काठमाडौ : खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्चीको पानी चैत्र महिना भित्रै काठमाडौ उपत्यकाबासीको घरघरमा वितरण गरिने बताउनु भएको छ । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याईपुर्याएको अवसरमा आयोजित बिशेष कार्यक्रममा उहाँले धारा जडान भईसकेका काठमाडौबासीको घरघरमा चैत्र महिनाभित्रै खानेपानी वितरण गर्न सकिने बताउनुभयो ।
हेरौं यो भिडियो :
उहाँले काठमाडौको खानेपानी समस्या मेलम्चीको पानीले समाधान गर्ने तत्कालीन कृष्ण प्रसाद भट्टराईले देखेको सपना प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पूरा हुन लागेको बताउनुभयो । मेलम्चीको काम सुरु भएको २२ बर्षको अवधिमा राजनीतिक व्यवस्था सँगै धेरै सरकारहरु परिवर्तन भएको स्मरण गर्दै उहाँले यत्ति लामो समय धैर्य गरेको भन्दै काठमाडौ उपत्यकाबासीलाई धन्यबाद व्यक्त गर्नुभयो । मेलम्चीको खानेपानी काठमाडौमा ल्याउनु देश विकास र समृद्धिका लागि कोशेढुंगा साबित भएको उहाँको भनाइ थियो ।
यही फागुन १० गते मेलम्ची नदीको पानी सुरुङमा पथान्तरण गरिएको थियो । उक्त पानी शनिबार सुन्दरीजलमा ल्याएर वाग्मतीमा खसाईएको हो । सुरुङ मार्गबाट सुन्दरीजलसम्म ल्याएको मेलम्चीको पानीलाई प्रधानमन्त्री के.पी.शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन अन गरेर वाग्मतीमा बगाउनुभएको थियो ।