काठमाडौ : आज सरसफाइ क्षेत्रको महोत्सव । अर्थात आज विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व शौचालय दिवस मनाईरहेको छ । शौचालयको कुनै महत्व नहुँदो हो त, संयुक्त राष्ट्र संघले यत्ति ठूलो महत्व दिएर यो दिवसको सुरुवात नै गर्ने थिएन होला ।
सन् १९९० अर्थात आजभन्दा ३०/३१ बर्ष अघि नेपालको ३ प्रतिशत मानिसको घरमा मात्र शौचालयको सुविधा थियो । जब सन् २०११ मा सरसफाइ गुरुयोजना बनाएर कार्यान्वयनमा आयो, त्यसपछि शौचालय निर्माणले तीब्रता पाउन थालेको हो । फलस्वरुप एक घर एक शौचालय निर्माण भई २०७६ साल असोज १३ गते नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा गरिएको थियो ।
त्यसबेला शौचालय निर्माणका लागि दिलोज्यान दिएर लागेका मध्येका एक हुनुहुन्छ ईन्जिनियर देवेन्द्र कुमार झा । खोटाङ, महोत्तरी लगायत जिल्लामा सरसफाइको आँधीबेहरी ल्याउन सफल झा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखाका प्रमुख हुँदा नै देशलाई खुला दिसामुक्त घोषणा गरिएको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागको वातावरणीय सरसफाइ शाखाले राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयको रुपमा काम गर्थ्यो ।
उनै इन्जिनियर झा, अहिले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङमा आयोजना प्रमुख हुनुहुन्छ । हामीले उहाँ सँग शौचालय निर्माण भए पछि आएको सामाजिक परिवर्तन, खुला दिसामुक्त अवस्थाको दिगोपना र स्थानीय सरकारको दायित्य लगायतको बिषयमा भिडियो सम्वाद गरेका छौं ।
शौचालय निर्माणले दिएको मुख्य तीन उपलब्धी
उपलब्धी – १. दैनिक २० जना बालबालिकालाई मर्न बाट जोगाएको
नेपालमा खुला दिसामुक्त अभियान आन्दोलन झैं गरी अगाडि नबढेको भए सायद अझै पनि खुला दिसापिसाब गर्ने मानिसहरुको जमात ठूलै हुन्थ्यो होला ? अभियानकै कारण अहिले आफ्नो घर नजिकै आफ्नो आर्थिक अवस्था अनुसारको शौचालय बनाएको भेटिन्छ । अपवाद बाहेक मानिसहरु शौचालयमै दिसापिसाब गर्छन् । बाहिरी वातावरण पहिले पहिले जस्तो दुर्गन्धित छैन ।
तर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका आयोजना प्रमुख देवेन्द्र कुमार झा त्यो भन्दा पनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिं शौचालय निर्माण भएपछि बालबालिकाको ज्यान बचाएको बताउनुहुन्छ ।
उहाँका अनुसार सन् १९९० ताका ३ प्रतिशत नेपालीको घरमा मात्र शौचालय हुँदा बालमृत्युदर धेरै थियो । सरसफाइको नाजुक अवस्था र प्रदुषित पानीका कारण ज्यान गुमाउने पाँच बर्ष मुनिका बालबालिकाको संख्या बार्षिक १० हजार भन्दा माथि थियो । तर जब नेपालमा एक घर एक शौचालय बनाउने अभियान चल्यो, बालमृत्युदर पनि घट्दै आयो । शौचालय निर्माणको ग्राफ बढ्दै जाँदा बालमृत्यु दर भने घट्दै आएको देखाएको उहाँको दाबी छ ।
‘मैले भनेको मात्र होइन, विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा पहिले बार्षिक १० हजार ८ सय बालबालिकाको मृत्यु हुन्थ्यो भने अहिले त्यो संख्या घटेर २ हजारमा झरेको छ ।’ झा भन्नुहुन्छ ‘हामीले एक दिनको कुरा गर्ने हो भने पहिले प्रत्येक दिन २० देखि २५ जना बालबालिकाको मृत्यु हुन्थ्यो भने अहिले त्यो झरेर दैनिक ५ जनामा आईपुगेको छ । भनेपछि शौचालयले प्रत्येक दिन २० जना बच्चालाई मर्नबाट जोगाईरहेका छौं ।’
उपलब्धी – २. नेपाल स्वर्ग माथि पनि स्वर्ग
हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल देश त्यसै पनि स्वर्ग सरह छ । त्यसमा पनि सबैको घरमा शौचालय बनेपछि नेपाल स्वर्ग सरह भएको उहाँको भनाइ छ । ‘विविधताले भरिएको देश नेपाल खुला दिसामुक्त अभियानले सबैको घरमा शौचालय बनेपछि झन स्वर्ग माथि स्वर्ग भएन त ?’ उहाँले भन्नुभयो ।
‘पहिले पहिले गाउँ आयो, गुहु गनायो जस्ता उपमा पाएको गाउँ पनि आज प्रदुषण मुक्त रहेको र तराईमा जाँदा गाडीको चक्कामा खुला दिसा लत्पतिएको घटनाहरु अब ईतिहास बनेको उहाँको भनाई छ । यो खुला दिसामुक्त अभियानकै कारण आएको उपलब्धी हो ।
उपलब्धी – ३. शौचालयमा देशको बार्षिक बजेट बराबरको नागरिकको लगानी
नेपालमा खुला दिसामुक्त अभियान वा एक घर एक शौचालय अभियान जस्तै छिमेकी राष्ट्र भारतमा पनि स्वच्छ भारत अभियान सञ्चालन भयो । तर त्यहाँ शौचालय बनाउनका लागि प्रति परिवारका लागि १८ देखि २० हजार नेपाली रुपैयाँ अनुदान दिँदा पनि शौचालय बन्न सकेन । अभियान अवधिमा नेपालमा भने अनुदान बिनै ६२ लाख भन्दा बढी शौचालय बनेको उहाँको दाबी छ ।
नेपाली जनताले शौचालयमा लगानी गरेको साँच्चिकै हिसाब किताब गर्ने हो भने नेपालको बार्षिक बजेट बराबरको थियो । यो अन्य देशका लागि समेत उदाहरणीय र अनुकरणीय बन्यो ।


1525 पटक हेरिएको 

