काठमाडौ : सोफेनका नव निर्वाचित अध्यक्ष अनिलभद्र खनालले देशको संघीय संरचना अनुसार सोफेनको प्रदेश स्तरमा समेत कमिटी गठन गर्ने बताउनुभएको छ । यसका लागि विधान संशोधन गर्नुपर्ने र उक्त प्रस्ताव साधारण सभामा पेश गरी विधान संशोधन भएपछि सात वटै प्रदेशमा सोफेनको प्रदेश कमिटी गठन गर्ने उहाँले बताउनुभयो ।
सोफेनको दशौं कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्न आयोजित सम्वाद कार्यक्रममा अध्यक्ष खनालले आफू र आफ्नो टिमलाई निर्विरोध निर्वाचित गराएकोमा धन्यबाद व्यक्त गर्दै कोभिडका बाबजुद पनि अघिल्लो कार्यकारिणी समितिले गरेका कार्यहरुको प्रशंसा गर्दै सम्पन्न गर्न बाँकी कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष खनालले सोफेनले बिगत देखि नै सरकारलाई आवश्यक नीति नियम, ऐन कानुन निर्माणका लागि समेत सहयोग गर्दै आएको स्मरण गर्दै यो कार्यलाई सोफेनले बढी भन्दा बढी जोड दिने उल्लेख गर्नुभयो । घोषणा कार्यक्रममा नवौं कार्यकारिणी समितिका अध्यक्ष डा. सञ्जिव विक्रम राणाले आफ्नो कार्यकालमा सोफेनको आर्थिक अवस्था निक्कै मजबुत बनाएको जानकारी गराउनुभयो । संस्थाको छुट्टै भवन बनाउने आफूहरुको सोच रहेको र उक्त कार्यलाई नयाँ कार्यकारिणी समितिले पूर्णता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सरसफाइकर्मीहरुको अवस्था, मेलम्ची खानेपानीको वर्तमान अवस्था र सेनेगल र बंगलादेशमा शहरव्यापी समावेशी सरसफाइको विकासबारे अनुभव आदानप्रदान गरिएको थियो ।


907 पटक हेरिएको 

