
काठमाडौ : धेरै बर्ष अघि बनाइएका शौचालयको सेफ्टी ट्याङ्की दिसाले भरिन थालेका छन् । दिसाले भरिएको सेफ्टी ट्याङ्कीको फोहर कसरी व्यवस्थापन भैरहेको छ भन्ने बारेमा सबैको चासो र सरोकारको विषय बन्न सकिरहेको छैन।
खुला दिसामुक्त अभियानलाई व्यापक बनाइयो । अहिले सबै जसो मानिस शौचालयमा दिसा पिसाबको लागि जाने गर्छन्। तर, शौचालय भित्रको फोहर व्यवस्थापनमा खासै ध्यान पुगेको देखिँदैन । सेफ्टी ट्याङ्कीमा जम्मा भएको मानवमलमूत्र (दिसाजन्य लेदो) लाई सक्सन मेसिनले तानेर खुला ठाउँमा फाल्ने गरिएको छ।
दाङ जिल्लाका प्रमुख शहर घोराही, तुलसीपुर, लमहीमा दिसाजन्य लेदो व्यवस्थापन प्रमुख चुनौतीको रुपमा देखा पर्न थालेको छ । यो जिल्लाका १० वटै पालिका भित्रको समस्या हो । अन्य फोहर शरह डम्पिङ्ग साइडमा दिसाजन्य लेदो खुला रुपमा फाल्ने गरिएको पाइएको छ । यसरी दिसाजन्य लेदो खुला ठाउँमा फाल्दा नयाँ–नयाँ संक्रामक रोगहरु भित्रने सक्ने खतरा हुन्छ । तर, यस विषयमा ध्यान दिएको पाइएको छैन।
‘सक्सन मेसिन छ । त्यो मेसिनले सेफ्टी ट्याङ्कीबाट दिसाजन्य लेदो निकाल्छ । त्यो फोहरलाई ल्याण्डफिल्ड साइडमा लगेर फाल्छौँ, ठूलो त्यस्तो प्लान्ट छैन । खाल्डो खनेर त्यही फाल्छौँ।’घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले भन्नुभयो ।
स्थानीय सरकारबाट मात्रै नभएर निजी क्षेत्रबाट समेत दिसाजन्य लेदो संकलन गर्ने काम भैरहेको छ । यसरी संकलन गरिएको फोहर खुला ठाउँ, नदीको बगर, जंगलमा फाल्ने गरिएको छ । निश्चित ठाउँमा फोहर व्यवस्थापनको लागि प्लान्ट निर्माण भएको छैन। लमही नगरपालिकाले पनि अहिले सम्म दिसाजन्य लेदोलाई डम्पिङ्ग साइडमा फाल्ने गरेको छ ।
दिसाजन्य लेदो व्यवस्थापनको लागि दाङको लमही नगरपालिका गरी पाँच वटा नगरपालिकामा ट्रिटमेन्ट प्लान्ट निर्माणको काम भईरहेको छ । लमही सहित काभ्रेको धुलिखेल नगरपालिका, सिराहाको लहान नगरपालिका, स्याङ्जाको वालिङ्ग नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापन कार्यक्रम सञ्चालन भईरहेको छ ।
ट्रिटमेन्ट प्लान्ट निर्माण भएपछि दिसाजन्य फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिने लमही नगरपालिकाले जनाएको छ । ‘तरल र ठोस पदार्थ छुट्याउन सकिन्छ । त्यसपछि तरललाई बगैँचा, फूलवारी, करेसावारीको बोट विरुवामा प्रयोग गर्न सकिन्छ । ठोस पदार्थ कम्पोष्ट मलको लागि उपयुक्त हुन्छ,’ थापाले भन्नुभयो , ‘प्लान्टबाट ग्यास समेत निकाल्न सकिन्छ ।’
लमही नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन नीति २०७७ बनाएको छ । यो नीति राजपत्रमा समेत प्रकाशन गरिएको छ । जनस्वास्थ्य एवम् वातावरण स्वच्छताको गुणस्तर नगरपालिकाको सर्वाङ्गिण र दिगो विकास प्राप्तिको एउटा महत्वपूर्ण सूचकको रुपमा लिइएको छ ।


1170 पटक हेरिएको 

