गुड नेबर्सले बनायो छात्राहरुका लागि महिनावारी स्वच्छतामैत्री शौचालय र आराम कक्ष


काठमाडौ : गुड नेबर्स इन्टरनेशनल (Good Neighbors International) ले छात्राहरुका लागि ३३ वटा महिनावारी स्वच्छतामैत्री शौचालय र १ सय ८ वटा आराम कक्ष (एम एच एम कर्नर) निर्माण गरेको छ । बाजुरा, बर्दिया र दार्चुलामा सन् २०१७ देखि २०२० सम्म सञ्चालन गरेको महिनावारी स्वच्छता (MHM) सम्बन्धी परियोजनाले महिनावारी स्वच्छतामैत्री शौचालय र आराम कक्ष निर्माणका साथै महिनावारी स्वच्छता किट समेत वितरण गरिएको गुड नेबर्स इन्टरनेशनलका पब्लिक हेल्थ म्यानेजर राम नरेश यादवले जानकारी दिनुभयो ।

परियोजनाको प्राप्ति तथा निष्कर्ष र सिकाई आदानप्रदान गर्न आयोजना गरिएको कार्यक्रममा पब्लिक हेल्थ म्यानेजर यादवले परियोजना मार्फत ३१ वटा खानेपानी संरचना तथा २५ वटा फोहोर विसर्जन गर्ने खाल्डो निर्माण गरेको र १३ हजार ५४८ जनालाई महिनावारी स्वच्छता किट वितरण गरेको जानकारी गराउनुभयो ।

गुड नेबर्सले सुरुमा सन् २०१७ मा डोटी जिल्लाको १ हजार ५० जना किशोरी, १० वटा सामुदायिक विद्यालय र २ वटा स्वास्थ्य चौकीलाई लक्षित महिनावारी स्वच्छता पाईलटिङ प्रोजेक्ट चलाएको थियो । त्यसपछि सन् २०१९ मा बाजुरा, बर्दिया र दार्चुलामा ८ हजार २ सय महिला र ७ हजार २ सय १९ पुरुष तथा ३० वटा स्कुलमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम अवधिमा ३१३ जना शिक्षक, १६ हजार ७२१ विद्यार्थीलाई तालिम प्रदान गरिएको पब्लिक हेल्थ म्यानेजर यादवले जानकारी दिनुभयो । यस्तै ८ हजार ९ सय ३० जना विद्यार्थीलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिईएको, २ सय ५५ बाल क्लव, ९ सय ६ जना धामी तथा १ हजार १ सय २९ जना महिला स्वास्थ्य स्वयं सेविकालाई तालिम दिईएको जानकारी दिनुभयो ।

परियोजना अवधिमा सञ्चालित कार्यक्रमहरुबाट छात्राहरुले महिनावारी लज्जाको बिषय नभई गौरवको बिषयको रुपमा स्वीकार गरेको गुड नेबर्स इन्टरनेशनलकी हेल्थ को –अर्डिनेटर सिर्जना जोशीले बताउनुभयो । उहाँले परियोजना सञ्चालनको बेला गरिएको आधार सर्वेक्षणमा ५२ प्रतिशत किशोरीले पहिलो पटक महिनावारी हुँदा अपनाउनुपर्ने सचेतताबारे थाहा भएको बताएकोमा परियोजनाको अन्त्यमा यसबारे ७१ प्रतिशतले जानकार रहेको बताएका थिए । यस्तै पहिलो चोटि महिनावारी भएको कुरा अरुलाई भन्न लाज मान्ने २८ प्रतिशत रहेकोमा परियोजना अवधिमा त्यस्तो गाह्रो मान्ने किशोरीको प्रतिशत १८ मा झरेको उहाँले बताउनुभयो ।

परियोजनाको प्राप्ति एवं निष्कर्ष

गुड नेबर्स इन्टरनेशनलले सञ्चालन गरेको महिनावारी स्वच्छता परियोजनाले (एमएचएम प्रोजेक्ट) ले निम्न प्राप्ति एवं निष्कर्ष हासिल गरेको छ ।

♦ ९८ प्रतिशत छात्राहरुको प्याडमा पहुँच पुगेको

♦ ९६ प्रतिशत स्कुलमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय रहेको ।

♦ ९५ प्रतिशत शौचालयमा पानीको उपलब्धता रहेको ।

♦ ७९ प्रतिशत शौचालयमा साबुनको व्यवस्था रहेको ।

♦ ९१ प्रतिशत शौचालयमा डस्टबिनको व्यवस्था भएको ।

♦ ९५ प्रतिशत शौचालयमा छेस्किनीको प्रबन्ध भएको ।

♦ २९ प्रतिशत छात्राहरु महिनावारी प्रक्रियाबारे जानकार नरहेको ।

♦ ९१ प्रतिशत महिलाहरु महिनावारीको समयमा विभिन्न सामाजिक बन्देजहरु पालना गर्न बाध्य भएको ।

♦ १९ प्रतिशत महिलाहरु भगवानको डरले गर्दा महिनावारी सम्बन्धी कुंसंस्कार मान्न बाध्य भएको ।

गुड नेबर्स इन्टरनेशनलका प्रोग्राम डेभलप्मेन्ट डाइरेक्टर रुपा मिश्रले हरेक क्रियाकलापहरु सञ्चालन गर्दा स्थानीय सरकारको योजना सँग समाहित गरेर मात्र सञ्चालन गर्ने गरेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणको काममा गुड नेबर्सले ७० प्रतिशत र ३० प्रतिशत विद्यालय वा स्थानीय सरकारको लगानी हुनुुपर्ने प्रावधान रहेको बताउनुभयो । लागत सहभागितामा विद्यालय वा स्थानीय सरकारलाई समेत समाहित गर्दा दिगोपनामा टेवा पुगेको उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीहरुले परियोजना सकिएपछि कार्यक्रमको निरन्तरता र दिगोपनाको संरचनाबारे जिज्ञासा राखेका थिए ।

 

 

 

महिनावारी स्वच्छतामैत्री शौचालयलाई प्रबर्द्वन गर्न आवश्यक : संयोजक श्रेष्ठ

एमएचएम पार्टनर्स एलायन्सका संयोजक गुणराज श्रेष्ठले गुड नेबर्सले महिनावारी स्वच्छताको क्षेत्रमा गरेको काम प्रसंशनीय रहेको बताउनुभयो । उहाँले महिनावारी स्वच्छतामैत्री शौचालयको अवधारणा एकदमै राम्रो लागेको बताउनुभयो । यस्ता खाले शौचालयको प्रबर्द्वन गर्न सकेमा यसले छात्राहरुको गोप्यताको सुरक्षा गर्ने र मर्यादा बृद्धि हुने बताउनुभयो । छात्राहरु विद्यालयमा महिनावारी भएको खण्डमा आराम गर्नका लागि बनाएको एम एच एम कर्नरले साँच्चिकै छात्राहरुलाई विद्यालयमा आकर्षित हुने वातावरण निर्माण हुने बताउनुभयो ।

विद्यालयमा बनाएको महिनावारी स्वच्छतामैत्री शौचालय र आराम कक्ष (एमएचएम कर्नर) ले महिनावारी भएको समयमा समेत बालिकाहरुलाई उपस्थित हुने वातावरण निर्माण गरी छात्राहरुको शैक्षिक गुणस्तरमा टेवा पुग्ने बताउनुभयो ।

गुड नेबर्स इन्टरनेशनल मानवीय सहायता र विकासका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । गुड नेबर्सले नेपालमा सन् २००२ देखि विपन्न वर्गहरु खासगरी बालबालिकाको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ सिमान्तकृत, संकटाभिमुख र विपन्न बालबालिका तथा उनीहरुको परिवार समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । स्पोन्सरसीप सर्भिस, बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद व्यवस्थापन, पैरवी र सुशासन गुड नेबर्स इन्टरनेशनलद्वारा सञ्चालित कार्यक्रमहरु हुन् । गुड नेबर्सका कार्यक्रहरु २२ जिल्लामा सञ्चालित छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार