जोखिममा दिसाजन्य लेदो सफाइकर्मीहरु : न सुरक्षा सामग्री, न त सहयोगी नीति नै

जनकपरधाम (धनुषा) : जनकपुरधाम उपमहानगरपालिकका रवीन मेस्तरको पुख्र्यौली पेशा नै सेप्टिक टंकीको दिसाजन्य लेदो सफा गर्ने हो । उहाँको बुबाले अंगालिरहेको पेशा नै अहिले रविनले समेत अंगाल्नुभएको छ । “पेशामा सम्मान र सन्तुष्टि त छैन, तर पेट पाल्नका लागि गरिरहनुपरेको छ”, कोभिडको सन्त्रासमा समेत २५ भन्दा बढी शौचालयको दिसाजन्य लेदो सफा गरेको सम्झँदै रविन भन्नुहुन्छ, “कोरोनाको बेला पञ्जा र मास्क त लगाइयो, तर त्यत्तिले कहाँ सुरक्षा हुन्छ र ?”

चर्पीको दिसाजन्य लेदो निकालि सकेपछि खाडलबाट बाहिर निस्कदै सफाइकर्मी । तस्वीर : विश्व स्वास्थ्य संगठन

यस्तै अवस्था छ, मोरङको कटहरी गाउँपालिका निवासी हरि रामको । “हामीले चर्पी सफा नगर्ने हो भने ठूलाबढाहरु दिसा बस्न पनि पाउँदैनन्, तर हामीलाई नै कसैले हेर्दैन”, स्थानीय तहको वार्षिक योजना तथा कार्यक्रम पढेको बताउँदै हरि भन्नुहुन्छ, “खै, गाउँपालिकाले पनि केही हेरेजस्तो लागेन । हाम्रो बारेमा कहीं कतै केही लेखिएको छैन ।”

यी त भए, सेप्टिक टंकीमा भरिएको लेदो सफा गर्नेहरुका दर्द । यो भन्दा कम छैन, अन्य सरसफाइकर्मीहरुको पनि । काठमाडौ महानगरपालिका–४ का अर्जुन खड्की पाँच वर्ष अघिदेखि सरसफाइ कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ । जातिगत रुपमा सफा पेशामा आवद्ध हुने परम्परा नतोडिएसम्म सफाइकर्ममा आवद्धहरुले इज्जत र सम्मान पाउन नसक्ने अर्जुन बताउनुहुन्छ । “हामी हेपिएका र दबिएकाहरु सफाइ पेशामा छौं, हाम्रो मर्म बुझ्ने मान्छे माथिल्लो ओहदामा छैन । हुनेले पनि हाम्रो जात बोकेको छ, तर हाम्रो पीडा बोक्न सकेन”, भन्नुहुन्छ, “कोरोना कहरको बीचमा पनि धेरै पटक खाली हातले नै फोहर सफा गर्नुपर्‍यो ।”

रोल्पामा जन्मिएर पोखराको बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटलाई कर्मथलो बनाउनुभएका हिरा पाइजा मगरलाई व्यक्तिगत सुरक्षा भन्ने नै जानकारी छैन । ल्याण्डफिल साइट नजिकै बंगुरपालन व्यवसाय गरेर बसेका पाइजाको ७ जनाको परिवार नै ल्याण्डफिल साइटमा आश्रित छ । “कहिलेकाहीं मास्क लगाऊ, पञ्जा लगाऊ भन्न त आउँछन्, तर झन्झट लाग्छ”, उहाँ भन्नुहुन्छ, “अहिलेसम्म कसैले लगाउनैपर्छ भन्या छैन, लगाउने गरेको पनि छैन ।”

न सुरक्षा, न तथ्यांक

समग्रमा हेर्दा ‘सरसफाइकर्मी’ लाई एउटै नामले सम्बोधन गरिने भए पनि कामको प्रकृति र जोखिमको दर भने फरक छ । सरसफाइकर्मी मध्ये पनि केही औपचारिक रुपमा नगरपालिका वा निजी क्षेत्रको फोहर व्यवस्थापनमा कर्मचारीको रुपमा कार्यरत छन्, जो मासिक तलव बुझ्छन्, संगठित भएका छन्, बेला बेलामा ज्ञान सीप बढाउने अवसर पाउँछन्, र तुलनात्मक रुपमा कम जोखिममा छन् ।

अर्का थरी नाम सुनिने गरेका ल्याण्डफिल साइटमा छन्, जहाँ धेरैका आँखा पुग्छन् । उनीहरुले क्षमता अभिवृद्धिको अवसर कहिलेकाहीं पाउने भए पनि, व्यक्तिगत सुरक्षा सम्बन्धी जानकारी र सामग्रीको पहुँच भने छ ।

चर्पीको खाडलबाट बाल्टि प्रयोग गरी सुरक्षा सावधानी विनै लेदो निकाल्दै सिराहाका एक सफाइकर्मी ।

सफाइकर्मीहरुमध्ये सबैभन्दा बढी जोखिममा सेप्टिक टंकी सफा गर्नेहरु पर्दछन्, जो न औपचारिक रुपमा कतै आवद्ध छन्, न त उनीहरुका लागि स्थानीय तहका वार्षिक योजनाले केही सम्बोधन गर्ने गरेको छ । जनकपुरधामका रविन मेस्तरको भनाइ सापटी लिने हो भने उहाँहरुलाई नगरपालिकाले जिल्ला खुला दिसामुक्त गर्ने बेलामा एक पटक सम्झिएर दोसल्ला ओढाएको छ । “जिल्लाको यति ठूलो कार्यक्रममा दोसल्ला ओढाएपछि अब त हाम्रा लागि केही गर्लान् जस्तो लागेको थियो”, रविन निरासा पोख्नुहुन्छ, “एक पटक दोसल्ला ओढाउनुभन्दा त साबेल र बाल्टिन दिएको भए सेप्टिक टंकी सफा गर्न सजिलो हुन्थ्यो ।”

विभिन्न दिवस र अवसरमा गरिने खोजी र सम्मानले सफाइकर्मीको आत्मसम्मानलाई बढाउन केही हदसम्म सहयोग गर्ला, तर पेशागत सुरक्षा र स्वास्थ्य सुरक्षामा भने कुनै फरक पार्दैन । यसका लागि स्थानीय सरकारहरुले सिंगो सरसफाइलाई नीतिगत ढाँचा भित्र ल्याउनका लागि सरसफाइ सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने र सफाइकर्ममा औपचारिक, अनौपचारिक वा पुख्र्यौली रुपमा जोडिएकाहरुको सुरक्षा र क्षमता अभिवृद्धिका लागि स्थानीय तहको वार्षिक कार्यक्रममा नै समेटिनुपर्ने बताउनुहुन्छ गैरसरकारी संस्था महासंघ झापाका पूर्व अध्यक्ष रुद्रप्रसाद सिटौला । “झापा जिल्लाका कचनकवल, झापा, हल्दिबारी, बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, गौरीगञ्ज, कमल र शिवसताक्षीमा समेत चर्पीको खाडलमा जम्मा भएको दिसाजन्य लेदो सफाइ गरेर नै जीविकोपार्जन गर्ने परिवार छन्”, सिटौला भन्नुहुन्छ, “गरिबी, असुरक्षा, कमजोर सरसफाइजन्य व्यवहार, मादक पदार्थको सेवन लगायतका समस्याको जालोबाट ठूलो हिस्सा थिलथिलिएको छ ।”

सेप्टिक टंकी सफा गर्ने सवारी साधनलाई अलग्गै नम्बर दिएर दर्ता गर्ने कामको थालनी भए पनि, देशभरि नै यो सफल हुन सकेको छैन । सामान्यतः ट्याक्टरको नम्बर प्लेटमा दर्ता हुन्छन् । त्यसैले पनि, सेप्टिक टंकी सफा गर्ने ट्यांकर कति छन् र यसमा कति आश्रित छन् भन्ने तथ्यांक पाउन कठिन छ । झापा जिल्लामा २८ वटा सेप्टिक टंकी सफा गर्ने ट्यांकर चालु अवस्थामा रहेको तथ्यांक छ भने मोरङमा ५० भन्दा बढी रहेको ट्यांकर व्यवसायीहरु बताउँछन् । मूलतः तराई क्षेत्रमा यस किसिमको ट्यांकरको प्रयोग बढी हुने भए पनि, तराई क्षेत्रसँग जोडिएका पहाडी जिल्लामा समेत ट्यांकरले सेवा दिइरहेको पाइन्छ ।

अर्घाखाँची जिल्लामा ठूलो मात्रामा सेप्टिक टंकी सफाइ गर्नुपरेमा बुटवलबाट ट्यांकर बोलाएर सफा गरिने बताउनुहुन्छ सरसफाइ अभियानको सहजीकरण गरिरहेको संस्था प्रकाश सचेतन समूहका कार्यकारी निर्देशक प्रेमनारायण गैरे ।

एक ट्यांकरमा तीन जनासम्मले रोजगारी पाएका हुन्छन् । धेरैजसो ट्यांकरमा चालकले लेदो निकाल्ने काम गर्दैनन्, अतिरिक्त दुई जनासम्म व्यवस्था गरिएको हुन्छ । जेट लगाएर लेदो घोल्ने, पाइल लगाएर लेदो तान्ने काम एक जनाले गर्छन् । “मास्क र पञ्जा लगाइन्छ, अरु त के लगाउने र ?”, जनकपुरमा सेप्टिक टंकी सफाइ गर्ने ट्यांकरका चालक ललित सदा भन्नुहुन्छ, ।

हातैले निकालिन्छ ४३ प्रतिशत चर्पीको लेदो

कति चर्पीको खाडलमा जम्मा भएको दिसाजन्य लेदो हातैले निकालिन्छ, कति मल बनाएर निकालिन्छ र कति ट्यांकरले निकालिन्छ भन्ने पूर्ण तथ्यांक कहीं पनि उपलब्ध छैन । पूर्ण सरसफाइ अभियान थालनी हुने समयमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले पूर्व झापादेखि पर्सासम्मका ११ जिल्लाका १ लाख ७३ हजार ५ सय ८५ घरधुरीमा गरेको सर्वेक्षणमा ३७ हजार ६ सय २६ घरधुरी अर्थात् २१.६८ प्रतिशत घरधुरीले कामदारलाई बोलाएर बाल्टिन र सावेलले लेदो निकाल्ने गरेको बताएका छन् ।

२१.८२ प्रतिशतले भने आफ्नो चर्पी खाडलमा जम्मा भएको दिसाजन्य लेदो आफै सफा गर्ने उल्लेख गरेका छन् । यसरी आफै सफा गर्नेमध्ये अधिकांश दुई खाल्डे चर्पी भएका छन्, जसमा एउटा खाल्डोमा जम्मा भएको दिसाको लेदो केही महिना छोडेपछि मलमा परिणत हुन्छ ।
यसैगरी ३४ हजार ८ सय ३१ घरधुरीले निजी क्षेत्र अर्थात् ट्यांकर बोलाएर सफा गराउने बताएका छन् भने ५१ हजार ९ सय ७६ ले चर्पीको सेप्टिक टंकी र रिङ राखिएको खाडल नभरिएकोले सफा गर्नु नै नपरेको उल्लेख गरेका छन् । कामदार बोलाएर लेदो निकाल्ने र आफै निकाल्ने संख्या जोड्दा ४३.५७ प्रतिशत हुन आउँछ ।

आफ्नै घरायसी चर्पीको लेदो निकाल्दै विर्तामोड नगरपालिकाका एक व्यक्ति । उहाँले सामान्य सुरक्षा सावधानी अपनाउनु भएको देखिन्छ । तस्वीर : सोमनाथ आचाय

पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रलाई छोड्ने हो भने, सरकारी तथ्यांक अनुसार तराई मधेशमा रहेका २७ लाख २९ हजार ९ सय ३३ घरधुरीको ४३.५७ अर्थात् ११ लाख ८९ हजार ४ सय ३२ घरधुरीमा रहेको चर्पीको लेदो घरमुली वा कामदारले बाल्टी, सावेल लगायतका भाँडाकुडाको प्रयोग गरेर निकाल्छन् । सेप्टिक टंकी भरिन केही वर्ष लाग्ने भए पनि उपयुक्त प्रविधिमा नबनाइएका साना खाडलहरु तीनदेखि पाँच वर्षमा भरिने हुनाले प्रत्येक वर्ष करिब चार लाख चर्पीको लेदोलाई निकाल्नुपर्ने हुन्छ ।

बढी जोखिम, परिवार धान्नै मुस्किल

दिसाजन्य लेदोमा मूलतः ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा र जुकाका अण्डाहरु रहने हुनाले सुरक्षा सावधानी अपनाउन नसक्दा त्यो सर्ने जोखिम रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दिसा जम्मा भएर बस्ने खाडल सुरक्षित नहुँदा समेत त्यहाँ जम्मा भएको दिसा कुनै न कुनै माध्यमबाट मानिससम्म आइपुग्ने जोखिम कायमै रहन्छ । यस्तै, खाडलबाट दिसा निकाल्दा, ढुवानी गर्दा, खन्याउँदा र त्यसको प्रशोधन गर्दा समेत सावधानी अपनाउन नसक्दा जैविक, रासायनिक र भौतिक जोखिम कायम रहन्छ ।

कुनै सुरक्षा सावधानीविना नै ट्यांकरबाट लेदो खन्याउँदै एक कामदार

यी चरणहरुमध्ये पनि खाडलबाट दिसा निकाल्दा दिसा मानिसको सम्पर्कमा आउनु भनेको सबैभन्दा ठूलो जोखिम हो । कामदारले सामान्यतः खाडलमा रहेको दिसा लठ्ठीले घोलेर बाल्टिनले निकाल्ने र नजिकै खाडल खनेर त्यसमा खन्याउने गर्दछन् ।

पुर्ख्यौली रुपमा टंकी सफा गर्नेहरुमध्ये अधिकांशले सुरक्षा सावधानी नअपनाउने गरेको धनुषा जिल्लामा सरसफाइ अभियान सहजीकरण गरिरहेको संस्था समाज उत्थान युवा केन्द्रका टिम लिडर सुजीत कुमार मण्डल बताउनुहुन्छ । “खाडलमा अलिकति मटितेल वा पेट्रोल मिसाउने र रक्सीको नसामा लेदो सफा गर्नेहरु बढी हुन्छन्”, उहाँ भन्नुहुन्छ, “न पञ्जा, न गमबुट र व्यक्तिगत सुरक्षाका अन्य सामग्री नै ।”

खाडल गहिरो भएमा बढी जोखिम । एक त खाडलमा मिथेन ग्यास बढी र अक्सिजनको कमी, अर्कोतर्फ श्वासप्रश्वास स्वच्छता (Respiratory Hygiene) अपनाउन नसक्दा झनै जोखिम ।

जोखिम बढी भए पनि, चर्पीको लेदो निकालेर परिवार धान्न भने धौ धौ भएको सफाइकर्मीहरु बताउनुहुन्छ । जनकपुरका रविन मेस्तरका अनुसार सामान्यतः टंकीमा रहेको रिङको आधारमा मूल्य गरिन्छ । चार वटा रिङ भएको खाडल लेदोले भरिएको छ भने त्यो सफा गर्नका लागि सामान्यतः दुई हजार रुपैयाँ लिइन्छ, अर्थात एक रिङभरिको दिसा निकालेर फ्याँक्नका लागि पाँच सय रुपैयाँ लिइन्छ । दुई खाल्डे चर्पी भएमा अलिक कमाइ हुन्छ । “झट्ट हेर्दा ठूलो कमाइजस्तो देखिए पनि कहिलेकाहीं त्यसैले दुई हप्तासम्म पुर्‍याउनुपर्छ”, रविन भन्नुहुन्छ, “साँझ विहान खान र केटाकेटीलाई स्कूल पढाउन पनि पुग्दैन ।”

ठूलो सेप्टिक टंकी सफा गरेको ट्यांकरले पाँच/छ हजार रुपैयाँ लिन्छ । धेरैजसो ट्यांकरले पिंधमा जमेर बसेको दिसाको लेदोलाई त्यत्तिकै छोडेर माथिको पानीमात्र लैजाँदा पनि घरधनी मौन बस्ने, तर आफूहरुले सबै राम्ररी सफा गर्दा पनि किचकिच गर्ने गरेको दुःखेसो समेत रविनको छ ।

स्थानीय तहमा ठोस नीतिको अभाव खड्कियो

पूर्ण सरसफाइ अभियान थालनी हुनुअघि चर्पीको लेदो सफाइकर्मीहरुको बारेमा नसोचे पनि, गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माणको क्रममा तथ्यांकको विश्लेषण गर्दा यसबारेमा छलफल भएको बताउनुहुन्छ, झापाको गौरीगञ्ज गाउँपालिकाका सरसफाइ फोकल पर्सन एवम् सरसफाइ सुरक्षाका जानकारी रामचन्द्र मिश्र । “गाउँपालिकामा सरसफाइ शाखा छैन, स्वास्थ्य शाखाले सरसफाइ र स्वच्छता क्षेत्र समेत हेर्नुपरेको छ”, मिश्रको भनाइ छ, “सरसफाइ सुरक्षा सम्बन्धी नीति गाउँपालिकाले नबनाएसम्म सरसफाइकर्मीहरुका लागि ठोस योजना प्राथमिकतामा पर्दैनन् ।”

सफाइकर्मीमात्र होइन, आफ्नो घरको चर्पी खाडलमा जम्मा भएको दिसाजन्य लेदोलाई आफै निकाल्नेहरुले समेत सुरक्षा सावधानी अपनाउनैपर्छ ।

आगामी वर्षसम्म सम्पूर्ण स्थानीय तहहरुले खानेपानी, सरसफाइ तथा स्वच्छता (खासस्व) योजना तयार गरिसक्ने नेपाल सरकारको नीतिगत निर्णय बमोजिम स्थानीय तहहरुले खासस्व योजना निर्माण गरी कार्यान्वयनमा ल्याइरहेका छन् । यी योजननाहरु मूलतः चर्पी नभएका घरमा चर्पी निर्माण, चर्पीको स्तरोन्नति, संस्थागत एवम् सार्वजनिक स्थलको खानेपानी तथा सरसफाइ सुविधा र घरायसी तहमा सुरक्षित पानीको आपूर्तिमा बढी केन्द्रित भएको देखिन्छ । “सुरक्षित सरसफाइमा कसरी स्तरोन्नति गर्ने भन्ने उल्लेख भए पनि, खासस्व योजनामा सफाइकर्मीको सुरक्षामा पर्याप्त ध्यान दिएको भेटिदैन”, यू.एन. ह्याबिट्याटको तर्फबाट खासस्व योजना निर्माणमा सहजीकरण गरिरहेका थरेन्द्र पौडेल भन्नुहुन्छ, “यसका लागि स्थानीय तहले सरसफाइ सुरक्षा सम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ ।”

सफाइकर्मीमात्र होइन, आफ्नो घरको चर्पी खाडलमा जम्मा भएको दिसाजन्य लेदोलाई आफै निकाल्नेहरुले समेत सुरक्षा सावधानी अपनाउनैपर्छ । “कुन कुन घरले चर्पीको लेदो आफै निकाल्छन् भन्ने खोजी गरेर साध्य लाग्दैन”, फोकल पर्सन मिश्र भन्नुहुन्छ, “यसलाई नीति बनाउने र खासस्व योजनामा समावेश गरी आम समुदायमा जानकारी एवम् जागरणमूलक क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार