नुवाकोट : संघीय राजधानी काठमाडौँ पुग्न एक घण्टाको समय लाग्छ, ककनी गाउँपालिका –४ ह्याकुले टोलबाट । राजधानी नजिकैको गाउँ भए तापनि तामाङ समुदायको बसोबास रहेको यस समुदायको जीबन यापन सहज छैन, सबैजसो घरका घरमुलीहरु दैनिक गुजारा टार्नका लागि गाउँ भन्दा टाढा काम खोज्दै जानुपर्ने बाध्यता अहिले पनि छ भने, महिलाहरु घरको काम गर्ने र बारीमा सदाबहार हुने मुला खेतीको काममा ब्यस्त हुन्छन् ।

समुदायमा शिक्षित ब्यक्तिहरु नहुँदा समुदायमा भौतिक पुर्वाधार तथा जनचेतना एबम् क्षमता बिकासका क्रियापलापहरुमा पछाडि परेको यो समाजमा, २१ वर्षीय युबक सुवास लामा अहिले आसाका धरोहर बनेका छन् । वर्तमान समयमा हाम्रो देशका युवाहरु समाजसेवा त परै जाओस, नेपालमा आफ्नो भविष्य छैन भन्दै बिदेशतिर पलायन भइरहेको अवस्थामा यी युवा भने, ‘आफ्नो गाउँ बनाउन हामी शिक्षित युवा आफै जागरुक हुनुपर्छ, हामीले नगरे हाम्रो ठाउँमा कसले गर्दिन्छ’ भन्दै आफ्नो गाउँ र गाउँका मानिसहरुको आर्थिक तथा जीवनशैली परिवर्तन गर्न लागि परेका छन् । उनको यो सपनालाई केही हदसम्म सहयोग पुर्यायो, गेर्खुटार युवा क्लबले सञ्चालन गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन,सुदृढिकरण तथा दिगोपना परियोजनाले ।

एक्सन अगेन्स्ट हंगरको आर्थिक साझेदारीमा नुवाकोट र रसुवामा सञ्चालित यस परियोजनाबाट ककनी गाउँपालिकामा पनि एक वटा खानेपानी आयोजना निर्माण गर्ने थियो । ककनी गाउँपालिकाले खानेपानी आयोजना निर्माण गर्न ह्याकुले टोलमा कार्य गर्न संस्थालाई अनुमति प्रदान गर्यो ।
ककनी गाउँपालिकाको सिफारिस बमोजिम गेर्खुटार युवा क्लबका कर्मचारीहरु वडा अध्यक्ष दिपेश लामा कहाँ पुगे । वडाअध्यक्षले ह्याकुले टोलको एक जना युवालाइ बोलाएर परिचय गराइदिए संस्थाका कर्मचारीसँग । ती युवा थिए २१ बर्षीय युवा सुवास लामा ।
खानेपानी आयोजना निर्माण हुने भएपछि ह्याकुलेबासी अत्यन्त खुसी भए तर काम सुरु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गर्नुपर्ने भयो, ३१ घरका उपभोक्ताहरु समिति गठन गर्न भेला भए तर त्यहाँ समस्या उत्पन्न भयो, समितिको नेतृत्व गर्न समुदायका ब्यक्तिहरु अग्रसर नभएर । कोही पनि अध्यक्ष बन्न तयार नभएपछि अबको सामाजिक कामको नेतृत्व युवाले गर्नुपर्छ भन्ने आवाज उठ्यो र भेलाले ह्याकुले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष बनाए सुवास लामालाई ।

विश्व नै कारोना महामारीले आक्रान्त भइरहेको समयमा, २०७७ श्रावण २१ गते ककनी गाउँपालिका, गेर्खुटार युवा क्लब र उपभोक्ता समिति बीच त्रिपक्षिय सम्झौता भयो र खानेपानी आयोजनाको निर्माण कार्य अगाडि बढ्यो । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गर्दै उपभोक्ताबाट जनश्रमदान जुटाउन र संस्थाको परामर्श बमोजिम कार्य गर्न सहज भएन सुवासलाई । संस्था र वडाको सहजिकरणपछि साथ दिएका उपभोक्ताहरुले बेला बेलामा समितिको आलोचना गर्ने गरेको थाहा पाएपछि बीचैमा खानेपानी आयोजनाको कार्य छोडेर आफ्नो काममा लागेका सुवासलाइ, काममा फर्काउन संस्थाका प्रतिनिधीलाई धेरै मिहिनेत गर्नुपर्यो ।
अध्यक्ष मात्र हैन, समितिका सचिब २२ वर्षे सुगम पनि आफ्ना ब्यक्तिगत काम छोडी कोरोनाको जोखिमलाइ बेवास्ता गर्दै समुदायको हितका लागि सामाजिक काम गर्दा जस नपाइनै रैछ भन्दै जिम्मेवारीबाट पन्छिन खोजे । एक्सन अगेन्स्ट हगंरका कपिल देबकोटा र गेर्खुटार युवा क्लबका निमेष बोगटीको उत्प्रेरणा पश्चात जिम्मेवारीमा फर्किएका अध्यक्ष र सचिबले निर्धारित समयमै काम सम्पन्न गरे ।
ककनी गाउँपालिकाको नीति एक घर एक धारा बमोजिम निर्माण सम्पन्न भएको ह्याकुले खानेपानी आयोजनामा इन्टेक, १४ घनमिटरको रिर्जभ्वाएर ट्याकीं, ब्रेक प्रेसर ट्याकी सहित हरेक घरका आँगनमा मिटर जोडिएका सुन्दर धारा (३१ वटा) निर्माण भएका छन् । अनुगमनका क्रममा गाउँपालिकाका प्रमुख मान बहादुर लामा र वडाअध्यक्ष दिपेश तामाङले, खानेपानी आयोजना पालिकाकै नमुना आयोजना बनेको र अब पालिकाले पनि यस्तै खानेपानी आयोजना निर्माण गर्नेछ भन्दै, नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने युवाद्वय अध्यक्ष र सचिबलाई धन्यबाद साथै बधाई दिए ।

निर्माण चरणमा जस्तोसुकै सामाजिक तथा मानसिक समस्या भोगेपनि अहिले चौतर्फी रुपमा आफ्नो काम र नेतृत्वको प्रशंसा एबम् तारिफ हुन थालेपछि दंग छन यी युवा । आगामी दिनमा खानेपानी र सरसफाइमा आफ्नो गाउँलाई नमुना बनाउँदै, समुदायका मानिसहरुको जीवनस्तर सुधार्न होमस्टेको अबधारणा तथा बैज्ञानिक कृषि प्रणाली कार्यान्वयन गर्न वडा तथा पालिकासँग आवश्यक सहयोग र योजना माग गरिरहेका छन् ।
सुवास भन्छन्; “समुदायले युवाहरुलाई विश्वास गर्ने, हौसला दिने र सामाजिक काममा नेतृत्व गर्ने अवसर दिने हो भने ईच्छा शक्ति भएका युवाले आफ्नो गाउँको विकास गर्न सदैब तत्पर हुन्छन् र समाजको विकास हुन धेरै समय लाग्दैन, यसले युवा पलायन पनि रोकिनेछ ।”
लेखक : निमेष बोगटी गेर्खुटार युवा क्लब नुवाकोटका टिम लिडर हुनुहुन्छ ।


2765 पटक हेरिएको 

