काठमाडौ : बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनःनिर्माणको काममा सरकार उदासीन देखिएको छ । आयोजना पुनःनिर्माणको काममा तदारुकता नदेखाउँदा कतिपय सम्पन्न भईसक्नु पर्ने काम समेत अझै सुरुवात हुन सकेको छैन।
मेलम्ची खानेपानी विकास समितिले तत्काल गर्नुपर्ने कामहरुको कार्ययोजना बनाई अम्बाथान क्याम्पको पुनःनिर्माण, मेलम्ची बजार स्थित मुख्य क्याम्पहरुको मर्मत तथा क्याम्पहरुमा आवश्यक खानेपानी, विद्युत, सरसफाइ जस्ता सेवाहरु सञ्चालनको काम असोज भित्रै सक्ने जनाएको थियो । यस्तै चनौटे कुटुमसाङ–पातिङ रिवर्मा सम्मको वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम पनि असोज मसान्तभित्रै सक्ने योजना बनाएको थियो । तर कार्ययोजना अनुरुप ती कामहरु अझै सम्म सुरुवात भएका छैनन् ।
आगामी वैशाखसम्म पानी ल्याउने योजना बनाएको सरकारले अहिलेसम्म नयाँ ठेक्का लगाउनेबारे निर्णय गरेको छैन । छोटो प्रक्रियाबाट ठेक्का लगाउन खानेपानी मन्त्रालयले अनुमति माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्ययोजना प्रस्ताव पठाए पनि यसबारे मन्त्रिपरिषदले निर्णय गर्न ढिलाइ गर्दा आयोजना पुनःनिर्माणको काम कहिलेबाट शुरु हुने भन्ने अन्यौल छ ।
मेलम्ची खानेपानी विकास समितिले हेडवर्क्स –अम्बाथान अडिट सुरुङदेखि २ किलोमिटर तल सम्मको मेलम्ची नदी सफा गरी पुरानै सतह कायम गर्ने र अम्बाथान अडिट सुरुङ खुला गर्ने काम कार्तिकमा सुरुवात गरी चैत्र मसान्तमा सम्पन्न गर्ने योजना बनाएको छ । तर यसका लागि मन्त्रीपरिषदले नेपाली सेना मार्फत गराउने भनी निर्णय गर्नुपर्ने र अनुमानित ४० करोड रुपैयाँ लागत लाग्ने समितिका सिनियर डिभिज्नल ईन्जिनियर राजेन्द्र प्रसाद पन्तले बताउनुभयो ।
यस्तै नदीको पुरानै सतह कायम गर्ने र अम्बाथान अडिट सुरुङ खुला गर्ने वैकल्पिक पथान्तरण सुरुङ सफा गर्ने अस्थायी बाँध बनाई पानी सञ्चालन गर्ने काम समेत कार्तिक महिनामा सुरु गरी चैत्र मसान्तमा सक्ने समितिको योजना छ । तर यस कार्यका लागि सिनोहाईड्रोसँग वार्ता गरी नयाँ प्याकेजबाट गराउन निर्णय गर्नुपर्नेछ ।
सुरुङको सुपरिवेक्षण गर्न बन्द गरिएकै दिन २०७८ असार १ गते मेलम्ची नदीको बाढीले मेलम्ची खानेपानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो ।
मेलम्ची खानेपानीको वर्तमान अवस्था, आयोजनाबाट गरिएका प्रयासहरु, समस्या तथा समाधान, तत्काल गर्नुपर्ने मुख्य मुख्य कार्यहरु, दीर्घकालीन रुपमा गर्नुपर्ने मुख्य कार्यहरु र कार्ययोजना कार्यान्वयनका चुनौतीहरु लगायत बिषयमा भिडियो प्रस्तुतीकरण गर्दै हुनुहुन्छ मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिज्नल इन्जिनियर राजेन्द्र प्रसाद पन्त :
सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल (सोफेन) ले आयोजना गरेको ‘वास क्षेत्रको अनुभव आदानप्रदान’ कार्यक्रममा गरिएको प्रस्तुतीकरण ।


1075 पटक हेरिएको 

