
काठमाडौ : काठमाडौ उपत्यकाको फोहोर मंसिरको दोस्रो साता देखि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईटमा व्यवस्थापन गर्ने तयारी गरेको छ । काठमाडौ महानगरपालिकाले बन्चरेडाँडा ल्याण्डफिल साईटमा फोहोर व्यवस्थापन गर्नेबारे तयारी अगाडि बढाएको हो । यसबारे प्रधानमन्त्री शेरबहादुर देउबालाई समेत जानकारी गराईसकेको काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख श्रेष्ठले दीर्घकालीन फोहर व्यवस्थापन गर्न निर्माणाधीन बन्चरेडाँडा ल्याण्डफिल साईटको पहिलो सेल निर्माणको काम सम्पन्न भएकाले फोहर राख्ने काम सुरु गर्न सम्बद्ध निकायसँग प्रक्रिया सुरु गरिएको बताउनुभयो । ‘प्रक्रिया पूरा गरी आगामी मङ्सिरको दोस्रो सातादेखि फोहर राख्ने वातावरण मिलाउने कामपाको योजना छ’, प्रमुख श्रेष्ठले भन्नुभयो ।
हाल फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साईटमा विगत १६ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ दिर्घकालीनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न वि.सं. २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।
सहरी विकास तथा भवन निर्माण विभागले दसैँ अगावै बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहोर व्यवस्थापन गर्न सकिने जानकारी गराएको थियो । काठमाडौ उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा विसर्जन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौ महानगरपालिकाबाट मात्र ५०० मेट्रिक टन फोहोर विसर्जन हुँदै आएको छ ।


682 पटक हेरिएको 

