पुनर्भरण कार्यक्रमले भूमिगत पानीको सतह २ सेन्टिमिटर बढ्यो (भिडियो)

काठमाडौ : ललितपुरको लगनखेल क्षेत्र र रानीबारी सामुदायिक बन क्षेत्रमा भूमिगत पानीको सतह २ सेन्टिमिटर बढेको छ । विगत तीन बर्षदेखि सञ्चालित भूमिगत पानीको पुनर्भरण कार्यक्रम पछि त्यस क्षेत्रमा भूमिगत पानीको सतह बढेको पाईएको हो । वाटर एड नेपालका प्रोग्राम हेड कबिरदास राजभण्डारीले भूमिगत पानीको पुनर्भरण सम्बन्धी परियोजना सञ्चालित क्षेत्रमा भूमिगत पानीको सतह २ सेन्टिमिटर माथि उक्लिएको पाईएको जानकारी दिनुभयो । काठमाडौमा केही दिन पहिले आयोजित भूमिगत पानीको पुनर्भरण सम्बन्धी कार्यक्रममा प्रस्तुतीकरण गर्दै उहाँले २ सेन्टिमिटर सुन्दा थोरै जस्तो लागेपनि भूमिगत पानीको सतह २ सेन्टिमिटर माथि उक्लिनु ठूलो उपलब्धी भएको बताउनुभयो ।

वाटर एड नेपालले विगत तीन बर्षदेखि लगनखेल स्थित राजदलगण आर्मी ब्यारेक, रानीबारी सामुदायिक बन र सानोठिमीमा भूमिगत पानीको पुनर्भरण कार्यक्रम सञ्चालन गरिरहेको छ । पुनर्भरण कार्यक्रम पछि प्रि मनसुन र पोष्ट मनसुन पछि (बर्षा लाग्नु अघि र बर्षा सकिएपछि) का दुवै समयमा भूमिगत पानीको सतह बराबरी पाइएको छ । भूमिगत पानीको पुनर्भरण गरेबापत रानीबारी सामुदायिक बन उपभोक्ता समिति सम्मानित भईसकेको छ ।

उहाँले ग्राउण्ड वाटर रिचार्ज (भूमिगत पानी) पुनर्भरण गर्ने काम कुनै जटिल काम नभई सामान्य प्रविधिमा आधारित रहेको बताउनुभयो । पानीको पुनर्भरण गर्न चाहेमा खाली ठाउँमा जसले जुनसुकै समयमा पनि गर्न सक्ने उहाँले बताउनुभयो ।

हेरौं भूमिगत पानी पुनर्भरण सम्बन्धी प्रोग्राम हेड राजभण्डारीले गर्नुभएको प्रस्तुतीकरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार