उपत्यकाको ८ लाख घरको छतमा कौसी खेती गर्न सकिने


काठमाडौ : काठमाडौ उपत्यकाका करिव ८ लाख घरको छतमा कौसी खेती गर्न सकिने सम्भावना देखिएको छ । सन् २०११ को जनगणना अनुसार काठमाडौं उपत्यका भित्र निर्मित घरको एक आना क्षेत्रफलको छत खेती योग्य क्षेत्रफलको रुपमा उपलब्ध हुन सक्ने देखिएको हो ।

कौसी खेती तालिम र सीपको प्रयोगको प्रभावकारित तथा सहरी कृषि र उत्पादनको बजार व्यवस्थापनका साथै कृषकहरुले सहजै लगानी र आर्थिक पहँुच पाउन स्थानीय तहमा हुनुपर्ने नीतिगत व्यवस्थाको बिषयमा छलफल गर्न आयोजना गरिएको अनलाइन कौशी खेती गोष्ठीमा यस्तो जानकारी गराईएको हो ।

काठमाडौं महानगरपालिकाले सन २०१३ देखि नै घरको छतमा खेती गर्ने प्रविधिको प्रवद्र्धन गर्दै आएको छ । महानगरपालिकाले कौसी खेती गर्न प्रोत्साहित गर्दै आएपनि नियमित अनुगमन र प्राविधिक परामर्शको अभावमा प्रभाबकारी हुन नसकेको कृषि विभागका अधिकृत सानु मैयाँ महर्जनले बताउनुभयो । ‘स्थानीय तहले अनुदान मात्र दिएर पुग्दैन आवश्यक सीप, कृषि सम्बन्धी ज्ञान र गुणस्तरीय वीउ विजन लगायत मल र सामग्रीको बजार व्यवस्थापनका लागि उचित कार्यक्रम तथा नीत ल्याउन ढिलो भईसकेको छ’ कृषि अधिकृत महर्जनले भन्नुभयो ।

कोैशी खेतीबाट मासिक २५ सय बचत


कौशी खेती सफलपूर्वक गर्ने घरले तरकारी किन्दा खर्च हुने मासिक २ हजार देखि २५ सय रुपैयाँसम्म बचत गरेको पार्ईएको छ । हिमालयन कलेज अफ एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजी (HICAST) का सोधकर्ता आरती डिसी र समुहले कौसी खेती तालिम पश्चात अभ्यास र प्रभावकारीताबारे गरेको अध्ययन प्रतिवेदनले यस्तो नतिजा निकालेको हो । सोधकर्ताले काठमाडौं महानगरपालिका क्षेत्रमा कौसी खेतीमा संलग्न १०० जनामा सर्वेक्षण र ४२ जनाको घरमा स्थलगत अनुगमन एवं अवलोकन गरी प्रश्नोत्तर गरेका थिए ।

करिव ४६% सहभागीहरु विगत १ देखि ४ वर्ष अगाडि देखि यस खेतीमा संलग्न रहेको र करिव ५८% सहभागीहरु तालिम बिना नै कार्यक्रममा सहभागी भएको पाईयो भने प्रायः सहभागीहरुमा वीउको शुद्धता र उम्रने क्षमता सम्बन्धी खासै ज्ञान नभएको र प्राय उपभोक्ताले बीउ किन्दा त्यसको म्याद गुज्रने अन्तिम मिति नै नहेर्ने गरेको पाईएको सोधकर्ता डिसीले जानकारी दिनुभयो ।

डिजिटल मार्केट ग्रीन ग्रोथका समिता कपालीले कृषि क्षेत्रमा संलग्न भएका व्यक्तिहरुको उत्पादन गर्ने क्षमता भएता पनि बजार व्यवस्थापन गर्ने सिप नभएकाले आफ्नो उत्पादनको उचित मुल्य पाउन नसकेको कुरा बताउनु भयो । गोष्ठीमा बोल्दै कपालीले स्वच्छ र ताजा खाद्य सामग्रीलाई बैकल्पिक बस्तुको रुपमा नभई मौलिक हकको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

कृषि क्षेत्रमा पैरवी गर्दै आउनु भएका एग्री नेपालका सुनिता न्हेमाफुकीले शहरी कृषि खेतीमा अनुदान दिनु भन्दा व्यवसायिक भवनहरुको कौसीमा कृषि गर्ने वातावरण उपलब्ध गराउनु आवश्यक रहेको बताउनुभयो । ‘कृषि क्षेत्रमा लगानी गर्नका लागि उपयुक्त बीउ र अन्य सामानहरु पाइने पसल सरकारले ठाउँ ठाउँमा व्यवस्था गर्नुपर्छ । कृषिमा संलग्न हुने व्यक्तिलाई शहरको कार्वन प्रिन्ट घटाउन सहयोग गरेकोले करमा छुट दिनुपर्छ ।’ न्हेमाफुकीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार