काठमाडौ : नेपाली राजनीतिमा कहिलेकाहीं नयाँ नयाँ शब्दको प्रयोगले निक्कै चर्चा पाउने गरेको छ । कुनै समय राजनीतिक बृत्तमा खुब प्रयोग भएका ‘मने’ ‘निश्चित रुपमा’ भन्ने शब्दहरु जनस्तरमा समेत खुवै प्रयोगमा आएका थिए । अहिले भने नेपाली राजनीतिबाट सुरुवात भएको ‘नौटङ्की’ र ‘नाटक’ शब्दहरु सामाजिक सञ्जाल हुँदै जन जनको जिब्रोसम्म पुगेको छ । हालै काठमाडौमा भएको खानेपानी सम्बन्धी एउटा कार्यक्रममा यी दुवै शब्दको चर्चा मात्र भएन कि नेपालको राजनीतिले जनस्तरमा निराशा पैदा गरेको निचोड समेत निकालियो ।
प्रसंग थियो काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को १३ औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रम । उक्त कार्यक्रममा मेलम्चीको खानेपानी वितरणका लागि केयूकेएलको तयारी बिषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यपत्र उपर टिप्पणी, सारांश र निचोड प्रस्तुतीकरणका लागि विज्ञ समूहमा हुनुहुन्थ्यो पूर्व सचिव सुमन प्रसाद शर्मा र दिपेन्द्र विक्रम थापा, सहसचिव सुनिल कुमार दास, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य ।
विभिन्न ८ वटा बिषयवस्तुमा पालैपालो कार्यपत्र प्रस्तुत भएपछि विज्ञ समूहको तर्फबाट केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले कार्यपत्र माथि टिप्पणी प्रस्तुत गरेपछि पालो आयो पूर्व सचिव दिपेन्द्र विक्रम थापाको । थापाले सुरुमै भन्नुभयो ‘दुई अध्यक्षहरुको शब्द सापटी लिदै यो नौटङ्की पनि होइन, नाटक पनि होइन । मेलम्ची त हाम्रो पाइपलाइनमा छ त्यो असाध्यै राम्रो अवसर हो तर अन्तराष्ट्रिय अवसर पनि हेर्नुपर्छ ।’
विस्तृतमा थाहा पाउन यो भिडियो हेर्नुहोस्
पूर्व सचिव थापाले संसारमा सबैभन्दा बढी फ्रेस वाटर रहेको नेपालमा प्रतिबद्धता र व्यवस्थापन नहुँदा अहिलेको अवस्था भोग्नुपरेको बताउनुभयो । उहाँले मुसा खाने, साँप खाने, विच्छी खाने देश नेपाल भन्दा कयौं गुणा अगाडि बढेको भन्दै नेपालमा बौलाहा भएर काम गर्ने प्रतिबद्धता, भिजन र व्यवस्थापनको आवश्यक रहेको बताउनुभयो ।
उहाँले इरानको प्रसंग निकाल्दै इरानमा खानेपानीलाई पेट्रोलको तीन गुणा बढी मूल्य पर्ने स्मरण गर्नुभयो । पेट्रोलको भन्दा तीन गुणा बढी मूल्य पर्ने फ्रेस वाटरको स्रोत भएको देश नेपाल भने विकासको दृष्टिकोणले अति पछाडि परेको उहाँको भनाइ थियो ।


3045 पटक हेरिएको 

