काभ्रेको नाला फोहोर पानी प्रशोधन प्रणाली संसारकै नमुना, यसरी व्यवस्थापन गरिन्छ दिसाजन्य लेदो (भिडियो रिपोर्ट)

काभ्रे : आजभन्दा १० बर्ष अघि बनेपा नगरपालिकाको वडा नं. ४ नालामा मानव मलमूत्र व्यवस्थापनको ठूलो चुनौती थियो । हरेक घरले सेफ्टिक ट्याङ्की बनाए पनि बर्षातको समयमा  सेफ्टिक ट्याङ्की आफै भरिएर आउने समस्याले स्थानीय बासिन्दा हैरान भएका थिए । सेफ्टिक ट्याङ्कीकै कारण समाजमा बेला बेलामा अन्तरद्वन्द्ध समेत भईरहन्थ्यो ।

सेफ्टिक ट्याङ्की बनाएर मात्र दिसाजन्य लेदो (मानव मलमूत्र) व्यवस्थापन नहुने रहेछ भन्ने निश्कर्षमा पुगिसकेका स्थानीय बासिन्दा यसको विकल्पको खोजी गरिरहेका थिए । तर स्थानीय बासिन्दासँग तत्काल त्यसको समाधानको उपाय थिएन । नाला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ भन्नुहुन्छ ‘विभिन्न माध्यमबाट हाम्रो भेट पद्मसुन्दर जोशी सँग भयो ।’ जोशी त्यत्तिबेला सिआईयुडी (Centre for Integrated Urban Development) का कार्यकारी निर्देशक हुनुहुन्थ्यो । यो २०६६ सालतिरको कुरा हो ।

आजभन्दा १०/११ बर्ष अघिको अवधारणाबाट बनेको नाला फोहोर पानी प्रशोधन प्रणाली अहिले विश्वमै नमुनाको रुपमा परिचित छ ।

हेरौं यो भिडियो रिपोर्ट :

यसरी बनेको थियो नाला फोहोर पानी प्रशोधन प्रणाली

घरघरमा सेफ्टिक ट्याङ्की बनाए पनि बर्षातमा आफै भरिएर आउने समस्याबाट वाक्क भईसकेका नालाका बासिन्दा फोहोर पानी प्रशोधन प्रणाली बनाउने कुराले उत्साहित भए ।

‘यसलाई नमुनाको रुपमा बनाउने सोच अनुसार प्रस्ताव अगाडि बढाईएको थियो । त्यसपछि घरधुरी सर्वेक्षण लगायतको काम सुरु गरिएको थियो ।’ नाला खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ त्यत्तिबेलाको सक्रियता सम्झनुहुन्छ । त्यसपछि के भयो त ? अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ‘सुरुमा यत्ति वृहत बनाउने भन्ने चाहिं थिएन । CIUD लाई इवाग (EWAG) ले प्लान्टको डिवासट्स मात्र निर्माण गर्ने बजेट सपोर्ट गरेको रहेछ । त्यसपछि प्रशोधन प्रणाली निर्माण बारे वाटर एड सँग पनि कुरा भयो ।’

‘नाला खानेपानी तथा सरसफाइ समितिसँग अब वाटर एड नेपाल पनि जोडियो । वाटर एडले लाइन कनेक्सनको काम गर्ने, जग्गा व्यवस्थापन, अदक्ष कामदार र घर घरबाट मुख्य लाइनमा जोड्ने कामको खन्नेपुर्ने काम समिति आफैले गर्नुपर्ने भयो ।’ वाटर एड नेपाल, CIUD र समिति गरी त्रिपक्षीय सम्झौता भएपनि २०६७ साल मंसिर ९ गते औपचारिक रुपमा फोहोर प्रशोधन प्रणाली निर्माणको सुरुवात गरिएको थियो ।

हरेक घरले उठाए ८ हजार नगद

सम्झौता अनुसार समितिले १४ आना जग्गाको व्यवस्था गरेको र पछि केही जग्गा समेत थप गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घर घरबाट मुख्य लाइनसम्म जोड्नका लागि खन्नेपूर्ने कामका अलावा हरेक घरपरिवारले ८/८ हजार रुपैयाँ संकलन गरिएको थियो । ‘त्यसबेला २२ लाखको जग्गा खरिद गरिएको हो । हामीले प्रत्येक घरबाट ८/८ हजार पैसा उठाएर जग्गा खरिद ग¥यौं ।’ उहाँले भन्नुभयो ।

अहिले नाला खानेपानी तथा सरसफाइ समिति सँग करिब २० लाख रुपैयाँ सञ्चित कोषमा रहेको छ । त्यही ब्याजबाट प्राप्त रकम, खानेपानी महसुल, उपभोक्ता सदस्यता नवीकरण शुल्क र फोहोर पानी बापतको शुल्क नै कार्यालय सञ्चालनको भरपर्दो आर्थिक स्रोत बन्दै आएको छ ।

समितिले १० युनिट बराबर १२५ रुपैयाँ खानेपानी महसुल संकलन गर्दै आएको छ । सदस्यता नवीकरण शुल्क बापत बार्षिक २ सय रुपैयाँ र ढल व्यवस्थापन बापत ७०० रुपैयाँ संकलन गर्दै आएको कोषाध्यक्ष यादव कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार