
काठमाडौ : मेन्स्ट्रुअल कपको प्रयोग गरे महिनावारी हुँदा स्यानिटरी प्याड बोकिरहनुपर्ने, फेरिरहनुपर्ने र उचित ठाउँमा बिसर्जन गर्नुपर्ने झन्झटबाट त मुक्ति मिल्ने भयो, तर के मेन्सट्रुअल कप लगाएपछि पिसाब फेर्ने बेला निकाल्नुपर्छ कि पर्दैन ?
मेन्स्ट्रुअल कपको बारेमा सुनेका तर अहिलेसम्म प्रयोग नगरेका महिलाहरुको मनमा उब्जिएको यो साझा प्रश्न हो । यो साझा प्रश्नको उजागर गर्नुभयो, एरोसान शौचालयका सरसफाइकर्मी अमिसा देउलाले ।
गैर सरकारी संस्था गुथिले विश्व महिनावारी स्वच्छता दिवस २०२१ को पुर्व सन्ध्यामा आयोजना गरिएको ‘महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धी अनलाइन परामर्श कार्यक्रम’ मा उहाँले मेन्सट्रुअल कप कहिल्यै प्रयोग नगरेको र यसको प्रयोग गरेको अवस्थामा दिसापिसाव गर्नु पर्यो भने निकाल्नु पर्छ कि पर्दैन भन्ने जिज्ञासा राख्नुभएको थियो । जवाफमा रोट्रयाक्ट क्लब पाटन वेस्टका अध्यक्ष उर्जा नेवाले महिलाहरुको पिसाव गर्ने र महिनावारी हुँदा रगत बग्ने ठाउँ छुट्टै हुने भएकाले मेन्स्ट्रुअल कप निकालिरहनु नपर्ने बताउनुभयो ।
अध्यक्ष नेवाले मेन्सट्रुअल कप स्यानिटरी प्याड भन्दा सस्तो हुने र यसलाई पुनःप्रयोग गर्न सकिने हुँदा वातावरणमैत्री पनि भएको जानकारीमूलक प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै रुचा श्रेष्ठले पहिलो पटक मेन्सट्रुअल कप लगाउँदा खासै समस्या नभए पनि निकाल्न खोज्दा पीडा भएको बताउनुभयो ।मेन्सट्रुअल कपको प्रयोग कहिल्यै नगर्ने सोच बनाउनुभएकी श्रेष्ठले पाँच महिना यता भने प्रयोग गर्दै आउनुभएको छ । यो स्यानिटरी प्याडको तुलनामा निक्कै सजिलो र वातावरणलाई पनि प्रदुषण नगर्ने भएकाले पुनः प्रयोग गर्न थालेको उहाँको भनाइ थियो ।
नेपाल महिला समाज, सयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था लि., ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र क्यापस, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा गैर सरकारी संस्था गुथीले ‘महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धी अनलाइन परामर्श कार्यक्रम’ सञ्चालन गरेको हो ।
अनलाइन परामर्श कार्यक्रम महिनावारीमा हुने अनियमितता, महिलाहरुले अनुभव गर्ने दुखाईको कारण, चिकित्सकसँग परामर्श लिनुपर्ने अवस्था, घरेलु उपायहरु अपनाउनु पर्ने अवस्था, महिनावारी भएको समयमा महिलाहरुलाई पौष्टिक आहार तथा विशेष आरामको आवश्यकता लगायत बिषयमा केन्द्रित थियो ।



2905 पटक हेरिएको 

