काठमाडौ : अहिले कोभिड महामारीले गर्दा घर बाहिर निस्कन पनि डरमर्दो छ । सामान्य अवस्थामा जस्तो फोहोर व्यवस्थापनको गाडी पनि समयमा आउँदैन । त्यसैले आफ्नो घरभित्र उत्पादन हुने फोहोर आफैले सही तरिकाले व्यवस्थापन गर्न सके न बाहिर निस्कँदा कोरोना लाग्ला भन्ने डर हुन्छ, न फोहोर व्यवस्थापन गर्ने गाडी समयमा नआउँदा फोहोरको दुर्गन्ध नै फैलिन्छ ।
प्रत्येक घरवाट दैनिक औसत ५ केजी फोहोर निस्किने गर्दछ । सहरमा हेर्ने हो भने एकै घरमा एक भन्दा बढी परिवार रहने भएकाले फोहोर यो भन्दा बढी पनि हुन सक्छ । भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर पठाउँदा फोहोर व्यवस्थापनमा समस्या आउँछ । फोहोर व्यवस्थापनका केही बिधि छन्, जसको पालना गरेमा फोहोरलाई न्यूनीकरण र फोहोरलाई मोहोरमा पनि रुपान्तरण गर्न सक्नेछ ।
फोहोर व्यवस्थापन कसरी गर्ने त ?
फोहोर सकेसम्म कम उत्पादन गर्ने
फोहोर व्यवस्थापनको पहिलो उपाय हो, फोहोर कम उत्पादन गर्ने। यसका लागि खाना पकाउँदा पुग्दो मात्र पकाउने, कपडाहरु लामो समयसम्म टिकाउ हुने खालका किन्ने, पैसाले पुग्यो भन्दैमा एकै व्यक्तिले धेरै जोर कपडा नकिन्ने, जुत्ताको प्रयोग त्यही तरिकाले गर्ने, सकभर प्लाष्टिकका भाँडाकुँडा प्रयोग नगर्ने, प्लाष्टिक झोलाको सट्टा कपडाको झोला प्रयोग गर्ने ।
फोहोरलाई चिन्ने
हामीले फोहोर भन्दै सबै चीज एकै ठाउँमा पोका पारेर गाडीमा हालेर पठाउछौं, तर त्यसो होइन, यसलाई चिन्न सक्यौं भने एक व्यक्तिका लागि फोहोर वस्तु अर्को व्यक्तिका लागि कच्चा पदार्थ पनि हुनसक्छ ।
फोहोरको स्रोतमै वर्गीकरण
फोहोरलाई एकै ठाउँमा नराखी स्रोतमै वर्गीकरण गर्यौं भने व्यवस्थापनका लागि सजिलो हुन्छ । अरु तरिकाले छुट्याउन नसकेपनि कुहिने फोहोर एकातिर र नकुहिने फोहोर एकातिर छुट्याएमा कुहिने फोहोर मल बनाउन र बायोग्याँसका लागि प्रयोग गर्न सकिन्छ ।
पुनःप्रयोग गर्ने
पुराना तथा थोत्रा कपडा, जुत्ता, फलफूल, तरकारी, प्लाष्टिक, कागज जस्ता वस्तुहरुहरुलाई ठोस फोहोरमैला भनिन्छ । ती मध्ये दुई तिहाई अर्थात तीन भागको दुई भाग फोहोर कुहिने खालका हुन्छन् । कुहिने फोहोरलाई मात्र राम्ररी तह लगाउन सक्यौं भने बाँकी एक तिहाई फोहोर नगनाउने अर्थात प्लाष्टिक, कागज तथा धातुजन्य सामग्री हुन्छन् । ती मध्ये पनि पुनःप्रयोग गर्न सकिने फोहोरलाई पूनः प्रयोग गर्ने हो भने विसर्जन गर्नै पर्ने फोहोरको मात्रा अति कम हुन्छ ।
पुनःप्रशोधन गर्ने
कतिपय फोहोरहरु प्रशोधन गरेर फेरि प्रयोगमा ल्याउन सकिन्छ । त्यसलाई त्यत्तिकै फ्याँक्दा ठूलो ठाउँ ओगट्ने भएकाले ल्याण्डफिल साइड चाँडै भरिन्छ । जस्तैः कागज, फलामका टुक्रा, झोला, कपडाको थुप्रो, प्लाष्टिकका बोतल तथा तारजाली इत्यादि । यी वस्तुहरुको सामान्य प्रशोधन पछि पुनः प्रयोग गर्न सकिन्छ वा यसको स्वरुप नै बदलेर अर्कै बस्तु पनि तयार पार्न सकिन्छ ।
ल्याण्डफिलमा नपुर्याइ नहुने फोहोरलाई मात्र पठाउने
अहिले जस्तो पायो त्यस्तै फोहोर ल्याण्डफिल साइटमा पठाइरहेका छौं, बढीजसो त मानिसका कपडा, जुत्ता, झोला जस्ता कपडाजन्य वस्तुले नै ल्याण्डफिल साइट भरिने गरेका छन् । कम्तीमा कुहिने र नकुहिने फोहोरलाई स्रोतमै छुट्याएर पठाउने हो भने भए भरका फोहोर ल्याण्डफिल साईटमा पु(याइरहनु पर्दैन । यसले ल्याण्डफिल साइट चाँडै भरिन पाउदैन ।
गन्धरहित बनाउने
सबै प्रकारका फोहोर एकैठाउँमा राख्दा फोहोर गन्हाउँछ । तपाईको कोठा वा बाहिरको वातावरण पनि प्रदुषित बनाउँछ । सबै खाले फोहोर एकै ठाउँमा हाल्दा चाँडो कुहिने हुन्छ । जसका कारण चाँडै गन्हाउँछ पनि, यदि फोहोरलाई गन्धरहित बनाउने हो भने पनि तपाईले फोहोरलाई छुटाएर राख्नु नै वेश हुन्छ । फोहोर नकुहिएपछि न झिंगा भन्किन्छ न अरु कीटपतंग नै आउँछ ।
फोहोरलाई मोहोरमा बदल्ने
काठमाडौ उपत्यकामा मात्र दैनिक १ हजार टन भन्दा बढी फोहोर उत्पादन हुदै आएको छ । ती मध्ये झण्डै ७० प्रतिशत कुहिने र बाँकी नकुहिने फोहोरमैला हुन्छन् । कुहिने फोहोरमैलाबाट बायोग्याँस निकाल्ने वा कुहाएर कौसी खेती गर्ने हो भने पनि मोहोर नै बनाउन सकिन्छ । त्यसका अलावा नकुहिने मध्येबाट पनि फेरि प्रयोग गर्न सकिने फोहोर जत्तिलाई पुनः प्रयोग गर्ने हो भने फ्याँक्नैपर्ने फोहोरको मात्रा एकदमै थोरै हुन्छ ।