काठमाडौ : दशैं, तिहार, छठ जस्ता चाडपर्वहरु आउँदा, देशविदेशमा रहेका आफन्तहरु पनि घर फर्कन्छन् । आफ्नो पेशा, व्यवसाय र व्यवहारिक कामले शहर पसेकाहरु यत्तिबेला धमाधम गाउँ फर्कदैछन् । .दुई बर्ष अघि भित्रिएको कोरोनाको संक्रमण अहिले पनि निर्मूल भईसकेको छैन । त्यसैले सही तरिकाले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेला बेला साबुन पानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्डहरु अपनाउन आवश्यक छ ।
तर अवस्था त्यस्तो देखिएको छैन । गाउँ फर्किने बसको टिकट लिन बसपार्कमा भेला भएको यो भीडभाड हेर्नुस् त ? बसको टिकट लिने ठाउँमा भौतिक दुरी कायम गर्न व्यवहारिक नभएपनि तपाई हामीले मास्क त लाउन सक्छौं नि होइन ? तर हेर्नुस त यत्ति धेरै मानिसहरुको भीडमा पनि मास्क नलगाई हिडिरहेका छन्, अनि लगाउनेले पनि सही तरिकाले लगाएका छैनन् । यिनै अवस्थालाई मध्यनजर गरी नेपाल मास्क : कोभिड १९ प्रतिकार्य परियोजनाले काठमाडौको कोटेश्वर, कलंकी र नयाँ बसपार्क गोंगबुमा मास्कको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
दशैंमा धेरै मानिसहरु राजधानीबाट बाहिरिने र मास्कको सही प्रयोग नगर्दा कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई आंकलन गर्दै कोरोना रोकथामका लागि मास्कको महत्वबारे जानकारी गराउन सचेतनामूलक कार्यक्रम गरिएको हो । सचेतनामूलक कार्यक्रम अन्तर्गत माईकिङ गर्ने, प्लेकार्ड प्रदर्शन गर्ने, मास्क नलगाई हिडेकाहरुलाई मास्क वितरण गरी मास्क लगाउने तरिकाबारे बताउने, सही तरिकाले मास्क लगाउनेहरुलाई धन्यबाद दिने, कोरोना रोकथाम सँग सम्बन्धित गीत तथा सचेतनामूलक सामग्री बजाउने लगायत कार्यक्रम गरिएको थियो ।
राम्रो सँग लगाएको मास्कले मात्र कोरोना भाइरस रोक्न सक्छ । त्यसैले कोरोना संक्रमण हुन बाट बच्ने सजिलो उपायहरु मध्ये मास्कको सही प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुहुन्छ, वातावरण र जनस्वास्थ्य संस्था एन्फोका कार्यकारी निर्देशक भावना शर्मा । मास्कको सही प्रयोग नगर्दा तपाईलाई कोरोनाले पछ्याउने हुँदा तपाईको यो बर्षको दर्शै सोचेजस्तो नहुन पनि सक्छ ।
तर तपाईले मास्क सही तरिकाले प्रयोग गर्नुभएको छ, बेला बेलामा साबुन पानीले हात पनि धुनु भएको छ र भौतिक दुरी पनि कायम गर्नुभएको छ भने यसबर्ष मात्र होइन, आफ्नो मान्यजनको हातबाट बर्षौबर्ष टीका लगाएर आशिर्वाद थाप्न पाउनुहुनेछ ।


1221 पटक हेरिएको 

