खानेपानी इतिहासमा स्वर्ण युगको आरम्भ, १५ हजार धाराको सफल परिक्षण : सचिव बेल्बासे (भिडियो)

काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकाबासीको घरघरमा वितरण गर्न १५ हजार धाराको परिक्षण भईसकेको छ । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याई पुर्‍याएको अवसरमा आयोजित बिशेष कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले पहिलो चरणमा केयूकेएलले सेवा प्रवाह गरिरहेका घर मध्ये १ लाख १० हजार घरमा नयाँ प्रणाली अनुसार पानी वितरण गर्न ८० हजार धारा जडान भईसकेको र १५ हजार धाराको सफल परिक्षण भईसकेको जानकारी गराउनुभयो ।

उहाँले मेलम्चीको पानी सुन्दरीजलमा आईपुगेसँगै खानेपानीको इतिहासमा स्वर्ण युगको प्रारम्भ भएको बताउनुभयो । ‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौमा वितरण गर्न सकिनेमा ढुक्क भएका छौं । दैनिक १७ करोड लिटर पानी ल्याएर दुईवटा प्रशोधन केन्द्रमा प्रशोधन गरी विश्व स्वास्थ्य संगठन र खानेपानी गुणस्तर मापदण्ड बमोजिम पानी वितरण गर्नेछौं’ उहाँले भन्नुभयो ।

हेरौं यो भिडियो :

 

२ सय किलोमिटर वितरण सञ्जालको सफल परिक्षण

उहाँले  वितरण प्रणाली अन्तर्गत ११ सय २५ किलोमिटर मध्ये ११ सय किलोमिटर वितरण सञ्जाल सम्पन्न भईसकेको र २ सय किलोमिटर सञ्जालको परिक्षण समेत सम्पन्न भईसकेको बताउनुभयो । मेलम्चीको पानी ल्याएपछि वितरण सञ्जालको पूर्ण क्षमतामा परिक्षण गरिने भएपनि हाल ट्याङ्कर तथा वाग्मतीको पानीको माध्यमबाट परिक्षण भईरहेको जानकारी गराउनुभयो ।

हालस अस्थायी बाँधबाट प्रति सेकेण्ड २६० लिटर पानी सुरुङमा पठाएको भएपनि आगामी दुई महिनाभित्र स्थायी बाँध मार्फत दैनिक १७ करोड लिटर पानी काठमाडौमा ल्याएर वितरण गरिने जानकारी गराउनुभयो ।

मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि काठमाडौबासी मात्र नभई देशबासी नै हर्षित भएको छ भन्दै उहाँले लामो समयदेखिको सपना साकार भएकोमा सबैलाई बधाई दिनुभयो । हाल मेलम्ची नदीबाट १७ करोड लिटर ल्याएपनि भविश्यमा याङ्ग्री र लार्केको पानी समेत थप गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौमा वितरण गरिने उहाँले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार