मेलम्चीको पानी सुन्दरीजल आईपुग्यो, यसरी बगाईयो बागमतीमा (भिडियो)

काठमाडौ : मेलम्ची खानेपानी निर्माण सुरु भएको २२ बर्षको अन्तरालमा मेलम्चीको पानी बल्ल काठमाडौमा आईपुगेको छ । यही फागुन १० गते मेलम्चीको अस्थायी बाँध मार्फत सुरुङमा हालिएको पानी आज सुन्दरीजल ल्याएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुन्दरीजलमा खसेको छ ।

यस अवधिमा १९ प्रधानमन्त्री, २५ मन्त्री फेरिएका छन् । २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने सपना बाँड्नु भएको थियो । सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम सुरु गरेको थियो । त्यस यताका २२ वर्षमा देशमा १९ प्रधानमन्त्री फेरिएका छन् र २५ मन्त्री फेरिएका छन् । यसअघिका प्रधानमन्त्री, मन्त्री र खानेपानी सचिवले समेत मेलम्चीका सपना बाँडे पनि यसपाली भने साँच्चिकै मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइएको छ । सुरुङ मार्गबाट सुन्दरीजलसम्म ल्याएको मेलम्चीको पानीलाई प्रधानमन्त्री के.पी.शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन अन गरेर वाग्मतीमा बगाउनुभएको हो ।

हेरौं यो भिडियो

२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भए पछि सन् २००१ मा एसियाली विकास वैङ्कद्वारा १ सय २० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । कुल लागत अनुमान तत्कालीन अवस्थामा ४ सय ६४ मिलियन अमेरिकी डलर गरिएको थियो । सन् २००५ मा नोराड, सिडा र विश्व बैङ्कले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या भएको थियो ।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गहरुको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको थियो भने सन् २००८ पछि मात्र आयोजनाको हेडवर्क्स एवम् सुरुङ निर्माणका कार्य सुरु भएको थियो ।

सन् २००७ मा एसियाली विकास बैङ्कको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा विभाजन गरिएको थियो । साथै लागत अनुमान ३ सय १७ मिलियन अमेरिकी डलर कायम गरिएको थियो । मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २ सय ४९ (संशोधित ३ सय १२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ ।

सन् २००८ बाट सुरुङ निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चिनियाँ निर्माण व्यवसायीसँग सम्झौता भइ अप्रिल २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधान अनुसार ठेक्का अनुसारको ७८ दशमलव ६५ समय व्यतित हुँदासम्म जम्मा १५ दशमलव ३५ मात्र भौतिक प्रगति गरेपछि निर्माण कार्य सम्पन्न हुन सक्ने अवस्था नरहेकाले २५ सेप्टेम्बर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।

मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी भ्याट बाहेक रु ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएका थियो ।

तर, २०७५ पुसमा सिएमसीसँग सरकारले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । २०७६ साल असोज २६ गतेदेखि काम सुरु गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई बाँकी काम पूरा गर्ने गरी सम्झौता भएको थियो ।

घरी आर्थिक अभाव त घरी ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन नसकेको मेलम्चीको काम ढिलै भएपनि पछिल्लो ठेकेदार कम्पनी सिनो हाइड्रोले सम्पूर्ण काम सम्पन्न गरी सुन्दरीजल सम्म पानी ल्याईएको हो । हालका लागि अस्थायी बाँध बाँधेर पानी पठाएको र स्थायी हेडवर्क्सको काम भने दुई महिनाभित्र सम्पन्न हुने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार