काठमाडौ : सुरक्षित बसोबास र फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धरले घरमै कम्पोष्टिङ गर्ने काम फोहोर व्यवस्थापनको दिगो उपाय नभएको बताउनुभएको छ । काठमाडौ जस्तो उच्च सहरीकरण भएको क्षेत्रमा सबै मानिस आ आफ्नो काममा व्यस्त रहने र घरमा उत्पादित फोहोरलाई कम्पोष्टिङ गरिरहने समय समेत नहुने भएकाले यसले फोहोर व्यवस्थापनमा केही सघाउ भए पनि दिगो समाधान नहुने उहाँको भनाइ छ ।
वास मिडिया फोरम नेपालले केही समय अघि काठमाडौमा आयोजना गरेको कार्यक्रममा बदलिदो शहरीकरण सँगै फोहोर व्यवस्थापनको नयाँ रणनीति अख्तियार गर्नुपर्ने बताउनुभयो । ‘घरमै फोहोर व्यवस्थापन गर्ने कामले केही हदसम्म फोहोरमा कमी आउनसक्छ । तर यो दिगो समाधान होइन’ उहाँले भन्नुभयो ‘घरको फोहोर व्यवस्थापन तालिममा भने जस्तो हुँदैन, बरु दुई चार वटा भाँडामा फोहोरको प्रकृति अनुसार छुट्याउने अनि छुट्टाछुट्टै ढुवानी गर्ने, यो हुनसक्छ ।’
उहाँले विकसित देशहरुले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साईटलाई नै अंगीकार गरिरहेको र नेपालले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी स्यानिटरी ल्याण्डफिल साईट बनाउनुपर्ने बताउनुभयो । सबै कार्यमा जनताको सहभागिता मात्र भन्दा पनि फोहोर व्यवस्थापनको काममा सरकारको तर्फबाट गम्भीरताका साथ अगाडि बढाउनुपर्ने उहाँको धारणा छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :