ललितपुर : महालक्ष्मी नगरपालिकाको वडा नं. ८ फूलबारी टोलको हरेक घरको ढोका नजिकै हरियो बाल्टिन राख्नुपर्ने नियम जस्तै बनेको छ । घर बाहिर गएपछि हात मुख धोएर मात्र घरमा प्रवेश गर्न हरेक घरमा पानीले भरिएको बाल्टिन र साबुनको व्यवस्था गरिएको हो । ढोका नजिकै बाल्टिन राख्दा कामको धुनमा भुलिहालेछ भने पनि हात धुन सम्झाउने र हातमुख धोएर घरभित्र प्रवेश गर्दा किटाणु भित्र प्रवेश गर्न नपाउने फूलबारी टोलकी सुमना बिसंकेले बताउनुभयो ।
हेरौं भिडियो रिपोर्ट :
फूलबारी टोलका बासिन्दाले यसअघि हातै नधोएका भने होइनन्, तर कोरोना भाइरसको संक्रमण फैलिएपछि यसबाट बच्न हात धुने बानीमा अझ परिवर्तन भएको हो । फूलबारी टोलकी सजना बिसंकेले अहिले त जुनसुकै बस्तु छोएपछि हात धुने गरेको बताउनुभयो । स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था एन्फोले महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ को ११७ घरमा बाल्टिन तथा ६६ वटा विद्युतीय केट्ली वितरण गरिएकोमा फूलबारी टोलमा मात्र ८१ वटा हात धुने बाल्टिन र ४९ घरमा विद्युतीय केट्ली वितरण गरिएको हो । बाल्टिन तथा हात धुने सामग्रीले कोरोनाबाट बच्न र हातको स्वच्छता कायम राख्न मद्दत पुगेको स्थानीय बासिन्दा बताउँछन् ।
विश्वव्यापी महामारीको रुपमा फेलिएको कोरोना भाइरसले ललितपुरको विभिन्न ठाउँका व्यक्ति संक्रमित भएपनि फूलबारी टोलका भने कोही पनि संक्रमित भएनन् । आफूहरुले हातको स्वच्छता र रोकथामका उपायहरु अपनाएकाले संक्रमण फैलिन नपाएको फूलबारी टोलबासी बताउँछन् । ‘हामीले एन्फोले दिएको केट्लीमा पानी उमालेर पियौं, केही चीजबीज छोएपछि साबुन पानीले मिचीमिची हात धोयौं, सर मिसले भने अनुसार नै मास्क पनि लायौं । हामीले त कोरोना आउनै दिएनौं’ फूलबारी टोलकी लक्ष्मी बिसंकेले भन्नुभयो ।’

महालक्ष्मी नगरपालिकाको वडा नंं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ समेत समुदायमा हात धुने बानीमा आएको परिवर्तनले सन्तुष्ट हुनुहुन्छ । समुदायका लागि प्रदान गरिएको स्वच्छता सामग्रीहरुको राम्रो सदुपयोग भएको र समुदायमा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तनमा परियोजनाले सघाउ पु¥याएको उहाँले बताउनुभयो ।
कोरोनाको समयमा मात्र होइन, अन्य समयमा समेत हात धुने फूलबारी टोलबासीको प्रतिबद्धता छ । उहाँहरु भन्नुहुन्छ । ‘रोग त अरु पनि रोग नै हो नि । हात नियमित धुँदा रोगको संक्रमणबाट बच्न सकिन्छ भने यत्ति सानो काम किन नगर्ने ?’


1354 पटक हेरिएको 

