनि दुर्गम ठाउँका महिलाहरुको अहिलेसम्म पहुँच पुग्न सकेको छैन, जसले गर्दा प्याडको प्रयोग गर्न पाउने सुविधाबाट पनि बञ्चित भएका छन् । सेनिटरी प्याड उत्पादन गर्ने कम्पनीहरुलाई राज्यको तर्फबाट प्रोत्साहन गरिनुपर्छ । आयातित महंगो सामानमा सर्वसाधारणको पहुँच पुग्दैन । प्याडमा पहुँच नपुग्दा फोहोर कपडाहरु प्रयोग गर्दा महिला स्वास्थ्यमा नकारात्मक असर परेको छ । तसर्थ प्याड सर्वसुलभ तरिकाले नपाउँदा महिला स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि पनि प्याडलाई सरल, किफायती, सुलभ बनाइनुपर्छ ।
सवाल ३ : विद्यालयमा बनाइने संरचनाहरु महिलामैत्री हुनुपर्ने
प्रायः सामुदायिक विद्यालयहरुमा खानेपानी तथा सरसफाइका लागि आवश्यक पानीको सुविधा हुँदैन । चर्पीको राम्रो व्यवस्था छैन । गाउँघरमा प्याड नहुँदा कपडा लगाउनुपर्ने वाध्यता छ । त्यसलाई सफा गर्नुपर्छ । पानी र चर्पीको अव्यस्थाले गर्दा किशोरीहरु महिनामा तीन चार दिन अनुपस्थित हुने र यसले गर्दा छात्रहरुसँग प्रतिस्पर्धा गर्न नसकेको विभिन्न अध्ययनले देखाएको छ । महिला शिक्षामा पनि यसले धेरै असर पारिरहेको छ । त्यसैले विद्यालयमा बन्ने हरेक संरचनाहरु महिलामैत्री हुनुपर्छ ।
सवाल ४ : महिनावारी सम्बन्धी अन्धविश्वास हटाउन शैक्षिक कार्यक्रम
महिनावारीको विषयमा पर्याप्त ज्ञान दिलाउन शिक्षामा कमी देखिएको छ । अहिले पनि कैयौं समुदायमा महिनावारीलाई धर्म, संस्कार, पवित्रता र अपवित्रताको विषय बनाइएको छ । महिनावारी सम्बन्धी भ्रम तोड्न बालबालिकाको पाठ्यक्रममा समावेश गर्न सके, विभिन्न तालिमहरुमा सहभागिता वृद्धि गर्न सकेमा महिनावारीको बारेमा बुझाइमा स्पष्टता ल्याउन सकिन्छ ।
नयाँ पाठ्यक्रममा महिनावारीको बिषयलाई विशेष महत्व दिएका छौं 
राष्ट्रिय पाठ्यक्रम प्रारुप बमोजिम पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम परिक्षणको क्रममा छ । गत बर्ष कक्षां १, २ र ३ को सेरोफेरो बिषयको पाठ्यक्रम तयार गरेका थियौं । कक्षा १ को लागस् हुने क्रममा छ भने कक्षा २ र ३ को परिक्षणमा छ । यस्तै कक्षा ४ देखि ८ सम्मको स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला बिषयको पाठ्यक्रम बनाइएकोमा कक्षा ६ को परिक्षणको क्रममा छ भने कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रमको मस्यौदा तयार भइसकेको छ । अब यो पाठ्यक्रम पुनरावलोकनको क्रममा छौं ।
२०६२ तथा २०६९ को पाठ्यक्रममा भन्दा यो पाठ्यक्रममा सरोकारवालाकै सुझाव बमोजिम महिनावारीको बिषयलाई विशेष महत्व दिएर समेट्ने प्रयास गरिएको छ । नयाँ पाठ्यक्रममा समावेश भएका बिषयवस्तु समसामयिक, किशोरावस्था र उत्तरबाल्यावस्थाका बच्चाहरुलाई सम्बोधन गर्ने किसिमका छन् । उनीहरुको उमेर अनुसार आउने शारीरिक परिवर्तन, किशोर अवस्थाको यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी, मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता पक्षलाई समेट्ने प्रयास गरिएको छ । खासगरी सरसफाइ र स्वास्थ्यको कुरा त कक्षा एक दुई तीन बाटै आउँछ, कक्षा ५ देखि ८ को पाठ्यक्रममा चाहिं विशेष गरी बालिकाहरुलाई महिनावारीका लागि पूर्व तयारी गराउने, महिनावारीको समयमा आउनसक्ने समस्या र समाधानको उपाय जस्ता विषयलाई समेटेका छौं ।
यस्तै कक्षा चारको पाठ्यक्रममा महिनावारीको सामान्य परिचय, पाँचमा सामान्य सरसफाइका कुराहरु, त्यसपछि क्रमिक रुपमा महिनावारी सम्बन्धी अन्य व्यवस्थापकीय कुराहरु, महिनावारी सम्बन्धी भ्रमहरु, अफ्ठ्याराहरु, किशोरकिशोरी, युवायुवती, परिवारको भूमिका जस्ता बिषयलाई समेट्दै क्रमिक रुपमा कक्षा ८ मा चाहिं प्याड व्यवस्थापन गर्ने कुरा, प्याड निर्माण गर्ने कुराहरुलाई पनि समावेश गरिएको छ । कक्षा ९ देखि १२ को पाठ्यक्रममा चाहिं ऐच्छिक पाठ्यक्रम रहेको छ । स्वास्थ्य तथा शारीरिक शिक्षाको पाठ्यक्रममा समेत महिनावारी व्यवस्थापन सम्बन्धी विषयबस्तुहरुलाई प्रजनन स्वास्थ्य अन्तर्गत समावेश गरिएको छ ।


1623 पटक हेरिएको 

