सरसफाइ अभियानका अथक योद्धाहरु–१

 1504 पटक हेरिएको

काठमाडौं : नेपालको सरसफाइ अभियान राष्ट्र खुला दिसामुक्त घोषणापछि दोस्रो चरणमा प्रवेश गरेको छ । सरसफाइलाई समुदायको महत्वपूर्ण सवालको रुपमा स्थापित गर्नका लागि हजारौं हजार सरसफाइ ‘च्याम्पियन’ हरुको अहम् भूमिका रहेको छ । पेशा वा रोजगारीको रुपमा होइन, विशुद्ध सेवाको रुपमा सरसफाइ प्रवर्द्वनमा क्रियाशील हुने स्वयंसेवकहरुले सरसफाइ अभियानलाई सामाजिक अभियानको रुपमा स्थापित गर्नका लागि महोरात्र खटिरहनुभएको छ । सरसफाइ अभियानलाई ‘निष्ठा’को रोजाइ बनाउने समुदाय तहका पात्रहरु अर्थात् ‘भूइँफूल’ र ‘धर्तीका तारा’ को योगदानको खोजी गर्ने हाम्रो प्रयास रहिरहनेछ ।


यस श्रृंखलामा हामीले सरसफाइ र स्वच्छता क्षेत्रमा पुर्‍याएको योगदानमात्र हेरेका छैनौं, बरु सामाजिक कार्यमार्फत समृद्धि र रुपान्तरणमा पु¥याएको योगदानलाई खोतल्ने प्रयास गरेका छौं ।

सरसफाइ प्रवर्द्वनको कार्यलाई नै आफ्नो मूल कर्म बनाउँदै निष्ठापूर्वक असाधारण कार्यसम्पादन गर्ने सरकारी एवम् गैरसरकारी क्षेत्रसँग आवद्ध कर्मचारी, सहजकर्ता र अभियानकर्ताहरुको योगदानलाई यसअघि पनि समेट्ने प्रयास गरेका छौं । यसपटकदेखि नसुनिएका आवाज सुनाउने, नबोलिएका बोलीलाई बोलाउने र लुकेका तथ्यलाई सतहमा ल्याउने हाम्रो प्रयास हुनेछ ।

सरसफाइलाई ब्रोडसिटमा पुर्‍याउने दूर्गमका ज्योति : प्रकाश सिंह (बाजुरा)

जत्तिबेला देशको सबै भूभागमा सरसफाइ अभियान सुरु भएकै थिएन, त्यत्तिबेला पनि ‘बिहे गर्न शौचालय अनिवार्य’, ‘चर्पी नबनाए सुविधा नपाउने’ जस्ता सरसफाइका समाचार प्रायः दुई/चार दिनको फरकमा आईरहन्थ्यो अन्नपूर्ण पोष्ट दैनिकमा । अनि बाइलाइन हुने गर्थ्यो ‘प्रकाश सिंह/बाजुरा’

अन्नपूर्ण पोष्ट र द हिमालयन टाइम्सका लागि बाजुराबाट रिपोर्टिङ गरेका प्रकाशले त्यसबेला हुने गरेका सरसफाइ अभियानका समाचारहरु नछुटाई लेख्ने गर्नुहुन्थ्यो । उहाँको समाचार लेखनले दुर्गम र सरसफाइको समाचारलाई खासै समाचार नमान्ने केन्द्रको दृष्टिलाई बदल्न अहम् भूमिका खेल्यो । त्यत्तिबेला अन्नपूर्ण पोष्टले प्रकाशन गर्ने परिशिष्टाङ्कहरु कहिले त बाजुराकै सरसफाइको समाचारले भरिन्थे । प्रकाश भन्नुहुन्छ ‘‘बाजुराका महिलाहरु सरसफाइ अभियानमा लागेको स्टोरीले ‘संगी’ भन्ने परिशिष्टाङ्क पूरै भरिएको थियो । जसले अन्य ठाउँका महिलाहरुलाई समेत सरसफाइमा लाग्न प्रेरित गरायो ।’’

सरसफाइको बिषयमा कयौं समाचार लेखेका प्रकाशलाई एउटा समाचारले भने सरसफाइ क्षेत्रमै चिनाएको उहाँको अनुभव छ । कुरा २०६९/०७० तिरको हो । जत्तिखेर गाउँघरमा शौचालय भेटिन निक्कै मुश्किल पर्थ्यो ।

कैलालीमा पनि त्यही अवस्था थियो । बाजुराबाट रिपोर्टिङ गरेपनि समाचार भने कैलालीको थियो । रिपोटिङकै क्रममा कैलाली पुग्दा दिसापिसाब लागेको एक घण्टा भइसक्दा पनि शौचालय नभेटेपछि गाउँकै एक जनाले उहाँलाई शौचालय भएको घर देखाएछन् । पछि बुझ्दै जाँदा त्यो घर गाउँभरिको एउटै मात्र शौचालय भएको घर रहेछ । शौच गरिसकेपछि घरमूलीले पनि भनेछन् ‘‘गाउँमा ठूलाबडा आएपछि मेरै घरमा आउँछन् ।’’ प्रकाशले त्यही भनाइलाई समाचारको शीर्षक बनाउनुभयो ‘शौचालय देखेपछि पाहुनाको ओइरो’ ।

त्यसपछि पनि उहाँले ‘सुगन्ध बन्दै दुर्गम गाउँ’, ‘ऋण काढेर शौचालय’, ‘ब्रम्हतोलामा एक घर, एक चर्पी’, ‘बाजुरा सफा सुग्घर जिल्ला’ लगायत सरसफाइका धेरै समाचार लेख्नुभयो तर आफूलाई त्यही समाचारले सरसफाइको क्षेत्रमा चिनाएको बताउनुहुन्छ प्रकाश ।

सरसफाइ समाचार लेखनको कामले उहाँको चिनारी पत्रकारमा मात्र सीमित नरही सरसफाइ अभियन्तामा रुपान्तरण भयो । उहाँ जिल्लाको कुनाकाप्चामा हुने गरेका सरसफाइ अभियानदेखि केन्द्रमा हुने गरेका सरसफाइ कार्यक्रमहरुमा समेत भाग लिनुहुन्थ्यो ।

काठमाडौमा भएको राष्ट्रिय सरसफाइ सम्मेलनमा उहाँ आफै चकित हुनुभयो रे । त्यहाँ विभिन्न संघसंस्थाको आ–आफ्ना स्टलहरु राखिएका थिए । स्टलहरु घुम्दै जाँदा एउटा स्टलमा भने सबै आफूले लेखेका समाचारहरु फ्लेक्समा उतारिएको भेटिएपछि उहाँ दंग पर्नुभएछ । प्रकाश भन्नुहुन्छ, “मैले लेखेको समाचार कति छापिए मलाई नै थाहा हुदैनथ्यो, तर त्यहाँ राखिएका समाचारहरु सबै मैले लेखेका मात्र थिए, म त दंग भएँ । त्यसपछि अझ यस क्षेत्रमा कलम चलाउने हौसला मिल्यो ।”

सरसफाइको क्षेत्रमा कलम चलाए बापत आफूले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका सरसफाइ सम्बन्धी कार्यक्रमहरुमा भाग लिन पाएको र यो नै आफ्नो पूँजी भएको उहाँको भनाइ छ । “मैले दक्षिण एसियाली सरसफाइ सम्मेलनमा पनि भाग लिएको छु, सरसफाइ क्षेत्रमा यति धेरै नलागेको भए मैले त्यो अवसर पाउने थिइन” उहाँले भन्नुभयो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले बाजुरा जिल्लामा समेत सरसफाइ अभियान सहजीकरण गर्‍यो, जसले उहाँमा सरसफाइ अभियान बुझ्नका लागि झनै सहयोग गर्‍यो । उहाँले लेखेका समाचार नै राजधानी र देशका अन्य ठाउँमा ‘बाजुराको सरसफाइ अभियान’ बारे जान्ने माध्यम समेत बने ।
जुनसुकै क्षेत्रमा परिवर्तन ल्याउन सूचना सम्प्रेषणले ठूलो महत्व राख्ने उहाँको बुझाइ छ । समाचार लेखेकै कारण शौचालय नभएको विद्यालयमा शौचालय बनेका, बन्द रहेका शौचालय पुनः सञ्चालनमा आएका, सरसफाइ अभियानमा सक्रिय भएर लागेका र चर्पी नबनेका घरमा बनेका कयौं उदाहरणहरु छन् उहाँसँग । ‘‘फलाना ठाउँका मानिसहरु जत्ति भन्दा पनि सरसफाइ अभियानमा लागेनन् लौन समाचार लेखिदिनुपर्‍यो भनेर हामीलाई फोन आउँथ्यो’’ प्रकाश भन्नुहुन्छ ‘‘यो मिडियाको शक्ति हो ।’’

सरसफाइ गुरुयोजना २०६८ जारी गर्दा सरसफाइको ७५ औं स्थानमा रहेको बाजुरा नेपालको १६ औं खुला दिसामुक्त जिल्ला हो । २०६८ मा १०.५७ प्रतिशतको घरमा मात्र शौचालय भएको बाजुरामा ३ बर्षकै अवधिमा सतप्रतिशत घरमा चर्पी निर्माण गरी २०७१ साल मंसिर १२ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । सरसफाइमा पुछारको जिल्लाबाट सोह्रौ स्थानमा ल्याउनुमा प्रकाशको कलमको योगदान निकै महत्वपूर्ण छ ।


सरसफाइ अभियानमात्र होइन, विपन्नलाई घर बनाउनेदेखि विरामीको उपचार गर्ने काममा समेत उहाँ आफै खटिनुहुन्छ । स्वास्थ्यकर्म हुँदै पत्रकारितामा होमिनुभएका प्रकाशको साथमा स्टेथेस्कोप, केही अत्यावश्यक औषधी र प्राथमिक उपचारका सामग्री कहिल्यै पनि टुट्दैनन् । गाउँघरतिर पुग्दा कोही विरामी देखेमा जाँच गरेर डाक्टरकहाँ जान सुझाउनुहुन्छ । गम्भीर विरामी देखेमा आफै बोकेर समेत स्वास्थ्य संस्थामा पुर्‍याउनुहुन्छ ।

प्रकाश सिं अहिले पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले रिपोर्टिङ गर्ने द हिमालयन टाइम्समा अहिले पनि सरसफाइका समाचारहरु प्रकाशन भईरहन्छन् । ‘प्याड फेर्ने ठाउँ नहुँदा छात्रालाई सास्ती’, ‘जिल्लामै छैन, छात्रामैत्री शौचालय’ जस्ता समाचारमा अहिले पनि उहाँकै बाइलाइन हुने गरेको छ ।

सलाम छ, सामाजिक दायित्ववोध र रुपान्तरण अभियानमा उज्यालो किरण छर्ने विकट बाजुराका ‘प्रकाश’ लाई ।

दूर्गम गाउँमा सरसफाइ र सामाजिक रुपान्तरणको रत्न : रत्ना खवास (मोरङ)


मोरङको साविक डाँगिहाट गाविस (हाल बेलबारी नगरपालिका) मा बुहारी बनेर भित्रिंदा रत्ना खवासको घरमा साबुन पानीले हात धुने स्थान व्यवस्थित थिएन । उहाँको घरमा मात्र होइन, गाउँभरि नै सरसफाइको अवस्था निकै कमजोर थियो । “आजभन्दा ५२ वर्षअघि बुहारी बनेर डाँगिहाटमा भित्रिंदा यहाँको सामाजिक अवस्था हेरेर निकै झट्का लागेको थियो”, खवास सम्झिनुहुन्छ, “कुनै घरमा पनि चर्पी थिएन ।”

पहाडी बस्तीको सम्पन्न परिवारमा जन्मिनुभएकी रत्ना अन्तरजातीय विवाह गरेर डाँगिहाट आउनुभएको थियो । “सबैजसो घरमा बंगुर सुंगुर छाडा रुपमा पाल्ने चलन थियो, जहाँसुकै मानिसको दिसा र सुंगुर बंगुरको लादी हुन्थ्यो”, रत्ना सम्झनुहुन्छ, “सामाजिक विषयहरुमा निर्णय लिनुपर्दा पञ्च भलाद्मीकै हालिमुहाली थियो, महिलाको आवाजको सुनुवाइ नै हुँदैनथ्यो ।”

त्यस अवस्थामा सामाजिक सुधारको अभियान कहाँबाट थाल्ने, उहाँलाई द्विविध हुन्थ्यो । ठूला सवाललाई एकैचोटी उठाउन खोज्दा समुदायमा सफल होइँदैन कि भन्ने चिन्ता, फरक समुदायबाट आएको हुनाले समुदायका सबैले साथ देलान् कि नदेलान् भन्ने पनि डर । “सिंगो जिन्दगी यहीं बिताउनुपर्ने भएपछि सुधारको काम सरसफाइबाटै थालनी गर्नुपर्छ भन्ने लाग्यो”, उहाँ भन्नुहुन्छ, “त्यसैले, महिलालाई खुलामा दिसा गर्न जाँदा आइपर्ने समस्यामा केन्द्रित भएर महिलाको इज्जतका लागि चर्पी र सरसफाइ अभियान थालनी गरें ।”

धरानमा जन्मिएकी रत्ना स्कूले शिक्षा पूरा गर्ने त्यस क्षेत्रकी पहिलो महिला भएको बताउनुहुन्छ । फलामे ढोकाको रुपमा लिइने एस.एल.सी. परीक्षा पास गरेपछि उहाँले काली माध्यमिक विद्यालयमा शिक्षण गर्ने मौका पाउनुभयो, सोही बेला खवास परिवारमा जन्मिएर पनि समुदायका चल्तापूर्जा कामीलाल खवाससँग उहाँको प्रेम विवाह भयो ।

घरमा आएपछि उहाँको शिक्षण पेशा धरापमा पर्‍यो । शिक्षण पेशामात्र होइन, घरबाहिर जान पनि पितृसत्ताका खरो समर्थक ससुराले सहजै स्वीकृति दिनुहुँदैनथ्यो । आफ्नो जन्मघरमा फर्किएर जाने ढोका बन्द भएको उहाँलाई लाग्यो । “माइतीको स्वीकृतिविना अन्तरजातीय विवाह गरेर आएकी थिएँ, त्यसेले माइतीमा सहजै फर्किन सकिने अवस्था थिएन”, उहाँ भन्नुहुन्छ, “जसरी पनि संघर्ष गरेरै यही समुदायमा आफ्नो स्थान बनाउनुपर्ने थियो ।”

महिलाको इज्जत, आत्मसम्मान र सुरक्षाको सवाल उठाएकोले केही महिलाको साथ पाउनुभयो, तर केही उहाँलाई साथ दिन डराए । “पुरुषले बोलेको कुरा कसले काट्न सक्थ्यो र ?”, थालनीका दिनको संघर्षलाई रत्ना सम्झनुहुन्छ, “त्यस सीमित छोरी बुहारीहरुले मलाई साथ दिए, तर उनीहरु बाहिर खेलेर बोल्न चाहँदैनथे ।” अझै धेरैले त यसले चर्पीका कुराबाहेक अरु केही जान्दिनँ भनेर पनि गिज्याउँथे ।

४५ वर्षअघि ससुराको देहान्तपछि रत्नाको सामाजिक भूमिकामा फेरबदल आयो । उहाँका श्रीमान्ले रत्नालाई घरबाहिर जान र सामाजिक काम गर्ने स्वीकृति दिनुभयो । तालिम लिएर उहाँ अनमिको रुपमा बेलबारीमा नै काम गर्न थाल्नुभयो ।


त्यहाँ काम गर्न थालेको १० वर्षको अवधिमा उहाँले बेलबारीका सयौं घरधुरीको भ्रमण गर्नुभयो । कमजोर सरसफाइले स्वास्थ्यमा पार्ने असरको बारेमा बुझाउने मौका पाउनुभयो । परिवार नियोजन, प्रजनन् स्वास्थ्य र बाल स्वास्थ्य त उहाँको जिम्मेवारीका क्षेत्र नै थिए । “त्यसबेलासम्म पनि मैले घरमा आफूले चाहेजस्तो सुरक्षित चर्पी बनाउन पाएकी थिइनँ”, उहाँ सम्झनुहुन्छ, “३१ वर्षअघि मूल घर छोडेर दुई बच्चासहित हामी चार जनाको परिवार भिन्न भयौं, र चर्पीसहितको नयाँ घर बनायौं ।”

त्यसपछि समुदायमा चर्पी बनाउने अभियान थालनी भयो । महिलाको सुरक्षा, इज्जत, आत्मसम्मान र महिला तथा बालबालिकाको स्वास्थ्यसँग जोडेर सरसफाइ अभियान थालनी भयो ।

रत्नाको अगुवाइमा डाँगिहाट बन्यो सफा र स्वच्छ क्षेत्र


दशकौं लामो अथक संघर्षबाट अहिले बेलबारी नगरपालिका, वडा नं. ८ मा पर्ने डाँगिहाट बदलिएको छ। अहिले डाँगिहाटका सबै घरधुरीमा सुरक्षित चर्पी छन् । खुलामा दिसा कही. कतै पनि भेटिदैन । सबै घरमा फोहर वर्गीकरण गर्ने गरिएको छ । पानी शुद्धीकरण गरेर पिउँछन् । सुँगुर बंगुरलाई खोरमा पाल्छन् । गाईगोठहरु सफा छन् । घरमा करेसाबारी बनेका छन् । चर्पीसँगै साबुन पानीले हात धुने स्थान बनाइएको छ । सबै घरमा महिनावारीमैत्री व्यवहार हुन्छ । डाँगिहाटको आदर्श बस्ती राइझार अहिले सफा र स्वच्छ क्षेत्रका सबै सूचक पूरा गरी सरसफाइ नमूना गाउँ घोषणा हुने पहिलो बस्ती बनेको छ । विश्व चर्पी दिवसको अवसरमा पारेर गाउँलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरियो ।

रत्नाको एकल प्रयासमा अघि बढिरहेको सामाजिक अभियानमा विभिन्न संघसंस्थाले सहयोग पुर्‍याए । “खुला दिसामुक्त अभियान थालनी हुनुअघि नै गाउँमा महिला सशक्तीकरण र सामाजिक जागरणका लागि नारी विकास संघले निकै सहयोग गर्‍यो”, उहाँ सम्झनुहुन्छ, “खुला दिसामुक्त अभियानको क्रममा सामुदायिक विकास समाजमार्फत ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले सहयोग पुर्‍यायो । पूर्ण सरसफाइ अभियानमा समेत नारी विकास संघले सहयोग गर्‍यो ।”

जीवनको ७४ वर्षको यात्रा गरिरहेकी रत्ना सामाजिक दायित्व र भूमिकामा अविराम अघि बढिरहनुभएको छ । प्रत्येक दिन समुदायको अनुगमनमा जानुहुन्छ । सरसफाइ नमूना समुदाय व्यवस्थापन समितिको अध्यक्षको रुपमा पूर्ण सरसफाइ उन्मुख समुदाय बनाउनका लागि क्रियाशील हुनुहुन्छ । महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहलाई सुझाव सल्लाह दिनुहुन्छ । “रत्ना दिदी समुदायको रत्न हुनुहुन्छ, उहाँले अझै लामो समय समुदायका लागि सुधारको ज्योति बालिरहनुपर्छ”, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार