काठमाडौ : काठमाडौ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर काठमाडौ उपत्यकामा खानेपानी आपूर्ति आपूर्ति गर्दै आएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भने सुख्खा समयमा दैनिक ८ करोड लिटर पानी मात्र उत्पादन तथा वितरण गरिरहेको छ ।
खानेपानी सचिव माधव बेल्वासे त उत्पादित पानी मध्ये ३० देखि ४० प्रतिशत सम्म चुहावट हुने भएकाले लिमिटेडले हाल दैनिक पाँच करोड लिटर पानी माात्र वितरण गरिरहेको बताउनुहुन्छ ।
सुख्खा याममा हुने पानीको हाहाकारलाई केही हदसम्म कम गर्न केयूकेएलले खानेपानी उत्पादनमा जोड दिएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले खानेपानीको उत्पादन बृद्धि गर्न इन्जेक पोइन्ट बृद्धि गर्ने, डिप ट्यूवबेलको संख्या बढाउने लगायत योजना रहेको जानकारी गराउनुभयो ।
सुख्खा मौसममा खानेपानी आपूर्ति बढाउन केयूकेएलको योजनाबारे यो भिडियो हेर्नुहोस् ।
वार्षिकोत्सव कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिमाण बढाउन सकिने बताउनुभयो । अन्य नगरपालिकामा रहेका मुहान पनि व्यवस्थित गरेर पानीको आपूर्ति बढाउन उहाँले लिमिटेडको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले केयूकेएलको काम गर्ने तरिका पूरानै तरिकाको भएको र मर्मत सम्भार गर्नुपरेमा झण्झटिलो प्रक्रिया भएकाले महिनौं बित्दा पनि बनाउन नसकिएको बताउनुभयो ।
लिमिटेडका अध्यक्ष तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाउनुभयो । मेलम्चीको पानी आएपछि लिमिटेडले साख बृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न उहाँले आह्वान गर्नुभयो ।
यही बर्षको अन्त्यसम्ममा मेलम्चीको पानी राजधानीमा वितरण गर्ने खानेपानी मन्त्रालयको योजना छ । मेलम्ची आएपछि केयूकेएलले उत्पादन गरिरहेको पानी सहित हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ ।