मानव मलमूत्रले भरिएको सेफ्टिक ट्याङ्क : जहाँ नगरपालिका आफैले खाली गरी बिसर्जन गर्छ (भिडियो रिपोर्ट)

सिरहा (गोलबजार) : दिसाले चर्पीको सेफ्टिक ट्याङ्क भरिए के गर्ने ? यो सम्बन्धित घरधनीको चिन्ताको बिषय त हो नै, गाउँपालिका तथा नगरपालिकाको पनि सरोकारको बिषय हो । तर कतिपय गाउँपालिका तथा नगरपालिका सँग दिसाजन्य लेदो व्यवस्थापनबारे कुनै योजना नै पाईदैन ।

दिसाजन्य लेदोको व्यवस्थापन गर्ने काम सम्बन्धित स्थानीय सरकारको प्राथमिकतामा नपर्दा यस सम्बन्धी न नीति बनेका छन् न त दिसाजन्य लेदोको व्यवस्थित ढंगबाट नै बिसर्जन हुँदै आएको छ । प्रायः निजी ट्याङ्कर व्यवसायीले खाली गरेर विसर्जन गर्ने अभ्यास नै देशभर व्याप्त छ । दिसाजन्य लेदो व्यवस्थापनबारे ठोस कार्ययोजना नभईरहेको वर्तमान अवस्थामा सिरहाको गोलबजार नगरपालिकाले भने सेफ्टिक ट्याङ्क आफैले खाली गरी बिसर्जन गर्न थालेको छ ।

बिस्तृतमा हेरौं यो भिडियो रिपोर्ट : 

नगरपालिकाको सेवाबाट सरसफाइमा विपन्न बर्गको पहुँच बृद्धि

नगरपालिकाले नै सेफ्टिक ट्याङ्की खाली गरेर बिसर्जन गर्ने सेवा प्रदान गरेपछि सेप्टिक ट्याङ्क भरिए के गर्ने भन्ने चिन्ता लिईरहनु पर्दैन । सेफ्टिक ट्याङ्क भरिए पछि सम्बन्धित घरधनीले नगरपालिकामा आएर १ हजार ५ सय रुपैयाँ सेवा शुल्क बुझाउनुपर्छ । त्यसपछि नगरपालिकाले ट्याङ्कर चालक र कर्मचारी पठाउँछ । नगरपालिकाको कार्यपालिका सदस्य एवं सरसफाइ फोकल पर्सन उर्मिला कार्की भन्नुहुन्छ ‘नगरपालिकाको ट्याङ्कर चालक र कर्मचारी सेवाग्राहीको घर पहिचान गर्दै सम्बन्धित ठाउँमै पुग्नुहुन्छ, त्यसपछि निकालेको दिसाजन्य लेदो बस्तीभन्दा टाढा रहेको मैनवती खोलाको बगरमा लगेर विसर्जन गरिन्छ ।’ उहाँका अनुसार लेदो मानवबस्ती भन्दा धेरै टाढा रहेको मैनवती खोला किनारमा डोजरले खाल्डो खनेर बिसर्जन गर्ने र भरिए पछि माटोले पुरिदिने भएकाले यो जोखिम रहित छ ।

नगरपालिकाको यो सेवाबाट सरसफाइमा विपन्न बर्गको पहुँच बृद्धि भएको स्थानीय बासिन्दा बताउँछन् । निजी व्यवसायीहरुबाट यो सेवा लिनु परे दोब्बर शुल्क तिर्नुपर्ने र भनेकै बेला सेवा नपाउने सर्वसाधारण बताउँछन् । ‘नगरपालिकामा भएपछि भनेकै बेला गाडी आईपुग्छ, अहिलेको जमानामा १५ सय रुपैयाँ त्यत्ति महँगो पनि होइन, ट्याङ्कीको लेदो कहाँ फ्याँक्छ भन्ने चिन्ता पनि भएन, यो सेवाले गर्दा सबैले सजिलो भएको छ’ गोलबजार ४ का सुमन मल्लिकले भन्नुभयो ।

नगरपालिकाले नै सेफ्टिक ट्याङ्क खाली गराउन थालेपछि परम्परागत रुपमा मानिसले खाली गर्ने चलन समेत हट्दै गएको गोलबजार नगरपालिकाका २ का विनोद मल्लिक बताउनुहुन्छ । उहाँका अनुसार यो सेवा नहुँदा अलि बढी नै पैसा दिएर भएपनि मानिसलाई नै लगाउने चलन थियो । यसले विभिन्न दुर्घटना हुने र स्वास्थ्यमा जोखिम बढाउँथ्यो ।’ परम्परागत रुपमा गरिने सफाइ भन्दा अहिलेको तरिका कयौं गुणा सुरक्षित रहेको उहाँको दाबी छ ।

दिसाजन्य लेदो प्रशोधन प्लान्ट निर्माण गर्ने योजना

गोलबजार नगरपालिकाको आधारभूत घरधुरी सर्वेक्षण २०७७ अनुसार १० हजार ४ सय ६८ घरपरिवारको बसोबास छ । ती मध्ये ४२ प्रतिशत चर्पी १ खाल्डे छन् भने २३ प्रतिशत २ खाल्डे छन् । १९ प्रतिशत घरको चर्पी भने सेफ्टिक ट्याङ्क सहितका छन् । यस हिसाबले सेप्टिक ट्याङ्की भरिने समस्या अहिले भन्दा भविश्यमा बढ्न सक्ने सम्भावना धेरै छ । यिनै समस्यालाई ध्यानमा राखी नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन प्लान्ट निर्माण गर्ने योजना समेत बनाएको छ । नगरपालिकाको कार्यपालिका सदस्य एवं सरसफाइ फोकल पर्सन उर्मिला कार्कीका अनुसार यसका लागि जग्गा प्राप्तिको काम भईसकेको छ । ‘नगरपालिकाले वास प्लान बनाए पश्चात ट्रिटमेन्ट प्लान्ट निर्माणको लागि जग्गा छनौटको भई सकेको छ । अहिले हामी योजनाकै क्रममा छौं । स्रोतको खोजी, बजेट विनियोजन लगायत योजनाकै चरणमा छौं । हामी निकट भविश्यमै कार्यान्वयनमा चरणमा पुग्नेछौं ।’ वास फोकल पर्सन कार्कीले भन्नुभयो ।

नगरपालिकाले हाल अपनाईरहेको दिसाजन्य लेदो विसर्जनको काम त्यत्ति सुरक्षित नहोला । बस्तीभन्दा धेरै टाढा लगेर बिसर्जन गरिएपनि विभिन्न माध्यमबाट मानिसमा त्यसको असर देखिन सक्छ । तर नगरपालिका आफैले सुरुवात गरेको सेप्टिक ट्याङ्की खाली गरी बिसर्जन गर्ने सेवाको भने प्रशंसा गर्नैपर्छ । माग अनुसार सेवाको आपूर्ति बढाउदै लैजाने र दिसाजन्य लेदो प्रशोधन प्लान्ट सञ्चालन गर्ने हो भने गोलबजार नगरपालिका, दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्ने देशकै नमुना नगरपालिका बन्न सक्छ ।

२०२६ भित्र सुरक्षित सरसफाइ सेवाको स्तर २५ प्रतिशत पुर्‍याउने लक्ष्य

गोलबजार नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) २०७७–२०८७ निर्माण गरिसकेको छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) सरकारको क्षेत्रगत विकास योजना तथा विश्वव्यापी दिगो विकास लक्ष्यसँग आबद्ध गराई निर्माण गरिएको हो । यस अर्थमा नगरपालिकाले सञ्चालन गर्ने वास क्रियाकलापहरु क्षेत्रगत सुधार योजनाले राखेको लक्ष्य पूरा गर्न केन्द्रित हुनेछन् ।

क्षेत्रगत सुधार योजनालाई आधार मानेर गोलबजार नगरपालिकाको वास प्लानमा पनि तत्कालीन, मध्यकालीन र दिर्घकालीन लक्ष्य निर्धारण गरिएको छ । वास प्लान अनुसार नगरपालिकाले सन् २०२३ देखि २०२६ सम्ममा आधारभूत सरसफाइ सेवाको स्तर ७५ प्रतिशत र सुरक्षित सरसफाइ सेवाको स्तर सुधार गरी २५ प्रतिशत पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ ।

सन् २०२२ सम्ममा सुरक्षित सरसफाइको स्तर १५ प्रतिशत रहने आँकलन गरेको नगरपालिकाले २०३० भित्रमा भने यसलाई बृद्धि गरी ५० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य राखिएको छ । यो एउटा रोलिङ योजना हुने र प्रत्येक तीन बर्षमा अद्यावधिक गरिने गोल बजार नगरपालिकाको वास प्लानमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार