नन्दीरात्री स्कुलमा अब आकाशेपानी संकलन र भूमिगत पानी पुनर्भरण प्रणाली

🔗
50
Shares

काठमाडौ : काठमाडौको नक्सला स्थित नन्दीरात्री माध्यमिक विद्यालयमा अब आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण प्रणाली जडान हुने भएको छ । विद्यालयमा आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरण प्रणालीको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हालै शिलान्यास गर्नुभयो ।

महानगरकी वातावरण इञ्जिनियर निशा कोइरालाका अनुसार यस प्रणाली अन्तर्गत विद्यालयको २९७ वर्ग मिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोलिट्याङ्क, फ्लस डाइभर्टरमा पठाइन्छ । जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहोर सहितको फोहोर पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी यही ट्याङ्क हुँदै १ हजार लिटरको फिल्टर युनिटमा पुग्छ ।

रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट्याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, ४ मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ हजार ७६० लिटर क्षमताको ट्याङ्की बनाइनेछ । त्यसपछि ट्याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङ्मार्फत जमिनमुनि पठाइन्छ । यो रिङ्मा साना ठूला रोडा र वालुवाको तह बनाइएको हुन्छ ।

यो प्रणाली करीब ११ लाख २० हजार रुपैयाँमा निर्माण हुन लागेको हो ।

 

पुनर्भरण प्रणालीले भूमिगत पानीको सतह बढ्छ : मेयर शाक्य

शिलान्यासपछि प्रमुख शाक्यले आकाशेपानी संकलन र भूमिगत पानीको पुनर्भरण प्रणालीबाट भूमिगत पानीको सतह बढ्ने अपेक्षा गर्नुभयो । ‘पानीको स्रोत जोगाउन सकिएन भने पानीको संकट थपिन थाल्छ । त्यसैले पानीको सम्भावित समस्याबाट बच्न आकाशेपानी संकलन र भूमिगत पानीको पुनर्भरण प्रणाली निर्माण गर्ने कामलाई एउटै योजना बनाएर अगाडि बढाएका छौ ।’ प्रमुख शाक्यले भन्नुभयो । ‘खाना नभए केही समय जीवन चल्न सक्छ । तर पानी नभए चल्दैन । यो तथ्यलाई मनन गर्दै महानगरले आकाशेपानी संकलन र पुनर्भरण योजना अगाडि बढाएको हो । यसमा सहरका हरेक घरको योगदान रहन सक्छ ।’

कार्यक्रममा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले नन्दीरात्री स्कूलले जमिनबाट पानी भित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको वहाब बढ्ने अपेक्षा गर्नुभयो । ‘अहिले डिप बोरिङ् गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्यो। अब त्यो सतह बढाउने काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले वडा नं. ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको बताउनुभयोे । व्यक्तिगत रुपमा आफूले पनि यस्ता प्रणाली जडान गरेको उल्लेख गर्दै श्रेष्ठले आकाशबाट आएको पानी प्रयोग गर्न मिल्ने खालको हुने अनुभव सुनाउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार