धमाधम छाउगोठ त्याग्दैछन् किशोरीहरू

कालीकोट : नरहरिनाथ–३ कुमालगाउँकी १६ वर्षीया सकुन्तला बुढाले छाउगोठ त्यागेको एक वर्ष पुग्यो । २ वर्ष छाउगोठमा बसेपछि उनीसहित मष्टा किशोरी समूहमा आबद्ध किशोरीहरूले छाउ प्रथाविरुद्ध अभियान चलाउने निर्णय गरे । त्यसयता समूहमा आवद्ध २० किशोरी छाउगोठमा बसेका छैनन् नै उनीहरूकै प्रेरणाले झन्डै ५ दर्जन किशोरीले गोठ छाडेका छन् ।

‘सुरुमा त आमाबुबाले नै कुरा काटे,’ उनले भनिन्, ‘अहिले सबैले हाम्रो अभियानको प्रशंसा गर्छन् ।’ उनी महिनावारी भएको बेला घरको छुट्टै कोठामा सुत्छिन् भने घरमै पाकेको खानेकुरा खान्छिन् । उनकी छिमेकी बबिता बुढाले पनि छाउगोठ छाडेको धेरै भयो । ‘हामीले सम्झाएपछि आमाले पनि छाउ बार्न छाड्नु भो,’ उनले भनिन्, ‘घरमै बस्दा विभिन्न त्रासबाट मुक्ति पाइएको छ ।’

अहिले नरहरिनाथको लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँका अधिकांश किशोरी र महिलाले छाउगोठ छाडेका छन् । उनीहरूले गाउँमा छाउप्रथा, बाल विवाह, जातीय विभेद र लैंगिक हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिएका छन् । किशोरीको सक्रियतामा कुसंस्कारविरुद्धको अभियान प्रभावकारी बन्दै गएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । ‘अहिले विभिन्न कुसंस्कारविरुद्ध किशोरीहरूबीच व्यापक छलफल र अन्तरक्रिया हुन्छ,’ उनले भनिन्, ‘सरकारी अभियान सफल बनाउन पनि अहिले किशोरीहरूलाई नै परिचालन गर्न थालेका छौं ।’ उनका अनुसार किशोरी समूहमा सहजीकरण गर्न गाउँपालिकाले ३० जना सहजकर्ता छनोट गरी परिचालन गरेको छ ।

पछिल्लो समय नरहरिनाथ, रास्कोट र खाडाचक्रका किशोरी पनि कुसंस्कारविरुद्धका अभियानमा सक्रिय हुन थालेका छन् । गाउँगाउँमा गठन गरिएका ९० किशोरी समूहले छाउ प्रथा, बालविवाह, जातीय विभेद, महिला हिंसालगायत विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको रास्कोट नगर प्रमुख काशीचन्द्र बरालले बताए । उनका अनुसार पोषण, खोप, गर्भ जाँच, विद्यालय भर्नालगायत विषयमा सचेतना फैलाउन पनि किशोरी समूहलाई परिचालन गर्न थालिएको छ ।

परम्परागत रूढिवादी चलनले जरो गाडेको कालीकोटका गाउँबस्तीमा किशोरी अभियान प्रभावकारी बनेको अधिकारकर्मी कालीबहादुर मल्लले बताए । ‘किशोरीमा महिनावारी भएको बेला गर्ने सरसफाइ, खानपिन र दैनिक कामबारे पनि समूहमा छलफल हुन थालेको छ,’ उनले भने, ‘छाउ प्रथा मान्न छाडेपछि किशोरीहरू विद्यालय जान पनि नियमित बनेको छ ।’

यसअघि महिनावारी हुँदा विद्यालय नआउने छात्राहरूको पढाइ अहिले नियमित बनेको कुमालगाउँस्थित रमा माविका प्रधानाध्यापक हरिशचन्द्र बटालाले बताए । उनका अनुसार गाउँका अधिकांश छाउगोठ किशोरी समूहकै सक्रियतामा भत्काइएका हुन् । गत वर्ष स्थानीय प्रशासनले कालीकोटमा १८ वटा मात्र छाउगोठ फेला पारेर भत्काएको थियो ।

लकडाउनरनिषेधाज्ञाको बेला भागी विवाह गर्ने प्रवृत्ति बढे पनि धेरै बालविवाह किशोरी समूहको सक्रियतामा रोक्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भूपेन्द्र शाहीले बताए । उनका अनुसार निषेधाज्ञाको समयमा मात्रै १४ वटा बालविवाह रोकिएको थियो । ‘प्रहरीमा आएका सूचनाका आधारमा बालविवाह गरेका बालबालिकालाई सम्झाएर घर पठाउने गरेका छौं,’ उनले भने, ‘उमेर पुगेका केटा र उमेर नपुगेकी केटीको विवाह भएको पाइएपछि दुईवटा मुद्दा दर्ता गरिएको छ ।’ कान्तिपुर दैनिकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार