किर्तिपुरमा अब शहरव्यापी समावेशी सरसफाइ (CWIS) योजना, मानव मलमूत्र व्यवस्थापनको लक्ष्य तोकियो (भिडियो रिपोर्ट)

 370 पटक हेरिएको

काठमाडौ : किर्तिपुर नगरपालिकाले आफ्ना सबै नागरिकलाई सरसफाइ सुविधाको पहुँचमा ल्याउन शहरब्यापी समावेशी सरसफाइ योजना बनाईरहेको छ । विभिन्न चरणमा गरिएको छलफललाई नगरपालिकाका मेयर तथा उपमेयर र वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहितको कार्यशालामा करिब अन्तिम टुङ्गो लगाएको हो ।

विस्तृतमा हेरौं भिडियो रिपोर्ट :

शहरमा एउटै प्रविधि अपनाएर बनाएका सरसफाइ संरचना सबै नागरिकका लागि उपयुक्त नहुन सक्छ । त्यसैले जहाँ जस्तो प्रविधि उपयुक्त हुन्छ त्यस्तै प्रविधि अपनाई सरसफाइ सुविधामा सबैको पहुँच स्थापित गर्नु शहरव्यापी समावेशी सरसफाइको मुख्य अवधारणा हो । यसका लागि कुन ठाउँमा कस्तो प्रविधि उपयुक्त हुन सक्छ भनेर विभिन्न चरणमा छलफल गरिएको छ भने जनप्रतिनिधीहरुले महालक्ष्मी नगरपालिकाको लुभुमा रहेको दिसाजन्य लेदो प्रशोधन केन्द्र र बानेपा नगरपालिकाको नालामा रहेको फोहोर पानी प्रशोधन केन्द्रको समेत अवलोकन भ्रमण गरिसकेका छन् ।

किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन यस्ता बिषयमा जनप्रतिनिधीले नबुझ्दा सम्म योजना भित्र समावेश नहुने र प्राथमिकता नपाउने भएकाले यसबारेमा जनप्रतिनिधीले समेत बुझ्नै पर्ने बताउनुहुन्छ । उहाँले अब बन्ने योजनाहरु दिगो विकास लक्ष्य २०३० सँग तारतम्य मिलाएर मात्र निर्माण हुने र सरकारले राखेको लक्ष्य प्राप्तिका लागि नगरपालिकाका कार्यक्रमहरु केन्द्रित हुने बताउनुभयो । ‘सन् २०३० सम्ममा अरुको कुरा छोडौं, किर्तिपुरको सवालमा पूर्ण सरसफाइ र पूर्ण खानेपानी हुनुपर्छ, यो प्रतिबद्धता जाहेर गरेर हामीले काम गर्नुपर्नेछ ।’ उहाँले भन्नुभयो ।

शहर व्यापी समावेशी सरसफाइ योजना तर्जुमा गोष्ठीमा मानव मलमूत्रको व्यवस्थापनका लागि कुन वडामा कस्तो प्रविधि अपनाउने र सन् २०२५ तथा २०३० सम्मको प्रगति कति हुने भनी लक्ष्य समेत निर्धारण गरिएको छ ।

निर्धारित समयभित्रै लक्ष्य प्राप्तिका लागि ढलको सुधार विस्तार गर्ने, ढल प्रणाली जडान गर्न भूवनावट नमिलेका तथा आर्थिक हिसाबले सम्भावना नभएका क्षेत्रमा ढल रहित अर्थात दिसाजन्य लेदो प्रशोधन केन्द्र वा विकेन्द्रित फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरेर भएपनि दिसाजन्य लेदोको उचित व्यवस्थापन गर्ने किर्तिपुर नगरपालिकाको योजना छ ।

भूवनावटको हिसाबले वडा नं. ४ मा ढल प्रणालीमा जडान गर्न तत्काल सम्भव नदेखिएकाले त्यहाँ ढल रहित प्रविधि अपनाउने योजनामा उल्लेख छ । यस्तै फोहोर पानीको अलग्गै निकास र बर्षातको पानीको रिचार्ज तथा अलग्गै निकास गर्ने गरी योजनामा समेटेका छन् । शहरव्यापी समावेशी योजनाले राखेको लक्ष्य पूरा गर्न कुन वडामा के कस्ता क्रियाकलापहरु कहिले सञ्चालन गर्ने ? त्यसका लागि के कति बजेट लाग्छ ? र कहाँ कहाँ बाट जुटाउने जस्ता पक्षलाई अन्तिम रुप दिन बाँकी छ । अबको केही समयभित्रै किर्तिपुर नगरपालिकाको शहरव्यापी समावेशी सरसफाइ योजनाको अन्तिम खाका बन्ने परामर्शदाता एनएसआर कन्सल्ट (NSR Consult) का ई. बिमल तण्डुकारले बताउनुभयो ।

किर्तिपुर CWIS योजना बनाउने संसारकै पहिलो बन्ने

शहरव्यापी समावेशी सरसफाइको योजना बनाएर कार्यान्वयन आएपछि काठमाडौको किर्तिपुर नगरपालिका शहरव्यापी समावेशी सरसफाइ योजना बनाउने विश्वकै पहिलो नगरपालिका बन्ने वाटर एड नेपालका नीति विशेषज्ञ गोविन्द श्रेष्ठले बताउनुभयो ।

सिटी स्यानिटेशन प्लान धेरै देशमा बनाएको देखे पनि City Wide Inclusive Sanitation नै भनेर बनाएको अहिलेसम्म थाहा नभएको र जुन नगरपालिकाले बनाएर वेभसाईटमा अपलोड गर्छ उही पहिलो हुने उहाँले बताउनुभयो । सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन (CWIS) कसरी बनाउन सकिन्छ भनेर किर्तिपुर नगरपालिकामा पाईलोटिङ भईरहेको र किर्तिपुरमा सिकाईकै आधारमा राष्ट्रिय स्तरमा नीति बन्ने भएकाले पनि यो अति महत्वपूर्ण भएको उहाँको भनाइ थियो । ‘किर्तिपुरको सिकाईको आधारमा राष्ट्रिय स्तरमा शहरव्यापी समावेशी सरसफाइ सम्बन्धी नीति बन्नेछ । त्यो हेरेर अरु नगरपालिकालाई समेत यसरी हुन्छ है भनेर नमुना प्रदर्शन गर्नुपर्ने भएकाले पनि यो अति महत्वपूर्ण छ’ नीति विशेषज्ञ श्रेष्ठले भन्नुभयो ।

नगरसभा बाट पारित भएपछि कार्यान्वयन हुने

नगरपालिकाको शहरव्यापी समावेशी सरसफाइ (CWIS) योजनाको खाका बनेपछि नगर कार्यपालिकाको बैठकमा छलफल गरी नगरसभामा पेश गर्ने निर्णय गरिने वडा नं. १ का अध्यक्ष हर्षमान महर्जनले बताउनुभयो । उहाँले नगर कार्यपालिकाबाट आएको समावेशी सरसफाइ योजनालाई नगरसभाबाट पारित गरी कार्यान्वयनमा लगिने बताउनुभयो ।

नगरपालिकाका शहरव्यापी समावेशी सरसफाइको योजना बनेपछि किर्तिपुर नगरपालिका क्षेत्रको मानवमलमूत्रको उचित व्यवस्थापन हुने जनप्रतिनिधीहरुको अपेक्षा छ । नगरपालिकाले लिएको लक्ष्य पूरा गर्न कार्यान्वयनमा जोड दिने वडाध्यक्षहरु बताउँछन् । ‘हामीलाई हाम्रो नगरपालिका सुन्दर, सफा र हराभरा बनाउनुछ, यो नगरपालिकाको साझा लक्ष्य हो । नगरपालिकाको लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधीहरुले नसघाउने भन्ने त हुँदै हुँदैन’ वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जनले भन्नुभयो ।

वाटर एड नेपालले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको साझेदारीमा ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका र सिरहाको गोलबजार नगरपालिकामा स्यानिटेशन पोलिसी एण्ड फाइनान्सिङ परियोजना सञ्चालन गरिरहेको छ । दिसाजन्य लेदो व्यवस्थापनको प्रविधि एवं शहरव्यापी समावेशी सरसफाइको महत्वबारे विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको परियोजनाले यस सम्बन्धी नीति निर्माण र सरसफाइमा लगानी विश्लेषण गर्न प्राविधिक सहयोग समेत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार