बानेश्वर र शंखपार्कमा पनि वाटर एटिएम सञ्चालन

काठमाडौं : काठमाडौंको बानेश्वर र शंखपार्कमा पनि वाटर एटीएम सञ्चालनमा ल्याएको छ । बानेश्वरको छक्कुपक्कु पार्क र शंखपार्कमा काठमाडौ महानगरपालिकाका प्रमुख र उपप्रमुखले पानी पिएर वाटर एटिएमको उद्घाटन गर्नुभयो । यस अघि गएको माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वार सँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आएका छन् ।

यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो । महानगरका मेयर शाक्य स्मार्ट सहरका लागि स्मार्ट सुविधा जडान गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो। उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धि मान्नुपर्ने बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाका अनुसार स्थापना पछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्च सहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ परेको छ । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ ।

अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट्याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ । महानगरसँगको सम्झौता बमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटिएम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटिएम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार