
काठमाडौ : शौचालयको प्रविधि विकासमा मात्र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरिसकेको छ । विगत दश बर्ष देखि नयाँ किसिमको शौचालय प्रविधि विकासमा यत्ति धेरै खर्च भईसकेको फाउण्डेसनका डेपुटी डाइरेक्टर रोशन राज श्रेष्ठले जानकारी दिनुभयो ।
सरसफाइको प्रबर्द्वनका लागि हाल भारतको नयाँ दिल्लीमा रहेका डाइरेक्टर श्रेष्ठले विश्व शौचालय दिवसको अवसरमा आयोजित गोष्ठीमा जुमको माध्यमबाट जोडिदै भन्नुभयो ‘टोइलेट टेक्नोलोजी बनाउनका लागि मात्र ३५ अर्ब नेपाली रुपैयाँ खर्च भईसकेको छ ।’
उहाँका अनुसार अब सफलताको एकदमै नजिक पुगिसकेकाले दुई तीन बर्षभित्रमा त्यो टोइलेट बजारमा आउन सक्छ । नेपाल सरकारले यस्ता प्रविधिहरु भित्र्याउन उपयुक्त वातावरण बनाएको खण्डमा नेपालमा समेत यस्ता नयाँ नयाँ प्रविधिहरु ल्याउन सकिने उहाँले बताउनुभयो । भारतले स्वच्छ भारत पाँच बर्ष सञ्चालन गर्दा नै आफ्नो देशलाई खुलादिसामुक्त घोषणा गरेको प्रसंग निकाल्दै उहाँले अब भारतले स्वच्छ भारत २.४ भनेर ल्यएको जानकारी गराउनुभयो । भारतले यो कार्यक्रम मार्फत सुधारिएको शौचालयको सुचारुपना, मर्मत सम्भार एवं मलमूत्रको सुरक्षित व्यवस्थापनको काम गर्नेछ ।
नेपालले छिमेकी राष्ट्रहरुबाट केही सिक्ने र नेपाल आफैले पनि केही नवीनतम प्रविधिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
दिगो विकास लक्ष्य ६.२ को नेतृत्व नेपालले गरोस्
बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसन डेपुटी डाइरेक्टर श्रेष्ठले नेपाल दिगो विकास लक्ष्य ६.२ मा नम्बर वान हुनुपर्ने बताउनुभयो । नेपालले आधारभूत सरसफाइमा दक्षिण एसियाली राष्ट्रहरुको अगुवाई गरेको भन्दै उहाँले दिगो विकास लक्ष्य ६.२ को पनि नेपालले नै अगुवाई लिन्छ भन्नेमा आफू आशावादी रहेको बताउनुभयो । ‘किनभने धेरै आधारहरु तयार भईसकेका छन् । कहाँ के समस्या छन् भन्ने पनि पहिचान भईसकेको छ । सरोकारवालाहरुको एकीकृत प्रयासबाट दिगो विकास लक्ष्य ६.२ हासिल गर्न नेपालाई कसैले रोक्न सक्दैन ।’ उहाँले भन्नुभयो ‘त्यसका लागि सबै मिलेर काम गरौं, मैले सक्ने कामहरु व्यक्तिगत हिसाबले र संस्थागत हिसाबले पनि के गर्नुपर्छ म गर्न तयार छु ।’
स्वयम्भूको बुद्ध पार्कमा निर्माण भएको प्रविधियुक्त एरोसान शौचालयको चर्चा गर्दै उहाँले नेपाल सानो मुलुक भएकाले राम्रा कुरा फैलाउन कुनै समय नलाग्ने भएकाले सरकारले यस्ता शौचालयहरु निर्माण गर्न सहयोग गर्नुपर्ने र स्थानीय सरकारहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
शौचालयले जीवनस्तर बदल्न सक्छ
सरसफाइको क्षेत्रमा वित्तिय स्रोतको कमी नभएको उहाँको भनाइ छ । प्राइभेट सेक्टरहरुलाई राम्रो सँग परिचालन गर्ने हो भने स्रोतहरु जुट्ने उहाँले बताउनुभयो । ‘हामीले अवार्ड गर्ने कुराहरु गरेमा धेरै कामहरु सोसाईटी नै गर्न सक्छन्, त्यहाँको दाताको सहयोग पर्खिरहनु पर्ने जरुरत नै हुँदैन । प्रोत्साहन गर्ने कामहरु भयो भने आफैले पनि गर्न थाल्छ’ उहाँले भन्नुभयो ।
शौचालय भनेको स्वास्थ्य हो । शौचालय भनेको आत्मसम्मान एवं मर्यादा हो र शौचालय भनेको अर्थव्यवस्था हो भन्ने कुरालाई मात्र प्राथमिकता दिएर लैजान सके निम्न आर्थिक अवस्था भएका मानिसहरुको जीवनस्तर माथि उकास्न सकिने उहाँले बताउनुभयो ।


1533 पटक हेरिएको 

