काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ नालामा सञ्चालित फोहोरपानी प्रशोधन केन्द्र संसारकै नमुना प्रशोधन केन्द्र हो । मानव मलमूत्र व्यवस्थापनको हिसाबले अति सफल र नमुना मानिएको फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्न देश विदेशबाट समेत मानिसहरु आउने गर्छन् ।
नालामा जम्मा ३ सय ८८ घर छन् । तर कुनै पनि घरको शौचालयको न सेफ्टी ट्यांकी छ, न ढल मार्फत लगेर खोलामा नै मिसाईएको छ । र पनि शौचालयको कारण वातावरणीय प्रदुषण जस्ता समस्या अहिलेसम्म आएको छैन । फोहोरपानी प्रशोधन केन्द्र बनाएर मलमूत्रलाई प्रशोधन गर्न थालेपछि सेफ्टी ट्याङ्की बनाउनुपर्ने र भरिएपछि ट्याङ्कर बोलाएर खाली गर्नुपर्ने झण्झटबाट मुक्ति मिलेको हो । २०७० साल वैशाखमा प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि ३ सय ८८ घरको दिसाजन्य लेदो यसरी नै व्यवस्थापन हुँदै आएको छ ।
छरिएर रहेका घरहरुको शौचालयबाट आउने मानवमलमूत्रलाई एकै ठाउँमा जम्मा पार्ने र प्रशोधन गर्ने प्रविधिलाई DWATS अर्थात विकेन्द्रित फोहोर पानी प्रशोधन प्रणाली भनिन्छ । नालाको डिवाट्स सञ्चालन, निर्णय प्रक्रियामा स्थानीयबासिन्दाको सहभागिता, दिगोपनाका आर्थिक आधार, पारदर्शिता एवं नियमित साधारण सभा र बार्षिक लेखापरिक्षण जस्ता संस्थागत विकासका लागि अबलम्बन गरिएका विधि र प्रक्रियाका कारण पनि विश्वमै नमुना र सफल बनेको हो ।
नाला फोहोरपानी प्रशोधन केन्द्रको भित्री कथा विस्तृतमा हेर्नुहोस् यो भिडियो :


1339 पटक हेरिएको 

