काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठले आकाशेपानी संकलन तथा भूमिगत पानीको पुनःभरण सम्बन्धी नीति तयार पार्ने बताउनुभएको छ । विश्व पानी दिवसको पूर्व सन्ध्यामा काठमाडौमा आयोजित ‘भूमिगत पानीको महत्व’ बिषयक अन्तरक्रिया कार्यक्रममा महानिर्देशक श्रेष्ठले स्थानीय तथा प्रदेश सरकार र सरोकारवाला निकायसँग समन्वय गरी नीति बनाईने बताउनुभयो ।
वाटर एड नेपाल, एस.एन.भी.नेपाल, इन्टरनेशनल वाटर म्यानेज्मेन्ट इन्स्टिच्युट, स्मार्ट पानी र नेपाल नगरपालिका संघको सहकार्यमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको कार्यक्रममा महानिर्देशक श्रेष्ठले मानव संसाधनको अभाव र रिसर्च एण्ड डेभेलप्मेन्टको क्षेत्रमा बजेट विनियोजन नहुँदा आवश्यक भए पनि नीति तयार पार्न नसकेको बताउनुभयो ।
हेर्नुहोस् यो भिडियो :
सरकारले सबै नागरिकलाई सुरक्षित पानी र सरसफाइ सुविधा पुर्याउन सतहको पानी सुक्दै गएको अवस्थामा भूमिगत पानीकै माध्यमबाट खानेपानी आपूर्ति गराईरहेको बताउँदै उहाँले भूमिगत पानीको पुनःभरण महत्वपूर्ण रहेको बताउनुभयो । महानिर्देशक श्रेष्ठले संघीय सरकारसँग ग्राउण्ड वाटर रिचार्ज गर्ने प्राजेक्टहरु नभएपनि नगरपालिकाले पुराना पोखरीहरु संरक्षण गर्ने, आकाशेपानी संकलन तथा भूमिगत पानीको रिचार्ज गर्ने कामहरु भईरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले घरायसी तवरबाट पनि भूमिगत पानीको पुनःभरणमा योगदान दिन सकिने र यसका लागि घरको हाताभित्र टिलिक्क टल्कने टायल नबिछ्याउन आग्रह गर्नुभयो । उहाँले खानेपानी तथा ढल व्यवस्थापन विभागले नेपाल नगरपालिका संघ सँगको समझदारीमा प्रदेश ५ का १०९ वटा र वाग्मती प्रदेशका ६८ वटा स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाईरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भूमिगत पानीका सम्बन्धमा विभिन्न पाँचवटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । स्मार्ट वास सोलुसन्सका अध्यक्ष एवं खानेपानी विभागका पूर्व महानिर्देशक रामदीप शाहले स्मार्ट वास सोलुसन्सले नीति निर्माणमा सहजीकरण, पैरवी र स्मार्ट वाटर म्यानेज्मेन्टको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।


1413 पटक हेरिएको 

