स्वयम्भूमा बनेको एरोसन ट्वाइलेट विश्वको उत्कृष्ट १० मा

काठमाडौ : काठमाडौंको स्वयम्भूमा निर्मित एरोसन ट्वाइलेट एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट १० मा परेको छ । विश्व सम्पदा स्वयम्भू भित्र बनेको उक्त ट्वाइलेट विश्व पानी महोत्सवका अवसरमा हालै स्विडेनमा भएको सफाइ विधामा उत्कृष्ट १० मा पर्न सफल भएको हो । ‘सीवी वर्ल्ड वाटर विक’ नाम दिइएको महोत्सवमा ‘सरफाती सेनिटेसन च्यालेन्ज’ सत्र सञ्चालन भएको थियो । उक्त सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्था मध्येबाट १० वटा छानिएको थियो ।

एरोसन ट्वाइलेट नाम दिइएको स्वयम्भुको ट्वाइलेट पार्कलाई संयुक्त राष्ट्रसंघले पनि सन् २०२० मा बनेका सार्वजनिक शौचालय मध्येमा उत्कृष्ट ठहर गरेर दिगो विकास अवार्ड प्रदान गरिसकेको छ ।

हेर्नुहोस् एरोसन ट्वाईलेट : 

अहिले उत्कृष्ट १० मा छानिएकाहरु मध्येबाट अब टप फाइभ शौचालय छानिनेछन् ।  । सेप्टेम्बरमा हुने अन्तिम घोषणामा पहिलो हुनेले एक लाख डलर राशिको पुरस्कार जित्नेछन् ।

अतिरिक्त आम्दानी, खेर गएको मलमुत्र सदुपयोग (बायोग्यास), पसल सञ्चालन, महिलामैत्री डिजाइन र सफाइपूरक कार्यक्रम चलाएर स्वयम्भूको ट्वाइलेट पार्कले नवीन काम गरेकाले २०२१ मेमा ग्लोबल इनोभेसन च्यालेन्जमा उत्कृष्टको अवार्ड पाएको थियो । राष्ट्रसंघीय निकाय ‘युनाइटेड नेसन्स साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन ९यूएनएसटी० ले विश्वका ३० देशका एक हजार सार्वजनिक शौचालयको समीक्षा गरेर नेपालको शौचालयलाई उत्कृष्ट ठहर गरेको थियो ।

‘हामी शौचालयमा महिला प्रयोगकर्तालाई ख्याल गर्छौं,’ शौचालयका अवधारणाकार प्रकाश अमात्यले भन्नुभयो ‘शौचालयमा काम गर्नै अवसर पनि महिला नै दिन्छौं । यहाँका शौचालयको स्वामित्व पनि महिलासँग छ ।’

स्वयम्भू चक्रपथ छेउकै बुद्धपार्कबाट पूर्वतिरबाट आनन्दकुटी विहार जाने बाटोको दायाँतिर शौचालय छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार