राष्ट्रको खानेपानी आपूर्तिमा फण्ड बोर्डको योगदान १० प्रतिशत : सचिव बेल्बासे (भिडियो)

काठमाडौ : खानेपानी सचिव माधव बेल्बासेले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले राष्ट्रको खानेपानी आपूर्तिमा १० प्रतिशत योगदान दिएको बताउनुभएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको २५औं बार्षिकोत्सव समारोहमा सचिव बेल्बासेले ९१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको र त्यसमा फण्ड बोर्डको योगदान करिब १० प्रतिशत रहेको बताउनुभयो । ‘९१ प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा प्रदान गरिरहँदा १० प्रतिशत यस संस्थाको योगदान देखिन्छ, यो राष्ट्रको लागि ठूलो सहयोग र उपलब्धी हो ।’ उहाँले भन्नुभयो ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले स्थापना देखि हालसम्मको अवधिमा ३ हजार २३७ आयोजनाहरू सम्पन्न गरी २५ लाख ५९ हजार जनसंख्यालाई स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराएको छ । कोष विकास समिति (फण्ड बोर्ड) नेपालको ग्रामीण समुदायका वासिन्दालाई खानेपानी र सरसफाइको दिगो र भरपर्दो सुविधा उपलब्ध गराउने ध्येय सहित २०५२ साल चैत्र १ गते विकास समिति ऐन २०१३ अन्तर्गत स्थापना भएको हो ।

उहाँले फण्ड बोर्डले खानेपानीको पहिचान, प्लानिङ, र कार्यान्वयन तथा नेतृत्व विकास, जीविकोपार्जनका कार्यक्रमहरु निक्कै उदाहरणीय भएको बताउनुभयो । सचिव बेल्बासेले एक घर एक धाराको निर्माण तथा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न र दक्षिण एसियामै पहिलो खुलादिसामुक्त राष्ट्र घोषणाका लागि कोष विकास समितिले खेलेको भूमिका प्रति आभार व्यक्त गर्नुभयो । कोभिड – १९ प्रतिकार्यका लागि कोष विकास समितिले धेरै काम गरेको भन्दै उहाँले कोरोना रोकथाममा खेलेको भूमिका लागि पनि धन्यबाद व्यक्त गर्नुभयो । उहाँले पन्ध्रौं योजनाको अवधिभरिमा आधारभूत खानेपानी सुविधा ९९ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको जानकारी गराउँदै मध्यम र गुणस्तरीय खानेपानी एक चौथाइ अर्था २३ प्रतिशत जनसंख्यामा मात्र पुगेकाले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘आधारभूत खानेपानी १०० प्रतिशत पुर्‍याएर मात्र कोष विकास समितिको भूमिका टुङ्गिनेवाला छैन, त्यसैले यो आर्थिक बर्षको समाप्ति पछि बोर्डका भूमिका सकिन्छ भन्ने लाग्दैन’ उहाँले भन्नुभयो ।

हेरौं यो भिडियो :

इष्टिमेटमै पानी शुद्धिकरणका लागि बजेट विनियोजन गर्ने : कार्यकारी निर्देशक धिताल

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक चोक प्रसाद धितालले समुदायमा सुरक्षित खानेपानी सुविधा सुनिश्चित गर्न आगामी आयोजनाहरुको लागत इष्टिमेटमै पानी शुद्धिकरणका लागि बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले परिक्षण आयोजनाको रुपमा भुक्तपुर जिल्ला स्थित मनोहराबेसी र पिखेल खानेपानी आयोजनामा पानी शुद्धिकरणका लागि अटोमेटिक मल्टि ग्रेडेड प्रेसर फिल्टर्स जडान गरी यसै बर्ष सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो । ‘खानेपानीको गुणस्तर र संरचनाको दिगोपनको प्रत्याभूतिका लागि सबै आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागु गरिएको छ’ उहाँले भन्नुभयो ।

कोष विकास समितिको हालसम्मको प्रगति प्रस्तुतीकरण गर्दै कार्यकारी निर्देशक धितालले आयोजनाका प्रत्येक गतिविधिलाई पारदर्शी बनाई सुशासन कायम गर्न सामाजिक जवाफदेहिता (जागरण) कार्यक्रम, आयोजनासँग सम्बन्धित सवालमा आउन सक्ने गुनासो सम्बोधनका लागि गुनासो निदान कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो । यस्तै समुदायका महिलाहरुको जीवनस्तरमा सुधार ल्याउन सञ्चालन गरिएको जीविका कार्यक्रम तथा समुदायका सबै तप्का र वर्गको समान प्रतिनिधित्वका लागि महिला तथा गरिबि संवेदनशील अवधारणालाई कार्यक्रमको मूल प्रवाहीकरणमा समेटेको जानकारी गराउनुभयो ।

कार्यकारी निर्देशक धितालले वर्तमान समयमा ९१ प्रतिशत नेपालीले खानेपानीको सुविधा पाएको तथ्याङ्क भए तापनि बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक तथा मानव सिर्जित प्रकोपहरु र विश्वव्यापी जलवायु परिवर्तन जस्ता कारणले गर्दा स्रोत सुक्ने, प्रवृत्ति, मुहान जोखिममा पर्ने, संरचनाहरुमा क्षति पुग्ने समस्या बढ्दै गएको बताउनुभयो । ‘प्रणालीको मर्मत सम्भारमा ध्यान नदिने प्रवृत्तिले खानेपानी आयोजनाहरु डिजाइन गरिएको समयसम्म सुचारु हुन नसक्नु हामी सबैका लागि एक चुनौतीको बिषय बनेको छ’ उहाँले भन्नुभयो ‘यो समस्याको दिर्घकालीन समाधानका लागि कोष विकास समितिले वातावरणीय दृष्टिकोणबाट जोखिम हुन सक्ने सम्भावित क्षेत्रहरुको पहिचान गरी सम्पूर्ण आयोजनाहरुको वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना तयार गरेको छ ।’

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठले नेपालमा खानेपानीको सेवा सुविधा विस्तारमा कोष विकास समितिको भूमिका अहम् रहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा सरसफाइ प्रतिको सचेतना अभिबृद्धि गर्न र खुला दिसामुक्त क्षेत्र घोषणा गर्न कोष विकास समितिको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । संविधानतः सानो प्रकृतिको खानेपानी आयोजना स्थानीय सरकार र ठूला प्रकृतिको खानेपानी संघीय सरकारले बनाउने दायित्व भएकाले कोष विकास समितिको भूमिकालाई स्पष्ट बनाएर अगाडि बढ्न सके कोष विकास समितिको क्षेत्र अझ फराकिलो हुने बताउनुभयो ।

 

 

यस्तै खानेपानी मन्त्रालयका सहसचिव एवं कोष विकास समितिका अध्यक्ष सुनिल कुमार दासले वर्तमान समयमा कोष विकास समितिको उपदेयता अझ बढ्दै गएको बताउनुभयो । ‘हामीले राष्ट्रिय लक्ष्य पूरा गर्नुपर्नेछ, अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्नुपर्नेछ, खानेपानी सेवाको पहुँच नपुगेको ९ प्रतिशत जनसंख्या बाँकी छन्, त्यहाँ खानेपानी सुविधा पुर्‍याउनु पर्नेछ, विगतमा निर्माण भएका खानेपानी प्रणालीहरु विभिन्न कारणले गर्दा सुचारु अवस्थामा छैनन्, त्यसलाई सुचारु अवस्थामा ल्याउनुपर्नेछ, सेवा अभिबृद्धि गर्नुपर्नेछ, सरसफाइ सम्बन्धी काममा भर्खर पहिलो खुड्किला पार गरेका छौं, पूर्ण सरसफाइ तर्फको यात्रा गर्नुपर्नेछ, त्यसैले फण्ड बोर्डको उपदेयता हिजो पनि थियो, अहिले पनि छ, भोलि पनि रहनेछ’ उहाँले भन्नुभयो ।

 

कार्यक्रममा कोष विकास समितिका बोर्ड सदस्य एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना तथा सहदेव बोगटी, राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामा, फण्ड बोर्डका परिकल्पनाकार टासी तेञ्जिङ, पूर्व सचिव सुमन प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार