गोठेमलले ४० वर्ष रानो बोटमा लटरम्म सुन्तला

तनहुँ : मकै र कोदो फल्ने बारीमा दुःख गर्दा छ महिना खान पनि मुस्किल पर्थो तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषकका लागि । केही समय अघिसम्म दुःख गरे पनि सुख नपाएका उमाचोका कृषक यतिबेला सुन्तला बेचेर लखपति बनेका छन् । सुन्तलाको बोटबाट मनग्गे आम्दानी हुन थालेपछि कृषकले गोठेमल र गौमुत्रको प्रयोग गरी पुरानो सुन्तालको बोटलाई संरक्षण गर्न थालेका छन् ।

सुन्तलाको बोट वरीपरी वर्षमा दुई पटक गरी छ डोको मल , जरा, पात तथा हाँगामा गाईको पिसाब (गौमुत्र) राख्न थालेपछि ठुला अनि लटरम्मै दाना फल्ने गरेका छन् । गोठेमल र गौमुत्र सही प्रयोग गर्दा ४० वर्ष भन्दा पुरानो बोटबाट फल दिने गरेको पूर्व कृषि प्रसार अधिकृत समेत रहनु भएका रामबहादुर थापा बताउनुहुन्छ । पुरानोबोटलाई गाई, भैसीको मोल र गौमुत्र दिँदा पोटिलो अनि ठुलो दाना लागेकोले तन्देरी बोट जस्तै फल लागेका थापाले जानकारी दिनुभयो । ‘‘नयाँ बोट हुर्काउँदा लटरम्ब फल लाग्न १० वर्ष कुर्नुपर्छ सहीमात्रमा गोठेमल र गौमुत्रको प्रयोग गरियो भने ५० वर्ष भन्दा बढी समय आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेको छ’’ थापाले भन्नुभयो । १६ रोपनी जमिनमा अधिकांश ४० वर्ष पुरानो बोट रहेको र तिनैबोट वार्षिक १४ देखि १६ लाख रुपियाँ आम्दानी लिने गरेको थापाले जानकारी दिनुभयो ।

कृषक निर्मल अधिकारी धेरै समय आम्दानी लिन सकिने हुनाले सुन्तलाको बोटलाई पेन्सन बोट ठान्नुहुन्छ । सुन्तलाको बोट हुर्कि सकेपछि वर्षौ सम्म आम्दानी लिन सकिने भएकोले सरकारी पेन्सन बुझे जस्तै लागेको अधिकारी बताउनुहुन्छ । ‘‘सरकारी जागिर खाएर पेन्सन लिन २० वर्ष सेवा गर्नु पर्छ तर १० वर्ष दुःख गरे पछि ४० वर्ष भन्दा बढी आम्दानी सुन्तलाबाट लिन सकिन्छ, अधिकारीले भन्नुभयो, मेरो लागि सुन्तला बोट पेन्सन बोट बनेको छ’’ ।

गोठेमल र गौमुत्रको कारणले आफ्नो बुबाले ४० वर्ष अघि लगाएको सुन्तलाको बोटले अझै फल दिईरहेकोले बढी आम्दानी लिन पेन्सन भन्दा सुन्तलाको बोट उपयुक्त लागेको अधिकारी बताउनु हुन्छ । ‘अधिकारी र उहाँका दाई विश्वहादुर अधिकारीले सयुक्त रुपमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएको छ । दुवै दाजुभाई सुन्तला बेचेर लखपति बन्नु भएको छ । गुजारामूखी रहेको सुन्तला खेतीलाई दाजुभाई मिलेर १५ वर्ष अघि देखि व्यवसायिक बनाउनु भएको छ । गत वर्ष सुन्तला बेचेर ६५ लाख र यो वर्ष ६० लाख रुपियाँ आम्दानी गरेको अधिकारीले जानकारी दिनुभयो । यो वर्ष पानी धेरै पर्दा उत्पादनमा ह्रास आएकोले पाँच लाख कम आम्दानी भएको उहाँले जानकारी दिनुभयो । ८५ रोपनी क्षेत्रफलमा एक हजार आठ सय विरुवा सुन्तलाको बोट रहेको वार्षिक ६० देखि ७० लाख रुपियाँ आम्दानी हुने गरेको अधिकारी बताउनुहुन्छ । अधिकारी उमाचोक सुन्तला बल्क सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ । उमाचोक गाउँबाट मात्रै वार्षिक रुपयाँ २ करोड देखि २ करोड ३० लाख सुन्तला विक्री हुने गरेको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र तनहँुका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले उमाचोक जिल्लाकै नमुना सुन्तला बगान भएको र कृषकहरु सुन्तला बेचेर लखपति भएको बताउनुभयो । यहाँका कृषकहरु नमुना भएकाले उमाचोक सुन्तला ब्लक सञ्चालक समितिलाई सुन्तला खेती प्रवद्धनको लागि २२ लाख ७२ हजार ४९३ रुपियाँ चालु आर्थिक वर्षमा केन्द्रले सहयोग गरेको तिवारी बताउनुहुन्छ । सुन्तला खेतीको विस्तार, रोगको निवारण, साना सिंचाई कार्यक्रम सञ्चालन, सुन्तला विरुवा रोपण, वगैचा सुदृढीकरण लगायतको लागि उक्त रकमको व्यवस्था गरिएको र कृषकको लागत सहभागिता समेत गरी ४० लाख रुपियाँमा रहेको तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा पनि समितिले लागत सहभागिताको लागि १३ लाख ७६ हजार ७७१ रुपियाँ सहयोग रकम प्राप्त गरेका थिए ।

यहाँ उत्पादित सुन्तला दमौली, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँमा निर्यात हुँदै आएको समितिले जनाएको छ । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले सुन्तला खेतीको लागि नमुना गाउँ भएकोले सुन्तला ढुवानीलाई सहज बनाउन उक्त गाउँ जाने मोटरबाटोलाई प्राथमिकता दिएर स्तरउन्नती गरिएको जानकारी दिनुभयो । यहाँको ब्लक क्षेत्रमा १५० हेक्टर जमिनमा सुन्तला खेती भईरहेको र २३५ घर आवद्ध भएका छन् भने २७ हजार ९१३ वटा विरुवा लगाईएको समितिले जनाएको छ । सुन्तला बोटले लगाएको तीन वर्ष देखि फल दिन थाल्ने र १० वर्ष पछि धेरै फल दिन थाल्ने अधिकारी बताउनहुन्छ । उमाचोक गाउँको माटोमा चट्टान नभएको र उत्तरतिर फर्किएको भूगोल भएकोले सुन्तला खेतीको लागि उपयुक्त भएको उहाँले जानकारी दिनुभयो ।
साभार अमरराज नहर्की गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार