
काठमाडौ : स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको सरकारले स्पष्ट पारेको छ । स्यानिटरी प्याडमा कर बढाएको भन्दै ‘रातो कर माफ गर, रातो कर खारेजी गर’ लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएपछि स्यानिटरी प्याडमा कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको हो ।
आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । राजश्व सचिव कृष्णहरि पुष्करका अनुसार जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रूमाल (न्याप्किन लाइनर) तथा यस्तै सामानमा कुनै पनि कर वृद्धि गरिएको छैन ।
सचिव पुष्करले देशभित्र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभयो । गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयक, २०७८ र आर्थिक अध्यादेश, २०७८ मा समेत ती सामग्रीमा कर थप नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।


914 पटक हेरिएको 

